बजार घट्नु साहसी लगानीकर्तालाई अवसर

0
214

अर्थबिज्ञ गोपालकृष्ण आचार्य,

Advertisements

जब सडक पूर्ण रक्ताम्य हुन पुग्छ, त्यो नै शेयर बजारमा लगानी गर्ने सबैभन्दा उपयुक्त समय हो’ भन्ने अभिव्यक्ति दिएपछि ब्यारोन रोथचाइल्डको प्रसिद्धीमा थप वृद्धि भयो । १८औं शताब्दीको बेलायती समाजमा उनको अभिव्यक्तिलाई लिएर निकै तीखा टीकाटिप्पणी पनि भए ।

उनको अभिव्यक्तिको सार ‘जब शेयरबजार घटेर तल्लो बिन्दुमा पुग्छ तब सुझबुझयुक्त लगानीकर्ताले नआत्तिईकन शेयर किन्नुपर्छ’ भन्ने थियो । तर, उक्त धारणामा प्रस्तुत शब्दलाई लिएर भने कडा आलोचना भएको थियो । ब्यारोनको धारणालाई उल्लेख गर्दै वालस्टि्रटका एक प्रसिद्ध लगानीकर्ता रिचर्ड ग्राहमले ‘दि न्यूयोर्क टाइम्स’सँगको एक अन्तरवार्तामा विगत ५० वर्षको इतिहासपछि सन् २०११ मा त्यस्तो दिन आउने बताएका थिय र वास्तब मा उनका कुरा कती सही थिय भन्ने त हामीले पनि बुझिसकेका हौ । उनको दृष्टिमा ब्यारोनले भनेजस्तै निकट भविष्यमा वालस्टि्रट रक्ताम्य हुने दिन आएपछि अमेरिकाको मुहार फेरिनेछ । त्यसले अमेरिकी नागरिकहरुको दैनिक जीवनयापनमा समेत व्यापक परिवर्तन आउने उनले दाबी गरेका छन् ।

ब्यारोनले भनेजस्तै बजार घटेकै कारण सडकै रक्ताम्य भएर नेपालीहरुको मुहार नै फेरिने अवस्था अहिले छैन । जब नेप्से परिसूचक ४ सय बिन्दुभन्दा तल झर्ने सङ्केत गर्दै ओरालो लाग्न शुरू गर्‍यो तब अधिकांश शेयर विश्लेषकहरुले अब बजार यसभन्दा तल झर्दैन भन्ने धारणा सार्वजनिक गरे । र, अहिले शेयर किन्ने उपयुक्त समय हो भन्ने दाबी पनि गरेको पाइयो । शेयरबजार विश्लेषणका लागि प्रयोग गरिने आधारभूत सुचकहरुले पनि बजार त्योभन्दा धेरै तल जान सक्ने सङ्केत गर्दैनन् । नेप्से १ हजार १ सय ७५ बिन्दुमा पुग्दा लगानी गरेकाहरु सो परिसूचक ४ सयभन्दा तल र्झन थाल्दा पक्कै पनि ब्यारोनले भने जस्तै सडकमा पुग्ने अवस्था आएको हो की भनेर अत्तालिएको पनि पाइन्छ । तर, यो विषयमा कोही पनि खुलेर बोल्न भने सकेका छैनन् ।

नेप्से उच्च बिन्दुमा पुगेको समयमा लगानी गर्दा पनि लगानीकर्तामा सुझबुझ र बजारका आधारभूत सूचकहरुको अध्ययन र विश्लेषण गर्न सक्ने क्षमताको अभावै थियो र उनीहरुले बजार अझै बढ्ने आशामा लगानी गरेका थिए । वास्तविक आधारविना बजार बढेको हुनाले पनि त्यतिबेलाको नेप्से परिसूचक दिगो हुन सकेन । बजारमा चल्ने हल्ला र अरूले कमाएको देखेर आफूले पनि त्यसैगरी कमाइन्छ भन्ने गलत मानसिकतामा अधिकांश लगानीकर्ताहरु बजार प्रवेश गरेका थिए । अपेक्षाअनुसार बजार बढ्न नसक्नुमा उनीहरुको अपरिपक्व सुझबुझ नै मुख्य कारक हो । बजारको वास्तविक विश्लेषण गरेर बजार बढ्नुपर्ने गतिलो आधार नभएको लगानीकर्ताले थाहा पाएपछि नेप्से परिसूचक घट्न शुरू गरेको हो । राजनीतिक अस्थिरता, परिवर्तन भइरहने मौद्रिक तथा वित्तीय नीति, बजारमा बढ्दै गएको शेयर आपूर्ति, बढ्दो बैङ्क ब्याजदर, शेयर कर्जामा दिइने मार्जिन फाइनान्सिङमा कडाइलगायतलाई बजार घट्नुको दोस्रो कारण मानिएको छ ।

ब्यारोनको तर्क पनि के हो भने बजार अस्वाभाविक रूपमा बढ्दा अथवा घट्दा ठूला लगानीकर्ता एवम् बजारका खेलाडीहरुले यसरी नै नाफा कमाउछन् । बजार घटेको बेला उनीहरु भटाभट शेयर किन्छन् भने बजार बढ्न थालेपछि उनीहरु तिनै शेयर बेच्न थाल्छन् । यसमा खेलको नियम नबुझ्ने र नवप्रवेशी लगानीकर्ताहरु सधैं मर्कामा पर्छन् । यस्ता मौकामा जान्ने बुझ्ने र चलाख लगानीकर्ताहरुले मात्रै कमाउँछन् । यो क्रम नेपालमा मात्र होइन, संसारभरि चलिरहन्छ । बजार घट्दा शेयर किन्ने र बजार बढ्न थालेपछि बेच्ने क्रमबाट लगानीकर्ताहरुले पक्कै पनि कमाउँछन्, तर त्यो त्यति सजिलो भने छैन । सारा बजार ध्वस्त हुने क्रममा अगाडि बढिरहेका बेला भटाभट शेयर किन्न निकै ठूलो आँट चाहिन्छ । तुरुन्तै बिक्न नसक्ने, तत्कालै कुनै प्रतिफल नदिने, न्यूनस्तरका शेयरहरुमा त्यस्ता लगानीकर्ताले निकै नाफा देख्छन् र त्यसलाई नाफा कमाउने अवसरका रुपमा लिन्छन् । अधिकांश लगानीकर्ताहरु जहिले पनि आफ्नो पोर्टफोलियोमा सधैँ विजयी भएको महसूस गर्न चाहन्छन् । तर, विश्वप्रसिद्ध लगानीकर्ता वारेन बफेटले यसप्रति चेतावनी दिँदै भन्छन् ‘सबैको खुशीयाली र उन्नति भएको बेला तपाईंले शेयरका लागि उच्चमूल्य तिर्नुपर्छ, तर त्यो तपाईंको पोर्टफोलियोका लागि भने फलदायी हुने छैन ।’

सन् १९७३/७४ को वियरिस मार्केटका कारण २२ महीनाको अवधिमा ४५ प्रतिशतले बजार तल खस्केको थियो । उक्त वियरिस बजारले वारेन बफेटलाई वाशिङ्गटन पोष्ट कम्पनीको महत्त्वपूर्ण लगानीकर्ता बन्ने अवसर दियो । बजार पूँजीकरण ८ करोड डलर हुँदा बफेटले किनेको वाशिङ्गटन पोष्ट कम्पनीको शेयर केही सयमपछि ४० करोड डलर पुगेको थियो । सन् १९८७ मा भएको क्रयासमा पनि डाउजोन्स परिसूचक एकै दिनमा २२ प्रतिशतले घटेको थियो । डाउजोन्स घटेको बेला पनि थुप्रै अमेरिकीहरुले प्रशस्तै कमाए । सन् २००१ सेप्टेम्बर ११ मा वर्ल्ड ट्रेड सेण्टरमा आतङ्ककारी हमलापछि घटेको अमेरिकी शेयरबजारमा पनि केही लगानीकर्ताहरुले राम्रै कमाए ।

सेप्टेम्बर ११ को आतङ्ककारी हमलापछि अब अमेरिका आर्थिक दृष्टिले तहसनहस नै हुन्छ भन्ने हल्ला फैलिएकाले बजार निकै तल झरेको थियो । सो हमलापछि अमेरिकाले अब बोइङ कम्पनी बन्द गर्दैछ भन्ने हल्ला चलाइयो र उक्त कम्पनीको शेयरमूल्य अत्याधिक मात्रामा घटयो, तर आक्रमणको ५ वर्षको अवधिमा त्यसको शेयरमुल्य चार गुणाभन्दा माथि पुग्यो । त्यसपछि बोइङ कम्पनीले लगानीकर्ताहरुलाई राम्रै प्रतिफलसमेत दिएको छ । आफू टाट पल्टेको घोषणा गर्दै संरक्षण गर्न सरकारसमक्ष फाइल दर्ता गर्ने ‘थर्ड एभेन्यु भ्यालु फण्ड’का म्यानेजर मार्टी विटम्यानले ‘के-मार्ट’ कम्पनीले जारी गरेको एक डलरको बण्ड २० सेण्टमा खरीद गरेका थिए । केही समयलगत्तै उक्त बण्ड ‘न्यू के-मार्ट’को नाममा न्यूयोर्क स्टक एक्सचेञ्जमा सूचीकृत भई कारोबार हुन थालेपछि उनले सो बण्डबाट करीब १५ प्रतिशत प्रतिफल प्राप्त गर्न सफल भए ।

नेपाली शेयरबजारको इतिहास त्यति लामो नभए पनि करीब दुई दशकको अवधिमा सन् १९९८/९९ तिर बजार निकै तल खस्केको थियो । सो समयमा नेपालमा केही व्यक्तिहरुले प्रशस्त कमाए भने २००५ मा भएको जनआन्दोलन-२ पछि पनि शेयरबजारबाट धेरै लगानीकर्ता कमाउन सफल भए । यसको अर्थ शेयरबजारबाट पैसा कमाउन घाटा खाएका, न्यून गुणस्तरका शेयरहरु किन्नुपर्छ भन्न खोजिएको हुँदै होइन । बजार जहिले पनि बढ्ने/घट्ने भइरहन्छ । बजारमा आउने यही उतारचढावमा पनि सुझबुझ भएका लगानीकर्ताले कमाउँछन् भन्ने हल्लाको पछाडि लागेर बजार प्रवेश गर्ने नयाँ लगानीकर्ताले भने गुमाउने सम्भावना रहन्छ ।

खर्च र आम्दानी बराबर हुन्छ भन्ने अर्थशास्त्रको एउटा सामान्य सिद्धान्त हो । त्यसको अर्थ एक पक्षबाट भएको खर्च अर्को पक्षका लागि आम्दानी हुन्छ । शेयरबजारमा पनि एउटा लगानीकर्ताले गुमाउँछ भने अर्कोले कमाउँछ । हामीले आफूलाई भने सकेसम्म गुमाउने लगानीकर्ता बनाउनु हुँदैन । यसका लागि लगानीकर्ताको चेतनास्तर उच्च हुनुपर्छ र बजारका आधारभूत पक्ष एवम् सूचकहरुको विश्लेषण गरी सोहीअनुसार लगानी गर्न सक्नुपर्छ । यसले लगानीकर्तालाई कहिल्यै सडकमा पुर्‍याउँदैन, बरु अन्य लगानीकर्ताहरु सडकमा पुगेको बेला तपाईंले सस्तो मूल्यमा शेयर किन्न सक्नुहुन्छ ।

LEAVE A REPLY