बाबुरामको सुझावः मिलिजुली सरकार बनाएर भएपनि निकास देऊ

0
184

१८ पुस, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रिय सरकार गठन गरेर भएपनि मुलुकलाई निकास दिनु पर्ने बताएका छन् ।

Advertisements

संविधान जारी गर्नुअघि भएको सत्ता साझेदारी भत्किएपछि समस्या देखिएको भन्दै उनले भने, त्यसैले यो खेल मुद्धा भन्दा पनि तीन दलको सत्ता साझेदारी बढी हो ।’ उनले अघि भने, ‘प्रमुख राजनीतिक दलहरुले सत्ता साझेदारीको मुद्धालाई मिलाएर आवश्यक पर्छ भने सबै मिलेर मिलिजुली सरकार बनाएर जान पनि तयार हुनु भो भने यो मुद्दाको समाधान निस्कन्छ ।’

पार्टी केन्द्रिय कार्यालय बबरमहलमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले सहमतिबाटै मुलुकलाई निकास दिनुको विकल्प नरहेको बताए ।

प्रमुख दलहरुवीच कसको नेतृत्वमा चुनाव गर्ने भन्ने झगडा रहेको भन्दै उनले भने,’यहाँ दलहरुले मोही माग्ने ढुङ्ग्रो लुकाउने गरिरहेका छन्, स्याडो बक्सिङ भइरहेको छ।’

सबै समुदायको भावनालाई सम्बोधन हुनेगरी सहमतिमा संविधान संशोधन गराएर अघि बढनुपर्ने र त्यसका लागि वार्ता र सम्वादमा जुट्नु पर्नेमा उनले जोड दिएका छन् ।

संविधान संशोधन गरेर प्रदेशको र स्थानीय तहको पूनर्संरचना गर्ने र त्यसपछि तीन वटै तहको निर्वाचन गर्नु पर्ने उनले बताए ।  यद्यपि समय कम भएकोले आवश्यक पर्दा एकै पटक तीन वटै निकायको निर्वाचन पनि गर्न सकिने उनको धारणा छ । उनले भने, प्राविधिक विषय भएकोले निर्वाचन आयोगसँग छलफल गरेर निश्कर्षमा पुग्नुपर्छ ।’

संयोजक डा. भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेजस्तो संसदीय अभ्यास गरेर आएको पार्टीले संसद अवरोध गरिरहनु शोभनीय नभएको टिप्पणी गरे । साथ कांग्रेस र माओवादी केन्द्रले पनि संविधान जारी गर्नको एमालेले खेलेको भूमिकालाई न्युनिकरण गरेर गतिरोध कायम गर्न नहुने जिकिर गरे ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग पार्टीको एकतबारे सोधिएको प्रश्नमा भट्टराईले भने, ‘सहकार्य मात्रै हो, अहिले पार्टी एकता हुँदैन ।
उनले अघि भने, पछि हुन सक्छ, संविधानलाई अग्रगामी तरिकारले संशोधन गरेर जानुपर्छ भन्ने हाम्रो साझा मान्यता हो ।’

नेकपा माओवादी केन्द्रसँग त पार्टी एकता हुनै नसक्ने दाबी गरे । उनले भने, ‘यो सम्भव छैन, उहाँहरुलाई त छोडेर पार्टी नै अर्को…., वल्लो किनारा र पल्लो किनारा भएपछि कहाँ भेट हुन्छ त ? हेर्दाखेरि नजिक जस्तो लाग्छ, तर वल्लो किनारा र पल्लो किनाराको भेट कहाँ हुन्छ ?’

LEAVE A REPLY