परिमार्जनसहित संशोधन प्रस्तावको पक्षमा मोर्चा

0
231

काठमाडौँ, पुस २१ गते ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गराउन सहयोगका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बुधबार साँझ बसेको मोर्चाको बैठकले संशोधन प्रस्ताव अनुमोदनका लागि अन्य दलको समर्थन जुटाउन मोर्चाले पहल गर्ने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी गराउनुभयो ।
सर्वोच्च अदालतको आदेशपछि संसद्मा विधेयकबारे छलफल हुने भएकाले त्यसलाई पारित गराउन दुई तिहाइ मतको आवश्यकता पर्छ र सो बहुमत पु¥याउन मोर्चाले पहल गर्ने निर्णय गरेको छ ।  सर्वोच्च अदालतले पुस १८ गते गरेको आदेश सकारात्मक रहेको ठहर गर्दै मधेसी मोर्चाले प्रतिपक्षी दलसहित अन्य राजनीतिक दलले संसद्मा खडा गरेको अवरोधलाई अन्त्य भएको मोर्चाले दाबी गरेको छ ।
शक्ति पृथकीकरणको सिद्धान्तप्रति सबैको ध्यान केन्द्रित गराउँदै, सविधान र कानुनबारे निर्णय गर्ने अन्तिम अधिकार व्यवस्थापिका संसद्लाई नै रहेको सर्वोच्च अदालतको आदेश सकारात्मक रहेको मोर्चाको निर्णयमा उल्लेख छ ।  अदालतको आदेशले प्रतिपक्षी दलले संसद्मा गरेको अवरोध निरर्थक रहेको ठहर गर्दै मोर्चाले संशोधन प्रस्तावलाई पारित गराउनमा सहयोग गर्न एमालेलाई आग्रह गरेको महासचिव झाले जानकारी गराउनुभयो ।
साथै हालै प्रेस काउन्सिलले सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गीकरण नतिजा विभेदकारी रहेको ठहर मोर्चाले गरेको छ ।  मधेस आन्दोलनको पक्षमा सत्यतथ्य समाचार सम्प्रेषण गरेका पत्रपत्रिकालाई घटुवा गर्नुको साथै खारेज समेत गरेको उल्लेख गर्दै मोर्चाले वर्गीकरण नतिजालाई खारेज गर्न माग गरेको छ ।
बैठकमा तमलोपाका अध्यक्ष महन्थ ठाकुर, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, मधेसी नजअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादव, सद्भावना पार्टीका महासचिव केशव झा, सङ्घीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादव र राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाको उपस्थिति थियो ।
यसैगरी बुधबार नै सङ्घीय गठनबन्धनको बैठक पनि बसेको थियो ।  सो बैठकले पनि सर्वोच्च अदालतको बैठकलाई सकारात्मक भन्दै सविधान संशोधन प्रस्ताव पारित गराउन दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

Advertisements

LEAVE A REPLY