माओवादी केन्द्रको निर्णय- 'सहमतिमा नै प्रक्रिया अगाडि बढाउने'

0
259

पुस २१, २०७३- नेकपा (माओवादी केन्द्र)ले मुलुकको विद्यमान समस्या समाधानका लागि सहमति एवम् सहकार्यको विकल्प नभएको भन्दै त्यसका लागि सर्वोच्च अदालतको पछिल्लो फैसलाले समेत मार्ग प्रशस्त गरेको बताएको छ ।

Advertisements

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) समेत सहमतिमा आउने विश्वास व्यक्त गर्दै त्यसका लागि सबै पक्षसँग संवाद गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकमा सर्वोच्च अदालतको फैसलापछि देशको राजनीति सहमतितिर जान लागेको र स्थानीय निकायको निर्वाचनका लागि सरकारले हदैसम्मको प्रयत्न गरेको जानकारी गराउँदै पार्टीका तर्फबाट समेत त्यसका लागि आवश्यक वातावरण बनाउन विशेष पहल गर्नुपर्ने पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका पार्टी नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘अध्यक्षले मुलुकलाई सधैं बन्धक बनाएर राख्ने काम कोही कसैबाट पनि हुन नहुने बताए, त्यसका लागि संविधान संशोधन विधेयक अगाडि बढाउने र स्थानीय निकायको निर्वाचनको मिति समेत घोषणा गरिने विषयमा नै आफ्नो धारणा राख्नुभएको थियो,’ नेता सापकोटाले भने ।

अदालतको फैसलापछि अब संशोधन प्रस्ताव पारित हुने र सहमतिका लागि सबै दलसँग छलफल जारी रहेको भन्दै राजनीति क्रमशः सहमतिको मार्गमा अगाडि बढेको अध्यक्ष दाहालले बैठकमा जानकारी गराएका थिए ।

पार्टीको आन्तरिक निर्वाचन र संगठनात्मक कार्यविधिका बारेमा छलफल गर्न बसेको बैठकमा सो बारेमा भने शुक्रबार छलफल गरिने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

माओवादी केन्द्रले जिल्ला सम्मेलन गर्नका लागि कसरी संगठनात्मक प्रतिनिधित्व व्यवस्थित गर्न सकिन्छ भन्नेलगायतका विषयमा कार्यविधि तय गर्ने जनाएको छ । रासस

http://bit.ly/2hTEPl5

LEAVE A REPLY