लोकमानलाई प्रमुख आयुक्त बनाउनु गल्ती थियो: नेपाल

0
231

पुस २५, २०७३- पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले लोकमानसिंह कार्कीलाई योग्य सम्झेर अख्तियारको प्रमुख आयुक्त नियुक्ति गर्नु नेताहरुको गल्ती भएको बताएका छन् ।

Advertisements

‘अयोग्य ब्यक्तिलाई नियुक्ति गर्नु अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालजी, सुशील कोइराला र हाम्रै पनि केही नेताहरुले गम्भीर गल्ती गरेका हुन्,’ इटहरीमा प्रेस चौतारीको पत्रकार सम्मेलनमा उनले भने । एमालेका नेताहरुले यसमा गल्ती भयो भनेर सार्वजनिकरुपमा स्वीकार गरेको उनले बताए ।

अयोग्यलाई सिफारिस हुनेलाई पनि कारबाही हुन्छ होला नि भन्ने जिज्ञासामा नेपालले भने, ‘आत्मालोचना भन्दा ठूलो माफी अरु के हुन सक्छ । गल्ती भयो भन्नु नै सजाय हो ।’ पछिल्लो राजनीतिक गतिविधिले अब राजनीतिले गति लिन थालेको संकेतको रुपमा बुझ्न उनले आग्रह गरे । उनले भने, ‘राजनीति कुवाको जस्तो स्थिर छैन अब विस्तारै बग्न थालेको छ ।’ संसदमा निर्वाचन सम्बन्धि विद्येयकहरु दर्ता हुनुलाई उनले राजनीतिक चलायमानताको संज्ञा दिए ।

संविधान संसोधनको चौतर्फी विरोध भइरहेको बेला सभामुखले संशोधन विधेयक छलफलका लागि टेबुल गर्नु ‘रुलिङ’ विपरीत भएको टिप्पणी नेपालले गरे । सभामुखले प्रधानमन्त्रीको चाहना भन्दा पनि आम पार्टीहरुको धारणा बुझ्ने ‘नजिर’को बेवास्ता गरेको बताउँदै नेपालले भने, ‘यसले संसदको गरिमामा आँच पुगेको छ ।’

संविधान संसोधनमा प्रधानमन्त्रीले देखाएको हतारो कतैबाट निर्देशित त छैन भन्ने शंका हुन् थालेको बताउँदै नेपालले भने, ‘नेपालको स्वाभिमानमा आँच आउने काम गर्नु हुँदैन ।’ संविधान संशोधन नभइ संविधान कार्यान्वयनको पक्षमा सबै एक हुनु पर्ने उनले बताए ।

निर्वाचनको मिति घोषणा भएपछि मधेसवादी दलहरु पनि निर्वाचनमा भाग लिन आउने विश्वास आफूलाई रहेको उनले बताए । मधेसका जनतालाई सम्बोधन गर्ने कार्यक्रमस्वरुप सोमबार सुनसरीको दक्षिणवर्ती हरिनगर गाविसमा आमसभालाई सम्बोधन नेपाल सुनसरी आएका हुन् ।

LEAVE A REPLY