पाचौं पटक मन्त्रिमण्डल विस्तार अब ४३ सदस्यीय

0
252

काठमाडौं– राप्रपा र फोरम लोकतान्त्रिकलाई समेत सरकारमा सहभागि गराउने तयारी भएपनि तत्काल ती दलहरुले सरकारमा नजाने संकेत दिएपछि साना दलहरुलाई सहभागी गराएर प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार गरेका छन् । दुई साना दलबाट दुई मन्त्री थप गरी बिहिबार मन्त्रिपरिषद् बिस्तार गरेपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल ४३ सदस्यीय पुगेको छ ।

Advertisements

प्रधानमन्त्रीले बिहिबार समाजवादी पार्टीका प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका कुमार खड्कालाई मन्त्रिपरिषदमा सहभागी गराएका हुन् । सिंहले खानेपानी तथा सरसफाइ र खड्काले महिला बालबालिका तथा समाजकल्याण मन्त्रीका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका छन् ।

सिंह कालीकोटका समानुपातिक तर्फका सांसद हुन् भने खड्का पनि कास्कीका हुन् । उनी पनि समानुपातिक तर्फबाटै सांसद बनेका हुन् ।

प्रचण्डले पहिलोपटक आफ्नै पार्टीका कृष्णबहादुर महरा र नेपाली कांग्रसका विमलेन्द्र निधीलाई मन्त्रिपरिषद सदस्यमा समेटेका थिए ।

दोस्रो पटक माओवादीका तर्फबाट अरु मन्त्री थपेर सरकार विस्तार गरेका प्रधानमन्त्रीले तेस्रो पटक कांग्रेसबाट सरकारमा मन्त्री सहभागि गराएका थिए । त्यस्तै चौथो पटक कांग्रेसकै राज्यमन्त्रीहरु थपेका उनले पाचौ पटक साना दलका सांसदलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले राप्रपा र फोरम लोकतान्त्रिकलाई पनि सरकारमा आउन आह्वान गर्दै आएका थिए । तर ती दलहरुले तत्काल सरकारमा नजाने संकेत दिएपछि साना दलहरुलाई सहभागी गराएर प्रधानमन्त्रीले आफु प्रधानमन्त्री भएको झण्डै ६ महिनामा पाचौं पटक मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

संविधान संशोधन प्रस्तावमा सत्ता पक्ष र प्रतिपक्षबीच अंकगणितको खेल तीव्र भइरहँदा प्रधानमन्त्रीले साना दलका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेको चर्चा राजनीतिक बृतमा चलेको छ ।

श्रोतका अनुसार राप्रपा र लोकतान्त्रिक फोरम सरकारमा जान चाहे पनि रोजेको मन्त्रालय नपाउदा रोकिएको बताइएको छ ।

LEAVE A REPLY