माग सम्बोधन नभएसम्म चुनावमा जान सकिन्न : मधेसी मोर्चा

0
264

पुस २९, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्ने प्रयास जारी रहेको भन्दै निर्वाचनको वातावरण बनाउन मधेसी मोर्चासँग आग्रह गरेका छन् । बालुवाटारमा आफू र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार बिहान आएका मोर्चा नेताहरुसग कुरा गर्दै दाहालले संशोधन हुदैन कि भन्ने शंका नगर्न आग्रह गरेका हुन् ।

Advertisements

देउवाले पनि निर्वाचन विधेयक पारित गराउन मोर्चा नेतालाई आग्रह गरेका थिए । तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टी राजेन्द्र महतोले संशोधन विधेयकमा परिमार्जन गर्ने विषय के के हुन् भनी पहिल्यै गृहकार्य हुनुपर्ने माग गरेका थिए । ‘उहाहरु (दाहाल र देउवा) ले निर्वाचनको माहोल बनाइदिनुस् भनी आग्रह गर्नुभयो, हामीले संशोधन पहिले गर्नुपर्ने र त्यसका लागि कार्यदल बनाएर विधेयक परिमार्जन गर्नुपर्ने अडान राख्यौं,’ महतोले भने ।

दाहालले कार्यदल बनाउन सकिने र त्यसमा सरकारका तर्फबाट गृहमन्त्री विमलेन्द्र निधिलाई राख्ने प्रस्ताव गरे । तर देउवाले त्यसो गर्दा जटिलता आउन सक्ने भन्दै पहिले पार्टीभित्र आन्तरिक छलफल गर्नुपर्ने धारणा राखेका थिए । ‘मैले मात्रै भनेर हुदैन, पहिले पार्टीमा कुरा हुनुपर्‍यो,’ देउवालाई उदृत गर्दै स्रोतले भन्यो, ‘अहिले निर्वाचन विधेयक पारित गर्न साथीहरुले दिनुपर्यो ।’

दाहाल र देउवाले निर्वाचन विधेयकमा जोड दिएपछि यादव र ठाकुरले आन्दोलनमा दर्जनौंको सहादत र अर्बौंको क्षति भएकाले अहिलेकै अवस्थामा चुनावमा जान नसकिने अडान लिएका थिए । ‘माग सम्बोधन नहुन्जेल हामी के भनेर चुनावमा जाने ?’ ठाकुरले बैठकमा भने, ‘तपाईंहरुको प्राथमिकता पहिले के हो स्पष्ट गर्नुहोस् । संशोधन विना चुनाव हाम्रो लागि स्वकिार्य छैन ।’ मोर्चा नेताहरुले निर्वाचन विधेयक पारित गर्नुको साटो संसदीय समितिमा छलफलका लागि फर्काइनुपर्ने माग समेत राखेका थिए । बैठकमा सहभागी गृहमन्त्री निधिले संशोधनलाई असफल बनाउनुभन्दा समय लिएर भए पनि पारित हुने किसिमले अघि बढ्नुपर्नेबारे छलफल भएको बताए ।

निधिका अनुसार कांग्रेस सभापति देउवाले संविधान संशोधन पारित हुनेमा शंका नगर्न आग्रह गर्दै स्थानीय निर्वाचन प्रकृयालाई पनि संगै अघि बढाउनु पर्ने प्रस्ताव गरेका थिए । मोर्चाका नेताहरुले भने संशोधन प्रस्ताव पारित नहुँदासम्म निर्वाचनको मिति घोषणा गर्नुको औचित्व नरहेको बताएका थिए । ‘निर्वाचन आयोगले चार महिनाको तयारी आवश्यक हुने बताईरहेको छ । तयारी गर्नका लागि पनि मिति घोषणा गरेर अघि बढौ र संशोधन पनि पारित गर्नेतिर सामूहिक रुपमा लाग्यौं भन्ने देउवाको भनाई थियो’, निधिले भने ।

बैठकमा प्रधानमन्त्री दाहालले संशोधन विधेयकको अन्र्तबस्तुमा थप परिमार्जन नहुने स्पष्ट पारेका छन् । मोर्चाका नेताहरुले स्थानीय तहको पुन:संरचनालाई लिएर बैठकमा आपत्ति जनाएका थिए । मोर्चाको आपत्तिलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्न तयार रहेको जबाफ दिए । प्रधानमन्त्रीको भनाइ थियो, ‘आयोगको प्रतिवेदन स्थानीय विकासमन्त्रीले बुझ्नुभएको छ । मेरो तहमा अर्थात् मन्त्रिपरिषद्ले बुझिसकेको अवस्था छैन ।’ पुन:संरचनाको बिषयलाई लिएर तराई मात्रै नभई पहाडमा समेत गुनासो भएको बताउँदै प्रधानमन्त्रीले त्यसलाई मिलाउने गरी नै जानुपर्ने धारणा राखेका थिए ।

मोर्चाका नेताहरुले बिहीबार राति घोषणा भएका न्यायाधीशको नामावलीबारे असन्तुष्टि जनाएका थिए । उनीहरुले न्याय परिषद्सम्बन्धी ऐन कानुन भर्खरै पारित भए पनि घोषित सूची हेर्दा संविधानले घोषणा गरेको समावेशीता, समानुपातिक प्रतिनिधित्वको अवहेलना गरिएको धारणा राखेका थिए । ‘हामीसग पटक पटक छलफल हुने, तर कार्यान्वयन अर्कै किसिमले गर्ने हो भने हामी यहाँ किन आउनुपर्‍यो,’ महतोले बैठकमा भनेको कुुरा कान्तिपुरलाई सनाए, ‘यो त संविधानको मान्यताकै खिलाफ भयो । सरकार आफैंले कानुन बनाउने, आफैं उल्लंघन गर्ने गर्‍यो ।’

दाहालले परिवर्तन तुरुन्तै कार्यान्वयन गर्न कठिन हुदोरहेछ भनी स्वीकार गरेको बैठकमा सहभागी नेताहरुले बताए । ‘यो संस्थापन भन्ने यस्तै हुदो रहेछ, म प्रधानमन्त्री हुदैमा परिवर्तन नहुदो रहेछ,’ दाहालको भनाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘त्यसैले त परिवर्तनकारीको गठबन्धन बनाउनुपर्‍यो भन्छु नि म । यसका लागि अझैं संघर्ष गर्नुपर्छ ।’

‘संशोधन विधेयक पारित गराउनकै लागि ल्याइएको हो । मेरो कोसिस त त्यसका लागि आवश्यक परे कमल थापाजी र विजय गच्छदारजीलाई पनि सरकारमा ल्याऔं भन्ने हो,’ दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरुले परिमार्जनसहित विधेयक अघि बढाऔं भन्नुभएको मलाई थाहा छ । त्यसबारे पनि कुरा गरौंला । अब तपार्इंहरुको पनि ध्यान चुनावमा जानुपर्छ ।’ उनले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेकाले आवश्यक वातावरण बनाउन मोर्चा नेतालाई आग्रह गरेका थिए ।स्रोत: कान्तिपुर

 

LEAVE A REPLY