गृहजिल्ला चितवनको विभिन्न कार्यक्रममा प्रधानमन्त्री सहभागी, विकास प्याकेजको कुरा

0
232

चितवन– सोमवार र मंगलवार चितवनका विभिन्न कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले विकासका कार्यक्रममाथि आफ्ना धारणा राखे ।
उनले हरेक जसो कार्यक्रममा चितवनको समग्र विकासको प्याकेज छिट्टै ल्याउने बताएका छन् ।
चितवन प्रधानमन्त्री प्रचण्डको गृहजिल्ला पनि हो । गृहजिल्लामा ध्यान नदिएको भनेर प्रधानमन्त्रीको आलोचना भैरहेका बेला प्रचण्डले विकास प्याकेजको कुरा गरेका हुन् ।प्रधानमन्त्रीले कस्तो विकास प्याकेज दिन्छन् ? सामन्य संकेत मात्र गरेका छन् ।

Advertisements

मंगलबार मेघौलीमा रहेको साना शहरी खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने,

बन्यजन्तुको आक्रमणबाट संरक्षणका लागि तारजालीको व्यवस्था गरिनेछ । मेघौली एयरपोर्ट पून सञ्चालनको व्यवस्था गरिनेछ । नारायणगढ—गोलाघाट मोटरबाटो र गोलाघाट पुल निर्माणमा मेरो गम्भीर ध्यान गएको छ । ठोरीदेखि केरुङसम्म जोड्ने बाटो निर्माणका लागि सरकारको तर्फबाट पहल भइरहेको छ ।

-चितवनको विकासका निम्ति सधैं साथमा छु, छिट्टै चितवनको विकासको प्याकेज ल्याउनेछु ।

खानेपानीको हक जनताको मौलिक हक भएको बताउँदै प्रधानमन्त्रीले भने,
–मेघौली खानेपानीको उद्घाटनपूर्व प्रधानमन्त्रीले गोलाघाटमा रहेको निर्माणाधीन गोलाघाट पुलको स्थलगत निरीक्षण गरेका थिए । स्थलगत निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले भने

गोलाघाट पुल सरकारको प्राथमिकतामा छ । निकुञ्जको प्राविधिक कारणले पुल निर्माणमा ढिलाई भएको सूचना पाएको छ । म यहाँबाट फर्केलगत्तै सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरुलाई बोलाएर छिटै पुल निर्माणमा तिब्रता दिनेछु । पुल निर्माण छिटै सम्पन्न हुन्छ ।

–खानेपानीको समस्या नेपालको आधारभूत समस्या हो । यसमा पछिल्लो समयमा सुधार आएको छ । संविधानमा खानेपानीलाई जनताको मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । यसको व्यवहारिक कार्यान्वयन अहिलेको मूख्य दायित्व हो । यस्ता आयोजनाहरुले त्यस्तो व्यवस्थाको कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

सोमवार ११औं चितवन महोत्सवको उद्घाटन प्रधानमन्त्रीले भनेका थिए,
–राजनीति नै सबै कुराको मियो हो । राजनीति ट्रयाकमा भयो भने विकास र विभिन्न संयन्त्रहरु पनि स्वतः ट्रयाकमा अघि बढ्छन् । तर, राजनीतिक मतभेद र संक्रमणलाई देखाएर विकासका कामबाट उम्कने छुट हामीलाई छैन । हिजो हामीले राजनीतिक परिवर्तनका लागि जुन संकल्प गरेर आयौं, अब विकासका लागि त्यही संकल्प गर्न जरुरी छ । मेरो देश दौडाहा त्यसैमा लक्षित छ ।

–शक्तिखोरलाई औद्योगिक नगरीको रुपमा विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ । नारायणी नदीमा तटबन्धको व्यवस्था, औद्योगिक प्रदर्शनी केन्द्रको निर्माण, गोलाघाट पुल निर्माण, ठोडीदेखि केरुङसम्मको बाटो लगायतका पूर्वाधार निर्माणमा मैले काम अगाडि बढाइरहेको छु । चितवनको समग्र विकासका लागि केही दिनभित्रै प्याकेज घोषणा गर्नेछु ।

चितवनलाई एक साताभित्र लोडसेडिङमुक्त जिल्ला घोषणा गर्ने तयारी भएको छ । काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गरिएको छ । सही मान्छेलाई सही जिम्मेवारी दिइयो भने त्यसले धेरै सकारात्मक नतिजा दिन्छ भन्ने यो एउटा प्रमाण हो । विगतमा लोडसेडिङ गराएर कमिसन खाने निकै नकारात्मक सोच रहेछ । लोडसेडिङ गराएर देशलाई कंगाल बनाउनेहरुप्रति सरकार कठोर भएपछि नै लोडसेडिङ हटाउन सकिएको हो । सरकार देशैभरी लोडसेडिङ अन्त्य गर्ने अन्तिम गृहकार्यमा छ ।

सोमबार बिहान पूर्वी चितवनको बीरेन्द्रनगरमा जनयुद्धका शहिद तथा बेपत्ता योद्धाहरुको स्तम्भको अनावरण गर्दै प्रधानमन्त्रीले भनेका थिए,
–राजनीतिक स्थिरताले मात्रै विकासका काममा तिब्रता पाउन सक्छ । तर, राजनीतिक विवादका कारण विकास निर्माण र आर्थिक समृद्धिको खाका प्रभावित हुनु हुँदैन । मैले देशव्यापी रुपमा ठूला आयोजनाहरुको निरीक्षण र अनुगमन गरिरहेको छु । विकास र समृद्धिलाई केन्द्रमा राखेर देश दौडाहामा छु । अब कुनै पनि बहानामा विकासका काममा अवरोध गर्नु हुँदैन ।

–चितवन आफैमा पनि राजनीतिक र सामाजिक आन्दोलन र जागरणको केन्द्र हो । हिजो परिवर्तनको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको चितवनले अब विकास र समृद्धिको नेतृत्व गर्नुपर्छ । मैले छिटै चितवनको विकासको प्याकेज अगाडि सार्नेछु । त्यसमा तपाईहरुको सकारात्मक सहयोग र ऐक्यवद्धताको अपेक्षा गरेको छु ।

LEAVE A REPLY