पहिलो पटक भारतीय बिजुली काठमाडौंमा:लोडसेडिङ नहुने सुनिश्चित

0
237

मंगलबार साँझ पहिलो पटक भारतीय बिजुली राजधानी आएको छ। भारतको मुजफ्पुरबाट ढल्केबर हुँदै आएको २० मेगावाट बिजुली मंगलबार साँझ काठमाडौं ल्याइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। ‘खिम्ती– ढल्केबर प्रसारण लाइन बनेपछि पहिलो पटक मंगलबार साँझ ६ बजे भारतीय बिजुली काठमाडौं आएको छ,’ प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, ‘यसले राजधानीमा लोडसेडिङ नहुने सुनिश्चित जस्तै भएको छ।’

Advertisements

आर्थिक वर्ष २०५९/६० बाट निर्माण थालिएको खिम्ती–ढल्केबर १ सय ३२ केभी प्रसारण लाइनमा सोमबार साँझबाट नो लोडमा चार्जिङ गरिएको थियो। नो लोड चार्जिङ सफल भएपछि सो प्रसारण लाइनमा मंगलबार साँझदेखि बिजुली प्रसारण गरिएको हो। प्रसारण लाइनमा अहिले खिम्ती जलविद्युत आयोजनाको ३६ मेगावाट बिजुली पनि जोडिएको छ।

भारतीय बिजुली काठमाडौं आउन मुजफ्पुरबाट करिब ३ सय ८५ किलोमिटर दुरी पार गर्नपर्छ। यो भारतीय बिजुली काठमाडौं ल्याउने सबैभन्दा छोटो बाटो हो।

यसअघि ढल्केबर हुँदै आएको बिजुली प्राधिकरणले हेटौंडासम्म ल्याएको थियो। ‘हेटौंडा आएपछि हामीले काठमाडौंसम्मै आएजस्तो मानेका थियौं,’ अधिकारीले भने, ‘किनकी भारतीय बिजुली हेटौंडा आउँदा हामीले काठमाडौंबाट हेटौंडा बिजुली पठाउनु पर्दैनथ्यो।’ प्राधिकरणले आगामी फेब्रुअरी १ देखि भारतबाट थप १ सय २० मेगावाट बिजुली खरिद गर्ने सम्झौता गरेको छ। ‘हाम्रा आयोजनाबाट कम बिजुली उत्पादन भएमा राजधानीमा लोडसेडिङ हुन नदिन भारतबाट आएको ९० मेगावाट जति बिजुली राजधानी ल्याउने योजना छ’, अधिकारीले भने।

खिम्ती– ढल्केबर प्रसारण लाइन बनेसँगै यो एकातिर राजधानी र तराईबीच बिजुली आवातजावतको बैकल्पिक बाटो बनेको र अर्कातिर वर्षामा बढी भएको बिजुली भारत पठाउने बाटो खुलेको अधिकारीले बताए।

‘हामीले भारतसँग सप्लाई बैंकिङको कुरा गरिरहेका छौं’, अधिकारीले भने, ‘यो प्रसारणलाइनबाट हामी पछि तामाकोशी लगायत त्यो क्षेत्रका आयोजनाबाट बर्खामा धेरै भएको बिजुली भारतमा लैजान सक्छौं।’

उनले यो प्रसारण लाइन बनेपछि हेटौंडा–मातातिर्थ प्रसारण लाइनमा मात्र भर पर्नुपर्ने अवस्था हट्ने, प्रसारण हुने बिजुलीको गुणस्तर बढ्ने र भोल्टेज प्रणालीमा चुहावट नहुने बताए

LEAVE A REPLY