कसलाई दिऊँ म दोष ?

0
270

मेरो दाँतले मेरै जिभ्रो टोक्छ
कसलाई दिऊँ म दोष ?
मेरो हातले मेरै आँखा कोप्छ
कसमाथि पोखूँ म रोष ?

Advertisements

देश बिग्रिएको छ
म कसलाई समातेर लतारूँ ?
परिवेश लथालिङ्ग छ
म कसलाई उचालेर पछारूँ ?
हिड्न नजानेर लड्छु म आफैं
कसमाथि दोष थोपरूँ ?
चिप्लिएर रछानमा गड्छु म आफैं
कसको अनुहार कोपरूँ?

मेरै गीतमा व्यथा वेदना छ
म कसरी मन बुझाएर हाँसू ?
मेरै प्रीतमा खेद र विलौना छ
कसरी सम्हालेर गाँसू ?
मेरो मनले मेरै मन टुटाउँछ
कसमाथि रीस म पोखूँ ?
मेरो दिलले मेरै दिल फुटाउँछ
कसमाथि विष म जोखूँ ?

आशा मभित्र नै शून्यता पाइदिन्छ
म के का निम्ति अझै मरूँ ?
मेरो सोचले मेरै नीद खाइदिन्छ
म कसबाट क्षतिपूर्ति भरूँ ?
मेरो दृष्टि मभित्रै भ्रम छरिदिन्छ
म कसका आँखा फुटाऊँ ?
मेरो सपना मेरै सुख हरिदिन्छ
म कसको अदालत जुटाऊँ ?

म मेरै कारणले छु दुःखी
आक्षेप कहाँ म लगाऊँ ?
चेतना आफ्नै पोलिरहेछ
कुन चेतना फेरि जगाऊँ ?
फेरि दोष कहाँ लगाऊँ ?

कबि-दुर्गाप्रसाद पोख्रेल

LEAVE A REPLY