विपी कोइराला क्यान्सर अस्पतालको सेवामाथि जनगुनासो बढेपछि त्यसको सुधारका लागि गरिए विभिन्न निर्णय

0
292

काठमाडौं– विपी कोइराला क्यान्सर अस्पतालको सेवामाथि जनगुनासो बढेपछि त्यसको सुधारका लागि विभिन्न निर्णय गरिएका छन् । त्यसमध्य पेट सिटी स्क्यान किन्ने विषयलाई लिएर झमेला खेपेको अस्पतालले यसको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिएको छ ।

Advertisements

अस्पताल आफैंले पेट सिटी स्क्यान किन्न नसकेपछि मन्त्रालयलाई नै किनिदिन अनुरोध गर्ने निर्णय गरिएको छ ।  केही वर्षदेखि सरकारले उक्त उपकरणका लागि लगातार बजेट छुट्याउँदै आएपनि अस्पताल प्रशासनले किन्न सकिरहेको थिएन । पेट स्क्यानसहित अन्य उपकरणका लागि सरकारले ५५ करोड रुपैयाँ छुट्याएको छ ।शनिवार स्वास्थ्य मन्त्रालयमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले यो बाहेक फागुनदेखि विस्तारित स्वास्थ्य सेवा (इएचएस)  दिने लगायतका निर्णय गरेको छ ।  अस्पतालमा कार्यरत चिकित्सकहरुलाई नीजि किलनिक तथा स्वास्थ्य संस्थामा जान रोक लगाउने र अस्पताल भित्रै विस्तारित स्वास्थ्य सेवा शुरु गर्ने निर्णय गरेको अध्यक्ष डा प्रकाशराज न्यौपानेले बताए । उनले विगत ९ महिनादेखि सञ्चालक समिति नहुँदा अस्पतालका महत्वपूर्ण काम कारबाही रोकिएको पनि जानकारी दिए ।बिरामीको चाप बढ्दो  रहेको र सो अनुरुप जनशक्ति नभएकाले सेवामा कमीकमजोरी देखिएको अस्पतालका निर्देशक डा चिन बहादुर पुनले बताए । उनले भने, ‘बिरामीको सँख्या निकै बढेको छ तर जनशक्ति भने १६ वर्षअघिकै छ ।’ गत वर्ष १ लाख १९ हजार बिरामीले अस्पतालबाट सेवा लिएको डा पुनले जानकारी दिए । अहिले अस्पतालसँग १ सय ९३ बेड सँख्या रहेको छ ।

पछिल्लो समय क्यान्सर अस्पतालको सुविधा बारे जनगुनासो बढेको स्वीकार्दै अध्यक्ष डा न्यौपानले केही महिनाभित्रै सुधारका संकेत देखिने बताएका छन् । उनले भने, ‘हाम्रो सेवाप्रति बढेको जनगुनासो स्वभाविक छ । स्वास्थ्य मन्त्री गगन थापाज्युले पनि गम्भीर रुपमा लिएर सुधारका लागि सहजीकरण गरिदिनुभएको छ । हामी सुधार गरेको देखाउँछौं ।’भक्तपुर क्यान्सर अस्पतालमा समेत कार्यरत डा न्यौपानेले आफ्नो दोहोरो जिम्मेवारीका कारण समस्या नपरेको बताए । उनले भने, ‘अध्यक्ष सेरेमोनियल पद हो । नियमित काम कारबाही निर्देशकले गर्ने हो ।’ उनले आफूले नचाहँदै नचाहँदै तत्कालिन प्रधामन्त्रीले जिम्मेवारी दिएको दाबी पनि पत्रकार सम्मेलनमा गरेका थिए ।

क्यान्सर अस्पतालको सुरुवाती समयमा डाक्टरलाई बाहिर काम गर्न छुट थिएन । तर, २०६१ पछि बाहिर काम गर्न पनि पाउने व्यवस्था गरिएपछि सेवा खस्केको सञ्चालक समितिले महशुस गरेको छ । ‘नन्–प्य्राक्टिसको व्यवस्था हुँदा अस्पतालको सेवा राम्रो थियो । पछि खस्कियो । त्यसैले पहिलेकै प्रणाली ठिक थियो भन्नेमा पुगेका छौं,’ निर्देशक डा पुनले भने ।

अस्पतालमा अहिले ७२ जना चिकित्सक कार्यरत छन् । जसमध्य ५२ जना विशेषज्ञ र २० जना मेडिकल अफिसर हुन् । १५ जना चिनियाँ विशेषज्ञ चिकित्सक पनि अस्पतालमा छन् ।  अस्पतालको जनशक्ति बढाउन भने शैक्षिक प्रतिष्ठान बनाउन पहल गर्ने निर्णय सञ्चालक समितिले गरेको छ । स्वास्थ्य मन्त्री थापाले प्रतिष्ठान बनाउन आवश्यक सहयोग गर्ने संकेत गरेपछि समितिले यस्तो निर्णय गरेको हो ।

यसैगरी अस्पतालको आव २०७३\७४ को वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्ने  र नेपाल सरकारद्धारा साउनदेखि लागु हुने गरि तलब वृद्धि र ग्रेडको व्यवस्था गर्ने  निर्णय भएको छ । संचालक समितिमा हाल कायम रहेका १२ सदस्य मध्ये अध्यक्ष डा न्यौपाने, सदस्यहरु डा दिपेन्द्ररमण सिह (प्रतिनिधि स्वास्थ्य मन्त्रालय), डा तारा मानान्धर, डा आरती शाह, डा अनु कुशवाह, डा सरिता घिमिरे, दिनेश कोइरला, सुस्मिता रिमाल र वीपी कोइराला कयान्सर अस्पतालका कार्यकारी निर्देशक डा. चीन बहादुर पुनको उपस्थिति रहेको थियो । बिहीबार मात्रै समितिले पूर्णता पाएको थियो । स्वास्थ्य खबरपत्रिका

LEAVE A REPLY