पाणिनीय गुरुकुलको जीवन्त परम्परा

0
309

डा.मतिप्रसाद ढकाल /

Advertisements

१. पृष्ठभूमि

गुरुको कुललाई गुरुकुल भनिन्छ । कुल शब्दका धेरै अर्थ हुन्छन् तापनि गुरुकुलका सन्दर्भमा प्रयुक्त कुल शब्दले वंश वा परिवारलाई जनाउँछ । पाणिनिले जन्म र विद्याका आधारमा वंश दुई प्रकारको हुन्छ भनेका छन् (अष्टाध्यायी÷अ. २।१।१९) । गुरुकुलमा प्रयुक्त कुल शब्दले जन्मवंशलाई नभएर विद्यावंशलाई बुझाउँछ । पाणिनीय व्याकरणशास्त्रको विद्यावंशपरम्परालाई नै पाणिनीय गुरुकुल भनिन्छ । यस आलेखमा पाणिनिकालीन शैक्षिक अवस्थाका बारेमा चर्चा गर्दै त्यसको जीवन्तताका सम्बन्धमा सङ्क्षेपमा प्रकाश पार्ने प्रयत्न गरिएको छ ।

२. पाणिनिकालीन शैक्षिक अवस्था

पाणिनीय अष्टाध्यायी र उपलब्ध ऐतिहासिक अध्ययनसामग्रीका आधारमा पाणिनिकालीन शैक्षिक अवस्था कस्तो थियो भन्ने बारेमा सामान्य रूपरेखा प्रस्तुत गर्न सकिन्छ । यसका लागि तत्कालीन शिक्षक, विद्यार्थी, पाठ्यक्रम, शिक्षणविधि, परीक्षा प्रणाली र विद्यालयको अवस्थाका बारेमा चर्चा गरिनु आवश्यक छ ।

२.१ पाणिनिकालीन शिक्षक

पाणिनिले चारप्रकारका शिक्षक वा गुरुहरूको चर्चा गरेका छन् : आचार्य, प्रवक्ता, श्रोत्रिय र अध्यापक (अ. ४।१।४४, २।१।६५) । यीमध्ये आचार्यलाई सबैभन्दा उत्तम शिक्षक मानिन्छ । पाणिनिले आचार्यको कर्तव्यका सन्दर्भमा ‘आचार्यकरण’ शब्दको प्रयोग गरेका छन् (अ. १।३।३६) । बच्चाको व्रतबन्ध गर्न र त्यसलाई आप्mनै साथमा राखेर आपूmजस्तै विद्यामा पारङ्गत गराउनु नै आचार्यको कर्तव्य हो (काशिकावृत्ति÷का.वृ. १।३।३६) । अथर्ववेद (११।५।३) ले त अझ व्रतबन्ध गरेर आप्mनो विद्यारूपी गर्भमा प्रवेश गराउनुलाई आचार्यको कर्तव्य ठानेको छ । यसरी आचार्यकुलमा विद्यारूपी गर्भबाट जन्मिएका अन्तेवासी विद्यार्थीहरूले आप्mनै आचार्यका नामबाट आप्mनो परिचय गर्न रुचाउँथे । पाणिनि आचार्यकुलमा दीक्षित भएका अन्तेवासीले आपूmलाई पाणिनीय ठान्दै आउनुमा पाणिनीय गुरुकुलको जीवन्तता भेट्न सकिन्छ ।

पाणिनिका समयमा वैदिक प्रोक्त साहित्यको परम्परा व्यापक थियो । वैदिक साहित्यको व्याख्यासहित अध्यापन गराउने काम प्रवक्ताले गर्दथे । शिक्षकका रूपमा आचार्यपछि दोस्रो स्थान प्रवक्ताको थियो । अर्थप्रतिपादन गरी नियमपूर्वक विद्याप्रदान गर्ने भएकाले तिनै प्रवक्तालाई ‘आख्याता’ पनि भनिन्थ्यो (अ. १।४।२९) । पाणिनिले प्रवचन गरेको भन्ने अर्थमा (अ. ४।३।१०१) पाणिनीय व्याकरणग्रन्थ त वर्तमानमा पनि जीवन्त छ तर कुशलतापूर्वक पाणिनीय व्याकरणको साङ्गोपाङ्ग प्रवचन गर्ने प्रवक्ताहरू भेट्न भने वर्तमानमा निकै मुस्किल छ ।

श्रोत्रिय भन्नाले वेद पढ्ने व्यक्तिलाई जनाउँछ (अ. ५।२।८४) । वेदका शाखाहरू कण्ठस्थ गर्ने व्यक्तिलाई श्रोत्रिय भनिन्छ । संहिता, पद, क्रम, दण्ड, जटा, घन आदि पाठका आधारमा वेदका शाखाप्रशाखाहरूलाई आपूmले कण्ठ गर्ने र विद्यार्थीलाई पनि कण्ठ गराउने काम श्रोत्रियको हो । श्रोत्रियका विभिन्न भेदहरू थिए होलान् तर पाणिनिले पदपाठ कण्ठस्थ गर्ने वा गराउने दुवैलाई पदक अनि क्रमपाठ कण्ठस्थ गर्ने वा गराउने दुवैलाई क्रमक भनेर चिनाएका छन् (अ. ४।२।६४) । साथै यसै सन्दर्भमा उनले वेदको अङ्ग शिक्षाशास्त्र अध्ययन गर्ने वा गराउने दुवैलाई शिक्षक भनेर चिनाएका थिए तर आधुनिक कालमा आएर सबै विषय पढाउने व्यक्तिलाई शिक्षक भन्न थालिएको हो । वर्तमानमा वेद पढाउने र कण्ठस्थ गराउने श्रोत्रिय वर्गका शिक्षक त पाइन्छन् तर पद, क्रम आदि अष्टविकृतिका आधारमा वास्तविक रूपमा वेद पढाउने र कण्ठस्थ गराउने श्रोत्रिय वर्गका शिक्षकहरू अत्यन्त दुर्लभ छन् । अझ वर्तमान नेपालमा त छँदै छैनन् भन्दा पनि अत्युक्ति नहोला ।

पाणिनिका समयमा चौंथो तथा तल्लो तहको शिक्षकका रूपमा अध्यापक रहन्थे । वैदिक साहित्य अध्ययन अध्यापनमा यस्ता अध्यापकको क्षमता कम भएकै कारण यिनीहरूले लौकिक साहित्यको अध्ययन अध्यापन गर्दथे । प्राथमिक तहको शिक्षा प्रदान गर्नु अध्यापकको प्रमुख कर्तव्य मानिन्थ्यो । त्यतिबेला विद्यार्थीलाई अत्यन्त कठोर नियम वा आदेश पालना गराउने दारुणाध्यापक, घोराध्यापक, भृशाध्यापक, अत्यध्यापकजस्ता अध्यापकहरूमात्र होइन काष्ठाध्यापक, अद्भुताध्यापक, परमाध्यापक, स्वध्यापकजस्ता विद्यार्थीमैत्री अध्यापकहरूको पनि अस्तित्व थियो (अ. ८।१।६७) । वर्तमान समयमा आचार्य, प्रवक्ता र श्रोत्रिय श्रेणीका शिक्षकहरू दुर्लभ हुँदै गए पनि शिक्षाका हरेक क्षेत्रमा अध्यापकहरूको बाहुल्य देखिन्छ ।

मनुले शिक्षकलाई आचार्य, उपाध्याय र गुरु गरी तीन वर्गमा विभाजन गरेका छन् र उनले पनि आचार्यलाई नै सर्वोत्तम शिक्षक ठह¥याएका छन् । मनुले पालनपोषण गर्ने र संस्कार सिकाउनेलाई गुरु मानेका छन् भने जीविकोपार्जनका लागि वेदाङ्गको अध्यापन गराउने व्यक्तिलाई उपाध्याय भनेका छन् (२।१४१, १४२) । पाणिनिकालीन अध्यापक र मनुकालीन उपाध्यायहरूकै नयाँ संस्करणका रूपमा वर्तमानमा शिक्षकहरू देखापरेका छन् तर वर्तमानले एउटा पनि सच्चा आचार्य जन्माउन भने सकेको छैन ।

२.२ पाणिनिकालीन विद्यार्थी

पाणिनिले आप्mनो समयमा दण्डमाणव र अन्तेवासी दुई प्रकारका विद्यार्थी हुन्थे भन्ने कुरा उल्लेख गरेका छन् (अ. ४।३।१३०) । व्रतबन्ध नगरेका र हातमा दण्ड लिएर विद्याश्रमको यताउता घुम्ने ससाना विद्यार्थीलाई दण्डमाणव भनिन्थ्यो । जब तिनै दण्डमाणवहरू व्रतबन्ध संस्कार गरी मन, वचन र कर्मले आचार्यका सामु बसेर नियमपूर्वक वेदादिशास्त्रको अध्ययन गर्थे, तिनलाई अन्तेवासी भनिन्थ्यो । आचार्य र अन्तेवासी दुवैको पितापुत्रको जस्तो पारिवारिक सम्बन्ध रहन्थ्यो । गुरुकुलमा रहँदा केही यस्ता अनुशासनहीन विद्यार्थीहरू पनि भेटिन्थे, जो अत्यन्त चञ्चल स्वभावका हुन्थे, गुरुकुलमा बस्नुपर्ने जति पूरा समय नबसी घर फर्किन्थे र पढाइ छाडेर आराम गर्न बिस्तारामा पुग्थे । त्यस्ता विद्यार्थीलाई तीर्थध्वाङ्क्ष, तीर्थकाक, खट्वारूढ (अ. २।१।४२, २।१।३६) आदि नामले पुकारिन्थ्यो ।

पाणिनिकालीन विद्यार्थीको नामकरण तीन आधारमा गरिन्थ्यो । अध्ययन गर्ने विषयका आधारमा नामकरण गर्ने एउटा आधार थियो र यसका आधारमा विद्यार्थीलाई आग्निष्टोमिक, वाजपेयिक, नैयायिक, वार्तिक, पदक, क्रमक शिक्षक, मीमांसक, वार्षिक, वासन्तिक, आथवर्णिक आदि भनेर नामकरण गरिन्थ्यो (अ. ४।४।६०, ६१, ६३) । विद्यार्थीले वेदको जुन चरणको शिक्षा लिन्छन् त्यसै आधारमा पनि विद्यार्थीको नामकरण हुन्थ्यो । कठाः, पैप्पलादाः, वाजसनेयिनः आदि (अ. ४।२।६६) यसै आधारमा निर्धारण गरिएका विद्यार्थीका नाम हुन् । जुन गुरुसँग वा जसको ग्रन्थ पढियो त्यसका आधारमा पनि विद्यार्थीको नामकरण गरिन्थ्यो । पाणिनीयाः, तैत्तिरीयाः, काश्यपिनः, हारिद्रविणः आदि (अ. ४।३।१०१—१०४) यसै आधारमा निर्धारण गरिएका विद्यार्थीका नाम हुन् । यसका अतिरिक्त वेदको एउटै चरणमा पढ्ने विद्यार्थीहरूलाई ‘सब्रह्मचारी’ (अ. ६।३।८६) र एउटै गुरुसँग अध्ययन गर्ने विद्यार्थीहरूलाई ‘सतीथ्र्य’ (अ. ४।४।१०७) भनिन्थ्यो ।

अध्ययन गर्दा कठिनताको अनुभूति गर्ने छात्रहरू पनि पाणिनिका समयमा हुन्थे भन्ने कुरा कष्टोऽग्निः, कष्टं व्याकरणम्, ततोऽपि कष्टतराणि सामानि (का.वृ. ७।२।२२) जस्ता उदाहरणहरूद्वारा पुष्टि हुन्छ । कन्या, कम्बल, घिउ, भात आदि प्राप्त गर्ने लोभले दक्ष, चारायण, रौढ, पाणिनि आदिद्वारा प्रोक्तशास्त्रको अध्ययन गर्ने कुमारीदाक्ष, कम्बलचारायणीय, घृतरौढीय, ओदनपाणिनीय आदि (अ.६।२।६९) छात्रहरू पनि पाणिनिका समयमा भेटिन्थे ।

वर्तमानमा नेपालका केही सरकारी प्राथमिक विद्यालयहरूमा दण्डमाणव विद्यार्थीहरू भेट्न सकिन्छ भने तीर्थध्वाङ्क्ष, तीर्थकाक र खट्वारूढ विद्यार्थीहरू सर्वत्र बढ्दै गएका छन् । जसले गर्दा अन्तेवासी प्रवृत्तिका विद्यार्थीहरूको शैक्षिक अवस्था सुधार्न निकै गाह्रो हुँदै गएको छ । यसैगरी वर्तमानमा सतीथ्र्य विद्यार्थीहरू पनि नभेटिने होइनन् तर आजकलका विद्यार्थीमा सतीथ्र्य हुनुको गौरवबोध भने भेटिँदैन ।

२.३ पाणिनिकालीन पाठ्यक्रम

पाणिनिका समयमा आजजस्तो पाठ्यक्रमको निर्धारण गरिँदैनथ्यो । एउटै विषयको पाठ्यपुस्तकमा विद्यार्थीको पठनपाठन बढ्ता केन्द्रित हुन्थ्यो । कुन विद्यार्थीले कुन पुस्तक पढिसक्यो भन्ने बुझाउनका लागि गन्थको आदिमा पर्यन्त र अन्त शब्दको द्योतक स (सह) शब्दको प्रयोग गरिन्थ्यो (अ. ६।३।७९, २।१।६), जस्तै : समुहूर्तं ज्योतिषमधीते, ससङ्ग्रहं व्याकरणमधीते, साग्नि आदि । त्यसैगरी कुनै विषय वा प्रकरणको अध्ययन गरिसकिएको कुरा सूचित गर्नका लागि वृत्त शब्दको प्रयोग गरिन्थ्यो (अ. ७।२।२६), जस्तै : वृत्तं छन्दश्छात्रेण, वृत्तो गुणो देवदत्तेन, वृत्तं पारायणं देवदत्तेन आदि ।

पाणिनिका समयमा वर्षभरको पाठ्यक्रमलाई ऋतुका आधारमा पनि विभाजन गरिन्थ्यो भन्ने कुरालाई ऋतुनामका आधारमा निर्मित वासन्तिक, गै्रष्मिक, वार्षिक, शारदिक, हैमन्तिक र शैशरिक छात्रनामहरूले पुष्टि गर्दछन् (अ. ४।२।६३) । यसैगरी निश्चित समयका लागि गुरुकुलमा रहेर विद्याध्ययन गर्ने आवधिक विद्यार्थीहरू पनि पाणिनिका समयमा हुन्थे, जसलाई मासिको ब्रह्मचारी, आद्र्धमासिको ब्रह्मचारी, सांवत्सरिको ब्रह्मचारी आदि नामले पुकारिन्थ्यो (अ.५।१।९४) । त्यतिबेला अध्ययनको समाप्तिको सूचना समापन शब्दद्वारा गरिन्थ्यो (अ. ५।१।११२), जस्तै : व्याकरणं समापनीयम्, छन्दः समापनीयः आदि ।

२.४ पाणिनिकालीन शिक्षणविधि

पाणिनिको अष्टाध्यायीमा प्रयोग गरिएका प्रकथन, सम्यग्बोध, भासन, विमति, विप्रलाप, प्रतिश्रवणजस्ता केही शब्दका आधारमा उनका समयमा त्यस्ता केही शिक्षणविधिहरू थिए भन्ने सुइँको पाइन्छ । तत्काल स्फुरण भएका विषयमा मौखिक निरूपण गर्नु नै प्रकथन हो भने कुनै कुराको सामान्य व्याख्यान गर्नुलाई पनि प्रकथन भनिन्छ (अ. १।३।३२), जस्तै : गाथा प्रकुरुते, जनापवादान् प्रकुरुते अर्थात् कथाहरू र लोकापवादहरूलाई व्याख्यान गर्दछ । विषयवस्तुमाथि प्रकाश पार्नु वा त्यसको तार्किक व्याख्यान गर्नुलाई भासन भनिन्छ (अ. १।३।४७), जस्तै : शास्त्रे वदते अर्थात् शास्त्रका सम्बन्धमा तर्कसङ्गत व्याख्यान गर्दछ । कुनै पनि विषयका बारेमा राम्रोसँग जान्नुलाई ज्ञान वा सम्यग्बोध भनिन्छ (पूर्ववत्), जस्तै : शास्त्रे वदते अर्थात् शास्त्रका सम्बन्धमा राम्रोसँग बोल्न जान्दछ । कुनै पनि विषयमा विभिन्न किसिमका मतहरूको विवेचना गर्नुलाई विमति भनिन्छ (पूर्ववत्), जस्तै : क्षेत्रे विवदन्ते, गेहे विवदन्ते अर्थात् खेत र घरका विषयमा विवाद गर्दछन् वा विभिन्न मतहरू प्रकट गर्दछन् । परस्परविरोधी वचनहरू व्यक्त गर्नु वा त्यस्ता वचनलाई विद्वान्हरूका बीचमा शास्त्रार्थ गर्नुलाई विप्रलाप भनिन्छ (अ. १।३।५०), जस्तै : विप्रदन्ते विप्रदन्ति वा वैद्याः, सांवत्सराः, मौर्हूताः अर्थात् वैद्यहरू र ज्योतिषीहरू एकआपसमा विवाद वा शास्त्रार्थ गर्दछन् । कुनै विषयमा सहमत हुनु, प्रतिज्ञा गर्नु र सुन्नका लागि प्रवृत्त हुनुलाई प्रतिश्रवण भनिन्छ (अ. ८।२।९९), जस्तै : गां मे देहि भो, हन्त ते ददामि, नित्यः शब्द भवितुमर्हति, दत्त किमात्थ अर्थात् मलाई गाई देउ, तिमीलाई गाई दिन्छु, शब्द नित्य हुनसक्छ, देवदत्त तिमी के भन्दैछौ ? भन्ने चार वाक्यहरूमध्ये दोस्रो, तेस्रो र चौंथो वाक्यमा क्रमशः स्वीकृति, प्रतिज्ञा र सुन्नका लागि प्रवृत्त भएको देखिन्छ । यस किसिमका शिक्षणविधि वा शास्त्रार्थ विधिहरूको उपयोग आचार्यहरूका बीचमा, अन्तेवासीहरूका बीचमा र आचार्य एवम् अन्तेवासीहरूका बीचमा पनि हुने गर्दथ्यो ।

२.५ पाणिनिकालीन परीक्षाप्रणाली

पाणिनिका समयमा जुनसुकै पाठ्यसामग्रीलाई पारायण र कण्ठस्थ गर्ने परम्परा विद्यमान थियो । कण्ठ गर्नु भनेको आजजस्तो सुगारटाइ नभएर ज्ञानपूर्वक कण्ठ गरिन्थ्यो । त्यतिबेला आजजस्तो लिखित परीक्षा प्रणाली थिएन । आपूmले पढिसकेको पाठ दैनिक रूपमा गुरुलाई कण्ठस्थ सुनाउनुपथ्र्यो र मासिक, त्रैमासिक वा वार्षिक रूपमा लिइने मौखिक परीक्षाहरूमा उत्तर दिँदा जतिवटा गल्ती भए त्यसलाई विषयगत रूपमा त्यति नै गल्ती गर्ने विद्यार्थीका रूपमा उसलाई सङ्केत गरिन्थ्यो । जस्तै : ऐकन्यायिकः, यस्याध्ययने प्रवृत्तस्य परीक्षाकाले विपरीतोच्चारणरूप स्खलितमेकं जातं सः (भट्टोजिदीक्षित, अ. ४।४।६३) । अर्थात् न्याय विषयको अध्ययनमा संलग्न भएका विद्यार्थीले परीक्षाका समयमा विपरीत उच्चारणरूप एउटा गल्ती गरेका कारण उसलाई ऐकन्यायिक भनिएको हो । यसैगरी त्रुटिसङ्ख्याका आधारमा द्वैन्यायिक, त्रैन्यायिक आदि नामहरू त्यतिबेला प्रचलित थिए । यथासम्भव मौखिक रूपमा गल्तीहरू नगर्ने विद्यार्थीलाई त्यतिबेला समुत्तीर्ण भएको मानिन्थ्यो ।

२.६ पाणिनिकालीन शिक्षणसंस्था

पाणिनिभन्दा पूर्ववर्ती कालदेखि नै पठनपाठनका लागि चरण विद्यापीठहरूको स्थापना भएको थियो र त्यस्ता विद्यापीठहरू वैदिक विद्यापीठका रूपमा प्रसिद्ध थिए (अग्रवाल, १९९६ ः २८७) । यस्ता विद्यापीठमा वेदको उउटा शाखाको अधययन हुन्थ्यो र मूल संस्थापकका नाममा तिनको नामकरण गरिन्थ्यो । पाणिनीय व्याकरणमा प्रयुक्त काठकम्, कालापकम्, छान्दोग्यम्, औक्थिक्यम्, आथर्वणिकम् (का.वृ. ४।२।६६) शब्दहरूले त्यस्तै चरण विद्यापीठ वा त्यसमा अध्ययन गर्ने छात्रवर्गको प्रतिनिधित्व गर्दछन् । यस्ता शिक्षण संस्थामा पढाइ हुने दिनलाई अध्याय (अ.३।३।१२२) र पढाइ नहुने दिनलाई अनध्याय भनिन्थ्यो । अनध्यायका लागि मसानघाट, चौबाटो आदि प्रतिषिद्ध स्थान एवम् चतुर्दशी, औंसी आदि समयको पनि निर्धारण गरिएको थियो । त्यसरी निषिद्ध स्थान वा समयमा अध्ययन गर्ने विद्यार्थीलाई श्माशानिक, चातुष्पथिक, चातुर्दशिक, आमावास्यिक आदि नाम दिइन्थ्यो (का.वृ. ४।४।७१) ।

३. पाणिन्युत्तरकालीन शैक्षिक अवस्था

पाणिनिभन्दा पछिको शैक्षणिक परम्परामा पनि पाणिनिको अष्टाध्यायीले व्यापक प्रभाव पार्दै आएको देखिन्छ । कात्यायन पाणिनिका साक्षात् शिष्य त होइनन् र पतञ्जलिले पनि पाणिनि वा कात्यायनको साक्षात् शिष्य हुने अवसर प्राप्त गरेनन् तापनि कात्यायन र पतञ्जलि दुवैले आआप्mनो समयमा पाणिनिको अष्टाध्यायीलाई व्यापक परिमार्जन र संशोधन गरेर आपूmलाई पाणिनीय गुरुकुलकै सच्चा उत्तराधिकारी सिद्ध गर्ने प्रयत्न गरे । त्रिमुनिद्वारा प्रतिष्ठापित पाणिनीय व्याकरणपछि पनि धेरै व्याकरणहरू बने तर ती सबैका सामु पाणिनीय गुरुकुलमा आधारित पाणिनीय व्याकरण नै सर्वोच्च स्थानमा रहेर सम्मानित हुँदै आउन सफल भयो ।

पाणिनीय गुरुकुलमा महर्षि पतञ्जलिले नै सर्वप्रथम पाणिनीय व्याकरणको दैनिक पाठयोजना तयार गरे । एकदिन पढाइ हुने पाठयोजनालाई उनले आह्निक नाम दिए । समग्र व्याकरणमहाभाष्यलाई उनले ८५ आह्निकमा विभाजन गरे । पतञ्जलिका समयमा त्यस्ता प्रतिभासम्पन्न विद्यार्थीहरू थिए होलान्, जसले ८५ दिनमा सम्पूर्ण व्याकरणमहाभाष्यको अध्ययन गर्न सक्थे । भाष्यकार पतञ्जलिले नै सर्वप्रथम गुरुसँग अध्ययन गर्दा, त्यसलाई आपैmले मनन गर्दा, विद्यार्थीहरूलाई पढाउँदा र पढेको कुरालाई व्यवहारमा उतार्दा चार किसिमले विद्या परिपक्व हुन्छ (महाभाष्य, पस्पशान्हिक) भनेर उद्घोष गरेका थिए । सम्भवतः पतञ्जलिले विद्या परिपक्व हुने उपर्युक्त चार आधारतर्पm आप्mना शिष्यहरूलाई मार्गनिर्देश पनि गरेका थिए ।

पाणिनि, कात्यायन र पतञ्जलिभन्दा पछि बनेका संस्कृतका विभिन्न साम्प्रदायिक व्याकरणहरूतिर पनि विद्यार्थीहरूको ध्यान जान थाल्यो भने नवीनतम आर्यभाषा र अनार्यभाषाहरूको द्रुततर विकासले संस्कृत व्याकरणको पठनपाठनमा क्रमशः ह्रास आउँदै जान थाल्यो । मौखिक परीक्षामा जोड दिइने प्राचीन परम्परालाई लिखित परीक्षामा जोड दिने आधुनिक परम्परालको क्रमशः विस्थापन गर्दै जाँदा पाणिनीय गुरुकुलबाट मात्र होइन आधुनिक स्कुलहरूबाट पनि योग्यतम विद्यार्थीहरू उत्पादन हुन छाडे ।

नेपालमा पिँढीपाठशालाबाट शिक्षाको जग बसेको थियो र त्यस्ता पाठशालाहरू गुरुकुल पद्धतिका रूपमा विकसित भएका थिए । छात्रहरूको सङ्ख्यामा वृद्धि हुँदै गएपछि पिँढी पाठशालाले चौतारोपाठशाला, मन्दिरपाठशाला, छाप्रोपाठशाला, कच्ची स्कुल हुँदै पक्की स्कुलबाट वर्तमान शिक्षाको विकास र विस्तार हुँदै आएको छ । यति हुँदाहुँदै पनि नेपालमा गुरुकुल पद्धतिका संस्कृत विषय पढाइ हुने विद्यालय एवम् महाविद्यालयहरूको संरक्षण र सम्वद्र्धनसमेत वर्तमानमा भइरहेको छ र त्यस्ता शिक्षण संस्थाहरूमा समेत पाणिनीय गुरुकुलको परम्परा आंशिक रूपमा भए पनि जीवन्त रहँदै आएको पाइन्छ ।

४. उपसंहार

इसापूर्व ५०० का महर्षि पाणिनिद्वारा प्रवर्तन गरिएको पाणिनीय व्याकरणले वर्तमानसम्म आइपुग्दा २५०० वर्षको यात्रा पार गरिसकेको छ । यति लामो अवधिमा पनि पाणिनीय गुरुकुलको परम्परा आंशिक रूपमा भए पनि जीवन्त छ । वर्तमानमा जीविकोपार्जनका लागि भौंतारिरहने अध्यापकहरू र आधुनिक विषय पढ्नुमात्र पढाइ हो भन्ने मानसिकता बोकेका विद्यार्थीहरूको भीड बढ्दै गए पनि पाणिनिका समयका जस्ता केही आचार्य र केही अन्तेवासीहरू वर्तमानमा पनि जीवन्त छन् । तिनै केही आचार्य (गुरु) र अन्तेवासी (विद्यार्थी) ले पाणिनीय व्याकरणको गम्भीर अध्ययन एवम् विश्लेषण गरेर पाणिनीय गुरुकुललाई जीवन्त बनाइराखेका छन् ।

LEAVE A REPLY