सोमबार राति भएका खेलमा म्यानचेस्टर युनाईटेड र म्यानचेस्टर सिटी विजयी

0
235

इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएका खेलमा म्यानचेस्टर युनाईटेड र म्यानचेस्टर सिटी विजयी भएका छन् ।

Advertisements

जोजे मौरिन्होको प्रशिक्षणमा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाईटेडले गएराति वेष्ट ह्याम युनाईटेडलाई २-० ले हराएको हो ।

१५ औं मिनेटमा सोफियान फिगुली रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वेष्ट ह्याम १० खेलाडीमा सीमित भएको थियो । रेफ्री माइक डिनले युनाइटेडका फिल जोन्सलाई गरेको ट्याकलका लागि फिगुलीलाई सिधै रातो कार्ड दिएका हुन् । रेफ्रीको निर्णय विवास्दापद बनेको थियो । रिप्लेमा दुई खेलाडीले गम्भीर ट्याकल नभइ बल नियन्त्रणमा लिनका लागि प्रयास गरेको देखिएको थियो

म्यान्चेस्टर युनाईटेडका लागि हुँवा माटा र ज्लातन ईब्राहिमोभिचले एक–एक गोल गरे।

राति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले बर्नलेलाई २-१ ले हरायो । घरेलु मैदानमा भएको खेलमा ३२ औं मिनेटमा फरनान्डिन्हो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको सिटीको जितमा गेल क्लिसी र सर्जियो अग्युरोले गोल गरे।

बर्नलीका लागि बेन मीले एक गोल फर्काए। बर्नलीका जोन गुडमुन्डसनलाई गरेको ट्याकलका लागि फरनान्डिन्होले रातो कार्ड पाएका हुन्। पहिलो हाफमा गोल रहित बराबरीमा रोकिएको सिटीका लागि ५८ औं मिनेटमा क्लिसीले पहिलो गोल गरे । ६२ औं मिनेटमा अग्युरोले अग्रता दोब्बर पारे । ७० औं मिनेटमा मीले बर्नलीका लागि एक गोल फर्काए ।

यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुललाई भने सण्डरल्याण्डले २-२ गोलको बराबरीमा रोकेको छ।

यो सँगै लिभरपुलले शीर्ष स्थानको चेल्सीसँगको अंकदूरी कम गर्ने मौका गुमाएको छ।

लिभरपुलका लागि ड्यानिएल स्टरेज र साडियो मानेले गोल गरे । सन्डरल्याण्डका लागि दुवै गोल जर्मेन डिफोले गरेका हुन्। १९ औं मिनेटमा स्टरेजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । तर २५ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै डिफोले सन्डरल्याण्डका लागि बराबरी गोल फर्काए। पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ७२ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। तर यो अग्रता पनि टिक्न सकेन । ८४ औं मिनेटमा पाएको पेनाल्टीमा सन्डरल्याण्डका डिफोले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।

बराबरीपछि दोस्रो स्थानको लिभरपुलका २० खेलबाट ४४ अंक भएको छ र ऊ शीर्ष स्थानको चेल्सी भन्दा पाँच अंकले पछि छ।

राति एभर्टनले साउथह्याम्पटनलाई ३-० ले हराउँदा वेष्ट ब्रोमले हल सिटीलाई ३-१ ले पाखा लगायो । लेष्टर सिटी र मिडिल्सब्रोले भने गोलरहित बराबरी खेलेका छन् ।

सोमबार रातीका खेलपछि प्रिमियर लिगको अंक तालिकामा १९ खेलबाट ४९ अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायमै छ।

एक खेल बढी खेलेका लिभरपुल ४४ अंकसहित दोस्रो तथा म्यान्चेस्टर सिटी ४२ अंकसहित तेस्रो स्थानमा छन्।

LEAVE A REPLY