तस्करहरुलाई कार्वाही गर्न खोज्ने एलडिओलाई नै सरुवा

0
222

स्थानीय नदी र खोलाबाट अवैध रुपमा भइरहेको उत्खनन्लाई रोक्ने प्रयास गर्दै केही तस्करहरुलाई कार्वाहीको दायरामा ल्याएका नवलपरासीका स्थानीय विकास अधिकारी (एलडिओ) को एक महीनामै सरुवा भएको छ ।

Advertisements

खोलाबाट अवैध रुपमा ढुंगा, गिट्टी, बालुवा निकाली बिक्री गर्ने मध्यविन्दु नगरपालिकाको स्मृति निर्माण कम्पनीलाई कार्वाही अगाडि बढाए लगत्तै एलडीओ जीवलाल भुसालको सरुवा भएको हो ।

भुसालले तीन साताअघि केरुङ्गे खोलाबाट अवैधरुपमा ढुंगा, बालुवा संकलन गरी ओसारपसार गरिरहेको अवस्थामा २७ टिप्परसहित ३० सवारी साधन पक्राउ गरेर रु ६५ लाख जरिवाना तोकेका थिए ।

स्मृति निर्माण कम्पनी नारायणी–९ नवलपरासीको नाउँमा जरिवाना तोकेपछि १६ टिप्परहरुले ३५ लाख राजश्व बुझाएर छुटेका छन् । अन्य टिप्पर इलाका प्रहरी कार्यालय कावासोतीको नियन्त्रणमा छन् ।

सवारी साधन पक्राउसँगै भुसालले केरुङ्गे खोलामा संकलन गरी राखेका करिब रु ३० करोड बराबरको नदीजन्य पदार्थसमेत जफत गरेर लिलाम प्रकृया अघि बढाएका थिए ।

त्यसलगत्तै नेताहरुसँग राम्रै पहुँच बनाएका ब्यवसायीहरुले नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु मार्फत स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई दबाब दिई एक महीनाभित्रै एलडीओे भुसाललाई सरुवा गराएको व्यववसायीहरु नै बताउँछन् ।

नवलपरासीका खोलामा भइरहको अवैध उत्खनन्ले बाढी, पहिरो साथै जैविक विविधतामा समेत असर पु¥याइरहेको छ ।स्थानीय विकास अधिकारी भुसाल मंसीरको अन्तिम साता बाँके जिल्ला विकास समितिबाट सरुवा भएर नवलपरासी आइपुगेका हुन् ।

शुक्रबार स्थानीय विकास मन्त्रालयले भुसाललाई धादिङ जिल्ला विकास समितिमा काज सरुवा गरेको छ । उनको ठाउँमा स्थानीय विकास मन्त्रालय पञ्जीकरण विभागका उपसचिव युवराज कट्टेललाई पठाइएको छ ।

त्यस्तै अवैध रोक्ने अभियानमा सहयोग गरिरहेका जिविसका योजना तथा प्रशासकीय अधिकृत प्रकाश पन्थीको पनि सरुवा भएको छ ।

कर्मचारीहरुको सरुवा गर्ने समय नभए पनि अवैध उत्खनन् र चोरी नियन्त्रण अभियानमा सघाएको भन्दै पन्थीलाई मन्त्रालय काज सरुवा गरिएको जिविसका कर्मचारीले बताएका छन् ।

जिल्लामा सरुवा भएर आउने वित्तिकै आफूले राजश्व संकलनलाई पहिलो र विकासका गतिविधिलाई दोस्रो प्राथमिकतामा राखेर मिशन चलाएपछि सिमित लाभको पछाडी लाग्ने केही नेताहरु र व्यवसायीहरुको असहयोगले सरुवा भएको भुषालले बताए । “यस्तो प्रवृत्तिले जिल्लाको विकास पछि पर्छ,” उनले भने ।

LEAVE A REPLY