के नयाँ शक्तिसँग एकताका लागि ढोको खोलेको हो त संघीय समाजवादी फोरम नेपालले???

0
231

काठमाडौं–संघीय समाजवादी फोरम नेपालले पार्टीको नीति, विचार र सिद्धान्त मिल्ने राजनीतिक दलहरुसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको छ ।
संघीयता, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण, प्रादेशिक स्वशासन र स्वायत्तताको प्राप्ति र उत्पीडित समुदायको लागि संघर्षरत दलहरु मिल्नुको विकल्प नरहेको निष्कर्ष निकाल्दै बैठकले विचार र सिद्धान्त मिल्ने दलहरुबीच एकीकरण गरेर अघि बढ्ने निर्णय गरेको हो ।
नयाँ शक्ति र फोरमवीच एकताको चर्चा भैरहदा फोरमको यस्तो निर्णय आएको हो ।

Advertisements

राजनीतिक समितिको यो निर्णयसँगै नीति र सिद्धान्त मिल्ने दलहरुसँग एकीकरण गर्ने बाटो खुला भएको छ ।
गत वर्ष मात्रै तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी नेपाल र खस समावेशी राष्ट्रिय पार्टीबीच एकीकरण भई संघीय समाजवादी फोरम नेपाल स्थापना भएको थियो ।

त्यसै गरी वैठकले संसद्मा प्रस्तुत संशोधन विधेयकलाई परिमार्जन नगरिए त्यसलाई यथास्थितिमा स्वीकार नगर्ने निर्णय गरेको छ ।
मधेशी मोर्चा–संघीय गठबन्धनले राखेको २६ बुँदे माग र मुद्दालाई विधेयकले बेवास्ता गरेको निष्कर्ष निकाल्दै फोरम नेपालले हाम्रो सहमतिका आधारमा परिमार्जन भएको खण्डमा मात्रै त्यसलाई स्वीकार गर्ने औपचारिक निर्णय गरेको हो ।

फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा सम्पन्न राजनीतिक समितिको बैठकले संसद्मा पेश गरिएको संशोधन विधेयकलाई अस्वीकार गर्दै राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन हुनेगरी परिमार्जनको माग गर्दै राष्ट्रिय राजनीतिको सवालमा विभिन्न निर्णयहरु गरेको छ ।
बैठकको निर्णय सुनाउँदै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने,– ‘संघीयता, समावेशीकता, समानुपातिक समावेशी र पहिचानको मुद्दाहरु सम्बोधन नगर्ने विधेयकलाई आन्दोलनरत पक्ष संघीय गठबन्धन र मधेशी मोर्चाको सहमतिका आधारमा संशोधन विधेयक परिमार्जन भए मात्र स्वीकार गर्न सकिनेछ ।’
यादवले जसका लागि संविधान संशोधन गर्न खोजिदैछ, उसैको माग, मुद्दा र सहमतिलाई सरकारले बेवास्ता गरेपछि परिमार्जन बिना संशोधन विधेयकको कुनै औचित्य नभएको बताए ।

मोर्चा–गठबन्धनलाई बिस्तार गरी सशक्त बनाउने
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनलाई झन् सशक्त बनाउन बिस्तार गर्ने फोरम नेपालले निर्णय गरेको छ ।
यथास्थिति र प्रतिगमनका विरुद्ध संघीयता र पहिचान पक्षधर क्रान्तिकारी शक्तिहरु एक ठाउँमा उभिनु पर्ने निष्कर्ष निकाल्दै राजनीतिक समितिको बैठकले मुद्दा मिल्ने दल वा संगठनसँग सहकार्य, मोर्चाबन्दी र कार्यगत एकता गरी अघि बढ्ने निर्णय गरेको हो ।
ऐतिहासिक जनान्दोलन, सशस्त्र विद्रोह र मधेश जनविद्रोहबाट जनताले प्राप्त गरेका उपलब्धि र अधिकार गुम्ने तथा मुलुकमा प्रतिगमनको खतरा देखिएकोले प्रतिगमनकारीलाई परास्त गर्न प्रतिगमन विरोधी परिवर्तनका पक्षधर संघर्षरत शक्तिहरुलाई सहकार्य गरी अघि बढ्न फोरम नेपालले आह्वान गरेको छ

LEAVE A REPLY