सम्पादकीय-फितलो कनून, कमजोर सुरक्षा संयन्त्र

0
352

पछिल्ला दिनहरुमा मौलाउंदो अवैध सुन तथा विदेशी मुद्राहरुको तस्करी नेपालको लागि टाउकोदुखाईको विषयमात्र नभएर यौटा गम्भीर चिन्ताको विषय पनि हो। एकपछि अर्को गर्दै धमाधम ठूलो परिणाममा सुन तथा विदेशी मुद्रा नेपालको बाटो हुँदै तस्करी हुनुलाई सामान्य रुपमा कदापी लिईनु हुँदैन। यसको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संजालको वारेमा पत्ता लगाई त्यस्तो संजालको गतिविधि र नियतमाथी पक्कैपनि लगाम लगाउनु जरुरी देखिन्छ। नेपालको फितलो कानून, कमजोर सुरक्षा संयन्त्र र उच्चस्तरको राजनैतिक संलग्नताबिना तस्करहरुले यतिविधी हिम्मत पक्कै गरेका छैनन। यसवारेमा नेपाल सरकार, राष्ट्रिय अनुसन्धान विभाग र सवैखाले सुरक्षा संयन्त्र प्रयोग गरि यस्ताखाले हर्कतकाविरुद्ध लागीपर्नु जरुरी देखिन्छ। यस्ताखाले हर्कतको निवारणमा राजनैतिक दलहरुको पनि उत्तिकै साथ र सहयोगको जरुरी हुन्छ किनकी अधिकांश तस्करीका घटनामा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा कहिं न कहिं कुनै न कुनै रुपमा नेताहरुको नाम जोडिएर आएको हुन्छ र राजनितिको आडमा यस्ता हर्कतहरुलाई ढाकछोप पार्ने प्रपन्च रचिएको हुन्छ। यसैको परिणाम हो नेपालमा दिनानुदिन भैरहने तस्करी र तस्करीमा संलग्न भरिया पक्राउ पर्ने तर ठूला मान्छे चाहिँ ढाकछोप भैरहने। यसैकारणले गर्दा नै नेपाल तस्करहरुको स्वर्णभूमी बनिरहेको छ।

त्यस्तै नेपालको फितलो कानून र कमजोर सुरक्षा संयन्त्रको फाईदा उठाउंदै सुन र विदेशी मुद्रा मात्र नभई लागूऔषधको पनि उत्तिकै तस्करी भैरहेको छ। विभिन्न समयक्रममा सार्वजनिक हुने यस्ता घटनाले नेपालको सुरक्षासंयन्त्रमाथी गम्भीर प्रश्नचिन्ह खडा त गरेको छ नै साथै अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको बदनाम दिनानुदिन बढ्दै गैरहेको छ जसले गर्दा आम नेपालीहरुमा चासो र चिन्ता निरन्तर बढिरहेको छ भने अर्कोतर्फ तस्करहरुको पहिलो रोजाईं नेपाल बन्नुले पनि भविष्यमा आईपर्ने समस्याहरुको बारेमा यकिनन गर्न गाह्रो छ।

Advertisements

त्यस्तै नेपालका तर्फबाट हुने अवैध तस्करी पनि अर्को टाउकोदुखाईको विषय बन्न पुगेको छ। नेपालबाट हुने दूर्लभ बन्यजन्तुका अंगहरु, जडिबुटी तथा खनिजपदार्थहरुको अवैध तस्करीले नेपालको राजस्व संकलनमा गिरावट आउनुका साथै दूर्लभ मानीने बनस्पती, पशुपंक्षी तथा जिवजन्तुहरु लोप हुने अवस्थामा समेत पुगेका छन। यसवाट तिनको अस्तित्वसंगै पर्यावरणीय सुरक्षामा समेत ह्रास आएको छ। यी सवै तस्करीहरु आम नागरिक एक्लैले गर्न नसक्ने हुँदा यस्ताखाले तस्करीमा नेपालका उच्चस्तरका निकायहरुकै संलग्नता रहेको पाईन्छ। यसवारेमा सरकारले पनि यथासक्य पहल गरि त्यस्ता तस्कर र तिनका नाईकेहरुलाई कानूनको कठघरामा ल्याई सार्वजनिक गर्नुपर्दछ र आगामी दिनहरुमा यी र यस्ता गतिविधिहरुलाई निरुत्साहित पार्नको लागि यथोचित कानूनको ब्यवस्था गर्न अविलम्व गर्नुहुंदैन।

चौविसै घण्टा राज्यका चारवटै सुरक्षा निकायको उच्च सुरक्षाको पहरामा रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट दिनानुदिन बाहिरिने अवैध सुन, विदेशी मुद्राका साथै लागूऔषधको कारणले गर्दा विमानस्थलको सुरक्षा एवं ब्यवस्थापनमा पनि गम्भीर प्रश्न उठेको छ। साथै यस्ताखाले तस्करमा विमानस्थलभित्रकै उच्चस्तरका कर्मचारीहरुको पनि संलग्नता भेटिनुले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको हविगत छर्लङ्ग हुन जान्छ साथै यस्ताखाले तस्करमा नेतादेखी लिएर कर्मचारीसम्मको मिलेमतो हुनेगर्दछ भनेर प्रष्टै बुझ्न सकिन्छ।

तसर्थ पछिल्ला दिनहरुमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा समेत चासोको विषय बन्न पुगेको सुन तस्करी एवं अवैध विदेशी मुद्राको तस्करीको बारेमा गम्भीर बनि छानविनमा लाग्नुपर्ने देखिन्छ। दोषि चाहे जोसुकै हुन, त्यस्ता दोषिलाई उम्किन दिनुहुंदैन। साथै त्यस्ता दोषिहरुलाई सार्वजनिक गरि यथासक्य छिटो कानुनी दायरामा ल्याउनुपर्दछ। यसपाली पनि सरकार र सुरक्षा निकाय यस घटनाम मूख्य अभियुक्त पक्रीनमा असफल रहे भने यी निकायहरुमा जनविश्वास पटक्कै रहनेछैन भने नेपालमा तस्करहरुको विगविगी झनै बढेर जानेछ। साथै भोलीकादिनहरुमा नेपाल तस्कर यथा आतंकवादीहरुको लागि स्वर्णभूमी बन्ने निश्चित नै छ। तसर्थ विमानस्थलको चुस्त सुरक्षासंगै तस्करमा संलग्न सवैखाले जालो तोड्दै नेपालले तस्कर र आतंकवादलाई निरुत्साह पार्दै नेपाल सवैखाले यस्ता हर्कतहरुको विरुद्धमा छ भनेर अन्तर्राष्ट्रिय रुपमा नै सन्देश प्रवाह गर्नु जरुरी छ।

LEAVE A REPLY