अब अहि हप्ता भित्र निर्वाचन मिति घोषणा गर्ने सरकारको तयारी

0
244

काठमाडौं : प्रदेश चार र पाँचको सीमा हेरफेरसहित संसद्मा विचाराधीन संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचनलाई प्याकेजका रूपमा स्वीकार गरी अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको आग्रहलाई प्रमुख प्रतिपक्षी एमालेका नेता केपी शर्मा ओलीले फेरि अस्वीकार गरेका छन् ।

Advertisements

प्रधानमन्त्री दाहालले बालुवाटारमा शनिबार बोलाएको बैठकअघि गोप्य वार्ताका क्रममा ओलीले संविधान संशोधन विधेयक फिर्ता नगरेसम्म निर्वाचन घोषणा गर्ने निर्णयमा आफ्नो सहमति नहुने बताएपछि जटिलता बढेको छ । तीन दलका नेताहरू संयुक्त बैठकमा बस्नुअघि दाहालले ओलीसँग आधा घन्टा बालुवाटारमै वार्ता गरेका थिए ।

 

पाँच नम्बर प्रदेश विभाजन हुने गरी गरिने संविधान संशोधनमा सहमति नदिने अडान ओलीले व्यक्त गरेपछि बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक पनि संशोधनमा सहमति जुटाउन नसकी टुंगिएको हो ।

प्रधानमन्त्री दाहालले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी आगामी साता निर्वाचन मिति घोषणा गर्न दलहरूको सहमति जुटाउने कसरत गर्दै शनिबार आफ्नै निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

एमालेका नेताहरू आफ्नो पुरानो अडानबाट पछाडि नहटेपछि संशोधनका बारेमा बैठक बिनानिष्कर्ष टुंगिएको हो । ‘संविधान संशोधन विधेयकका बारेमा आआफ्ना अडान कायमै छन् । सरकारले संविधान संशोधनको प्रस्ताव फिर्ता नलिने बताएको छ भने एमालेले संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ’, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले  भने ।

एमाले उपाध्यक्ष भीम रावलले पनि संशोधन प्रस्तावका बारेमा सहमति जुट्न नसकेको बताए । ‘हामीले संशोधन प्रस्ताव फिर्ता लिनुस् वा स्थगित गर्नुस् भन्यांै’, रावलले सँग भने ।

मधेसकेन्द्रित दलले निर्वाचन मिति घोषणा गर्नुभन्दा पहिले संविधान संशोधन गरी आफ्ना माग सम्बोधन गरिनुपर्ने बताउँदै आएका छन् भने स्थानीय तहको सीमांकनमा नुवाकोटसहितका जिल्लामा आन्दोलन भइरहेको छ ।

स्थानीय तहको सिमानाका बारेमा भइरहेको आन्दोलनलाई कसरी सम्बोधन गर्ने भन्नेमा गत बिहीबारको मन्त्रिपरिषद्मा पनि छलफल भएको थियो ।

एमालेले संविधान संशोधनलाई भन्दा निर्वाचनलाई प्राथमिकता दिएको छ । श्रेष्ठका अनुसार निर्वाचनकेन्द्रित बैठकमा २०७४ मंसिरभित्र स्थानीय तह, प्रान्त र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्नेमा छलफल भएको थियो । संविधानअनुसार २०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन गरिसक्नुपर्नेछ ।

मधेसकेन्द्रित दलका नेताहरूले निर्वाचनलाई भन्दा संशोधनलाई प्राथमिकता दिएको अवस्थामा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताले पाँच दिनभित्रै निर्वाचन मिति घोषणा गर्लान् भन्नेमा आशंका जन्मिएको छ ।

‘चार दिनभित्र निर्वाचनसँग सम्बन्धित विधेयक संसद्बाट पारित गर्ने प्रक्रियामा अगाडि बढाउने, मधेसकेन्द्रित दलसँग सहमति जुटाउन छलफल गर्ने र पाँच दिनभित्रै निर्वाचन मिति घोषणा गर्ने गरी छलफल भएको छ’, श्रेष्ठले भने ।

उनका अनुसार प्रधानमन्त्री दाहालले मधेसकेन्द्रित दलका मागलाई सम्बोधन गर्न स्थानीय तहका प्रतिनिधिले राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभाका सदस्यका लागि मतदान गर्ने व्यवस्था हटाउन सकिन्छ कि भनेर प्रस्ताव राखेका थिए । तर प्रधानमन्त्री दाहालको यो प्रस्तावलाई एमालेले ठाडै अस्वीकार गरेको छ ।

‘यसमा अहिले निर्णय गर्न सकिँदैन’, एमालेका नेताहरूले भनेका थिए । रावलका अनुसार निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ ।

‘निर्वाचनका लागि शान्तिसुरक्षाको वातावरण बनाउनुपर्छ भन्नेमा पनि छलफल भएको छ’, रावलले भने ।

बैठकमा ओलीका साथमा एमाले नेता भीम रावल र सुवास नेम्बाङ पनि सहभागी थिए । कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि थिए । माओवादी केन्द्रका नेताहरू नारायणकाजी, रामबहादुर थापा, चक्रपाणि खनाल र पम्फा भुसाल सहभागी थिए । न्यायाधीश नियुक्ति प्रकरणमा भइरहेको आन्दोलनका बारेमा बैठकमा छलफल नै भएन ।अन्नपूर्ण

LEAVE A REPLY