नेपाल-भारत सिमा अधिकारीहरुको बैठक

0
211

दसगजा अतिक्रमण नियन्त्रण गर्ने सहमति

बुटवल।

Advertisements

 

नेपाल र भारतका सीमा अधिकारीहरू दसगजा अतिक्रमण नियन्त्रण र सीमा स्तम्भहरूको संयुक्त रूपमा मिलेर संरक्षण गर्न सहमत भएका छन् ।
दुई देशका सीमा अधिकारीको संयुक्त बैठकले अन्तर्राष्ट्रिय सीमा भारतसँग सीमा जोडिएको उत्तर प्रदेश बलरामपुर, सिद्धार्थनगर र महाराजगन्ज तथा नेपालका रूपन्देही, कपिलवस्तु, दाङ जिल्लाका सोमबार भैरहवामा संयुक्त रूपमा यस्तो सहमति गरेका हुन् ।
दुवै देशका सीमावर्ती स्थानीय अधिकारीहरूको समन्वयमा सीमा क्षेत्रको अवस्था पत्ता लगाउने, सर्भे गर्ने, नापजाँचका साथ सीमा स्तम्भहरूको संरक्षण गर्ने विषयमा दुवै देशका सीमा अधिकारीहरू सहमत भएको नापी विभागका उपसचिव एवं टोली प्रमुख निर्मलकुमार आचार्यले जानकारी दिए ।
भारतका तर्फबाट बलरामपुर जिलाका डिएम रामविसल मि श्र, सिद्धार्थनगरका डिएम नरेन्द्रशंकर पाण्डेय, महाराजगन्ज जिलाका डिएम वीरेन्द्रकुमार सिंहले नेपालसंँग जोडिएको दसगजा क्षेत्रमा भएको अतिक्रमण हटाउन र सीमा स्तम्भको संरक्षण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सीमा सम्बन्धमा ‘बोर्डर वर्किङ ग्रुप’ ले नीतिगत काम गर्ने, ‘सर्भे अफिसर कमिटी’ ले सीमा क्षेत्रमा अपनाइने विधि तय गर्ने र ‘फिल्ड सर्भे टिम’ ले दसगजा क्षेत्र र सीमा स्तम्भहरूको अवस्था पहिचान गरी संरक्षण गर्ने काम गर्छ ।
भारतले यस क्षेत्रमा हरि सिंहको नेतृत्वमा र नेपालले आचार्यलाई टोली प्रमुखका रूपमा सीमा सर्भे एवं पिलर संरक्षण कार्यका लागि खटाएका छन् । नेपाल-भारत अन्तर्राष्ट्रिय सीमा निर्धारण उच्चस्तरीय संयुक्त टोलीको निर्णय एवं निर्देशनबमोजिम सन् २०१४ देखि नेपाल-भारतबाट संयुक्त रूपमा तीन टोली परिचालन भएका छन् ।

वीरगन्जदेखि पूर्व सिमानामा १ नम्बर टोली, चितवन पूर्व २ नम्बर टोली र नवलपरासीदेखि दाङसम्म ३ नम्बर टोलीले भारतीय अधिकारीसँग मिलेर सीमा क्षेत्र दसगजाको नापनक्सा, सीमा स्तम्भ पुनर्निर्माण जारी राख्दै आएका छन् । विवादित सुस्ता क्षेत्र, नवलपरासी, रूपन्देही र कपिलवस्तु जिल्लामा पर्ने नदी क्षेत्र छोडेर नापी टोली पश्चिम बढिरहेको छ ।
नवलपरासी सुस्तास्थित ४९७ पिलरदेखि ३ नम्बर नापी सर्वेक्षण टोलीले पश्चिम दाङ ६१५ नम्बर सीमा स्तम्भसम्म यस वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । टोली हाल दाङको ५९१ सीमा स्तम्भमा पुगेको छ ।
नवलपरासी र रूपन्देहीका सीमा स्तम्भहरूको मर्मत, पुनर्निर्माण, रंगरोगन गर्ने काम पूरा गरिसकेको टोली प्रमुख आचार्यले जानकारी दिए ।

LEAVE A REPLY