स्वास्थ्यका भवन स्वास्थ्य मन्त्रालयले नै बनाउने : मन्त्री थापा

0
258

पोखरा- स्वास्थ्य मन्त्री गगन थापाले अबदेखि स्वास्थ्यका भवन निर्माणको काम स्वास्थ्य मन्त्रालय आफैंले गर्ने बताएका छन् । भवन विभागले स्वास्थ्यका भवन बनाउन वर्षौ लगाएको र भवन निर्माणको काम अलपत्र परेको भन्दै स्वास्थ्य आफैंले बनाउने बताएका हुन्।

Advertisements

पोखरामा क्षेत्रिय निर्देशक तथा जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालयका प्रमुखहरुसँगको छलफलमा मन्त्री थापाले स्वास्थ्यको आवश्यकता अनुसार भवन निर्माणको काम मन्त्रालय माताहत नै गर्ने बताएका हुन् । उनले यसका लागि मन्त्रालय अन्तर्गत छुट्टै इन्जिनियरिङ महाशाखा बनाउने तयारी भएको जानकारी दिए ।

‘अस्पताल तथा स्वास्थ्य संस्था बिरामीको भरोसाका केन्द्र हुन्’ उनले छलफलका क्रममा भने, ‘तर त्यही भरोसाका केन्द्रहरु बन्न ५० वर्ष भन्दा बढी लागेको देखियो । अब स्वास्थ्य आफैँले ५ वर्षभित्र भवन बनाउँछ ।’ मन्त्री थापाले बिरामीको भरोसाका केन्द्रका निर्माणको कामलाई अलपत्र छाड्ने अवस्थाको अन्त्य हुने बताए ।

स्वास्थ्यका भवनहरु हाल भवन विभाग अन्तर्गतका डिभिजन कार्यालय मार्फत हुँदै आइरहेका

छन् । तर, भवन निर्माणको काम भने निकै सुस्त गतिमा भएका छन् । जसका कारण बिरामीहरुले चौरमा उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत निर्माण भइरहेका देशभरका दुई सय ३७ वटा भवन निर्माण अलपत्र अवस्थामा छन् । ठेकेदारको लापरवाहीका कारण अलपत्र अवस्थामा पुगेका यी भवनलाई विभागले ‘क्रोनिक संरचनाहरू’ भनेर सूचीमा राखेको छ । यो सूचीमा अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, प्रसूति भवन, आयूर्वेद लगायतका स्वास्थ्य संस्था छन् ।

वर्षौ बितिसक्दा पनि निर्माणाधिन संरचना अलपत्र रहँदा केही संरचना बिग्रिएका, केही भत्किने

अवस्थामा पुगेका कारण विभागले क्रोनिक अवस्थाका संरचनाको सूचीमा राखेको हो । स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीहरूले ठेकेदार कम्पनीको चरम लापरवाही र विभाग अन्तर्गतका डिभिजन कार्यालयका कर्मचारीहरूको मिलेमतोका कारण दश वर्षभन्दा बढी समयसम्म भवन निर्माणको काम अलपत्र पर्दा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको बताए ।

विभागले स्वास्थ्यका भवन निर्माण दुईटा कार्यक्रमअन्तर्गत अगाडि बढाइरहेको छ । विभाग अन्तर्गतका डिभिजन कार्यालयहरूले एकीकृत जिल्ला स्वास्थ्य कार्यक्रम र आयूर्वेद सेवा कार्यक्रमअन्तर्गत स्वास्थ्य भवन निर्माणको काम गर्छ । हालसम्म विभागले स्वास्थ्यका कुल १६ सय ७४ स्वास्थ्य संस्था निर्माणको जिम्मा लिइसकेको छ । जसमध्ये २ सयभन्दा बढी भवन निर्माणको काम अलपत्र छ  । ठेकेदारले ०६१ सालमा जिम्मा लिएको भवनसमेत अझै पूरा भएका छैनन् ।

विभागअन्तर्गत निर्माण भैरहेका भवनमध्ये एक हजार ९ वटा भवन निर्माणको काम सम्पन्न भएका छन् । सम्पन्न भइसकेका भवनमध्ये पनि एक सय जति भवन अझै हस्तान्तरण हुन सकेका छैनन् । भवनमा समस्या देखिएका कारण निर्माण सम्पन्न भएका भवन हस्तान्तरण हुन नसकेको

विभागका कर्मचारी बताउँछन् ।

विभागका सिनियर डिभिजन इन्जिनियर पराग कायस्थका अनुसार विभिन्न प्राविधिक समस्याका कारण निर्माण भैसकेका भवन हस्तान्तरण हुन नसकेको हो । उनले ठेकेदार र विभागकै प्राविधिक जनशक्ति अभावका कारण धेरै भवन अलपत्र अवस्थामा पुगेको स्वीकारे । ‘वर्षौदेखि निर्माण सुरु भएका धेरै भवन बीचमै अलपत्र परेका छन्’ उनले भने, ‘एउटै ठेकेदारले धेरै कामको जिम्मेवारी लिँदा यसरी लामो समयसम्म काम अलपत्र परेको हो ।’ उनले कतिपय स्थानमा प्राविधिक जनशक्ति अभावमा पनि निर्माणमा ढिलाई हुन पुगेको बताए ।

डिभिजन कार्यालयहरूले निर्माण गर्ने स्वास्थ्यका संरचनाहरू ७० लाखभन्दा माथिका हुने गर्छन् । सबैभन्दा सानो संरचना निर्माण गर्दा पनि ७० लाख र अस्पतालका भवन निर्माण गर्दा करोडौं लाग्ने गर्छ । यो आधारमा हेर्दा विभागअन्तर्गत हाल अलपत्र परेका २ सयभन्दा बढी भवनमा सरकारले अर्बौं खर्च गरेको छ ।स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशखाका प्रमुख डा। नरशेप्रताप केसीका अनुसार भवन विभागले निर्माणमा लापरवाही गर्ने कम्पनीलाई कारबाही नगर्दा समस्या बिकराल बनेको हो । ‘विभागले नियमअनुसार काम नगर्ने कम्पनीलाई कडा कारवाही गरेको भए यति धेरै विकराल अवस्था आउने थिएन,’ डा। केसीले भने, ‘विभागले कम्पनीलाई उन्मुक्ति दिँदा हामी नै सबैभन्दा बढी पीडित बन्न पुगेका छौँ ।’साभार्: स्वाथ्य खबरपत्रिका

LEAVE A REPLY