वित्तीय संस्थाले घरजग्गामा ऋण दिन नसक्ने अवस्था आएपछी घरजग्गा कारोबार घट्ने देखिए को छ

0
237

काठमाडौंः बैंक तथा वित्तीय संस्थाले घरजग्गामा ऋण दिन नसक्ने अवस्था आएको छ । बैंकमा लगानीयोग्य पुँजी ‘क्रेडिट क्रन्च’ रितिएपछि बैंकले कर्जा दिनेभन्दा पनि ऋण असुलीलाई प्राथमिकता दिने भएका छन् । यसबाट घरजग्गाको कारोबार घट्ने निश्चित भएको छ । लगानीयोग्य रकम सकिएपछि उच्च ब्याजदर ‘अफर’ गर्दा पनि निक्षेप नबढ्दा बैंक तथा वित्तीय संस्था ऋण असुलीतर्फ केन्द्रित भएका हुन् ।

Advertisements

बैंकहरूले घरजग्गामा लगानी नगरे कारोबारमा सिथिलता आउने सरोकारवालाले बताएका छन् । बैंकको सस्तो ब्याजमा कर्जा लिएर घरजग्गा खरिदबिक्रीमा लागेका यस्ता कारोबारीलाई बैंकले ऋण दिन नसक्ने भएपछि व्यवसाय ओरालो लाग्ने देखिएको हो । बैंकमा अब थप लगानी गर्न नसक्ने बताइसकेका छन् ।

बैंकको लगानी नथपिने र लिएको कर्जासमेत चर्को ब्याज तिर्नुपर्ने भएपछि यसको प्रत्यक्ष असर घरजग्गाको कारोबारमा पर्ने देखिएको हो । बढ्दो मूल्य र चर्को ब्याज तिरेर लगानी गर्न नसक्ने भएपछि जग्गाको कारोबार घट्ने भएको हो । रियल स्टेट र सेयर बजार भनेका कनेक्टिभिटी साइकल हुन् । यो बजारमा उतारचढाब आइनै रहन्छ । त्यसैले यो बजारलाई जोखिमपूर्ण मानिन्छ ।

अर्थ विज्ञ डा.शंकर शर्माले घरजग्गामा बैंकले ऋण उपलब्ध गराउन नसक्ने भएपछि घरजग्ग्गाको कारोबार र मूल्य घट्ने बताए । ‘ऋण नपाएपछि कारोबार कम हुन्छ,’ उनले भने, ‘लगानी नभएपछि कारोबार घट्ने नै भयो ।’ राष्ट्रबैंकले पनि घरजग्गाको कारोबारमा कडाइ गर्ने संकेत गरिसकेको छ ।

राष्ट्रबैंकले घरजग्गाको लगानीलाई अनुत्पादक र जोखिम भनिसकेको छ । बजार सँधै उकालोमात्र नलागेर निश्चित विन्दु पारगरेपछि ओरालो लाग्ने प्रवृत्तिका कारण पनि अबको केही समयमा घरजग्गा कारोबार घट्ने अनुमान विज्ञहरूले गरेका छन् । अब विस्तारै बैंकले तरलता अभाव भएको भन्दै पुरानो कर्जामा समेत बैंकहरूले ब्याज बढाउन थाल्नेछन् ।

अहिले बैंकले कर्जामा १५ देखि १६ प्रतिशतसम्म ब्याज लिन थालिसकेका छन् । नयाँ कर्जा दिएर कारोबार गर्न सकिने अवस्था छैन । अहिले बढी नाफा कमाउने सजिलो माध्यमका रूपमा घरजग्गालाई लिइएको थियो । तर, बैंकको ब्याज महँगो भएपछि घरजग्गामा लगानी गर्न कर्जा लिएर फाइदा हुँदैन । अर्थ विज्ञ रामेश्वर खनालले बैंकबाट ऋण लिएर घर किन्ने अनि भाडा उठाएर तिर्ने अवस्था अब नरहेको बताए ।

‘भाडाबाट लगानी उठ्न सक्दैन’,उनले भने,‘ अहिले घरजग्गा खरिदबिक्रीमा ‘फस्ट वायरभन्दा सेकेन्ड वायर’ को उपस्थिति बढी देखिएको छ । यस्ता वायरको मुख्य उद्देश्य मौका छोपेर बढीभन्दा नाफा कमाउनु हो । घरजग्गा तथा सेयर कारोबारजस्ता स्पेकुलेसन मार्केटबाट छोटो समयमै बढी नाफा कमाउन सकिने भएकाले पनि दोस्रो वायर आकर्षित भएका हुन् ।

कारोबारको प्रकृति हेर्दा उपभोक्ता आफैंले आफ्नो पुँजीबाट आफ्नै लागि घरजग्गा खरिदबिक्री गर्नुभन्दा पनि बैना टु बैना ‘डेरिभेटिभ’ को कारोबार भइरहेको छ । मालपोत कार्यालयमा रजिस्ट्रेसन पास भएको तथ्यांकले यही देखाउँछ । बजारमा घरजग्गाको चर्चा र भाउको उतारचढाव जस्तो छ त्यस अनुपातमा किनबेच भएको छैन । मालमोत कार्यालयका कर्मचारीका अनुसार किनबेच सामान्य छ तर जग्गाको मूल्य भने बढेको पक्कै हो । बजार डेरिभेटिभ मार्केटले उचालिरहेको छ ।

बैंकमा अब लगानीयोग्य पुँजी रित्तिएपछि बैंकले ऋण तिर्न तोकेता गर्न थाल्छ नभए पनि ब्याज बढाउँछ । यस्तो अवस्थामा घाटामै भए पनि घरजग्गा बिक्री गर्नुपर्ने वाध्यता हुन्छ । आफ्नै पुँजीले खरिद गर्नेले घाटा खाएर बिक्री नगरे पनि बैंकबाट ऋण लिएर बिक्री गर्नेले भने किनेभन्दा सस्तो मूल्यमा पनि बिक्री गर्नुपर्ने बाध्यता हुन्छ ।

महँगो लिएर सस्तोमा बिक्रीगर्दा पछि लगानीकर्ता टाट पल्टन सक्ने अवस्था हुन्छ । यस्तो स्पेकुलेसन क्षेत्रमा ‘डोमिनल सेट’ मा एकपछि अर्कोलाई तान्ने प्रवृति हुन्छ । यसको असर बैंक तथा वित्तीय संस्थामा पनि पर्न जान्छ । लिबरेज बैंकिङ प्रणाली सुरु भएपछि अन्य बैंक पनि समस्यामा पर्नेछन् ।

बैंकले ऋण दिएकाले अहिले घरजग्गाको कारोबार र भाउ दुवै बढेको छ । राष्ट्र बैंकले बैंकहरूको खराब कर्जा बढ्न सक्ने संकेत गरिसकेको छ । अब बैंकहरूले तरलताको अभाव नभए पनि घरजग्गामा कारोबार गर्ने छैनन् । यसले घरजग्गाको कारोबार घट्न मद्दत गर्छ ।

संकट आउन सक्ने कारण

.बैंक तथा वित्तीय संस्थाले कर्जा नदिँदा खरिदकर्ता कम हुनु ।
.कारोबारी आफैंले लगानी गर्न नसक्नु ।
. ब्याजदर बढ्दा नाफा घट्नु ।
.लगानी खुम्चिँदै जाँदा स्पेकुलेसन मार्केटमा घाटा हुनु
.अनुत्पादक क्षेत्रको लगानीले जोखिम बढ्नु
.लगानीका अन्य अवसर सिर्जना हुँदै जानु ।

यदि घरजग्गा खरिदकर्ताले आफ्नै पुँजीबाट खरिद गरेका छन् भने क्राइसिस नआउने खनालले बताए । सन् १८६० मा सिकागोका घरजग्गाको कारोबार यसरीनै बढेको थियो र पछि ओर्लियो । तर, त्यहाँ खरिदकर्ता आफैंले लगानी गरेकाले आफैंमात्र डुबे । अर्थतन्त्रमा त्यति असर परेन ।

तर, नेपाल अवस्था त्यस्तो छैन । रियल स्टेट कर्जामा आधारित खरिदबिक्री भएको छ । सेयर र उपभोग्य वस्तुमा गरिएको लगानीले समस्या निम्त्याउँछ । राष्ट्र बैंकले घरजग्गालगायत अनुत्पादक क्षेत्रमा भएको कर्जाले क्राइसिस आउन सक्ने संकेत गरिसकेको छ ।

हामी जस्तो सानो अर्थतन्त्र भएको देशमा जलविद्युत्, रासायनिक मल कारखानालगायत उत्पादनमूलक क्षेत्रमा लगानी भए मात्र दिगो आर्थिक विकास सम्भव हुन्छ । चार÷पाँच अर्बको लगानी भयो भने हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देशको अर्थतन्त्रको आकार वृद्धि गर्न सहयोग पुर्‍याउँछ र यस्तो अवस्थामा राष्ट्र बैंकले गरेको यो अनुमान उल्टिन पनि सक्छ ।

अहिले रेमिटेन्स वृद्धिदर घट्दै गएको छ । रेमिटेन्सकै कारण उपभोक्तालाई कर्जा दिने क्षमता पनि घटेको हो । उपभोक्ताले रेमिटेन्स पनि बैंकमा नै लगेर राख्ने हुन् । यो घटेका कारणले पनि क्राइसिस आउन सक्ने सम्भावना बढी छ ।

केही महिना अघिसम्म अधिक तरलताले थिचिएका बैंकले राज्यको प्राथमिकताको ख्यालै नगरी अन्धाधुन्दा लगानी गरेका छन् । पुँजी बढाउने एकोहोरो धुनमा लगानी गर्दा कुन कर्जा अनुत्पादक हो या कुन होइन भन्नेतिर बैंकको ध्यान केन्द्रित हुन सकेन । उनीहरूको एउटैमात्र निशाना भयो राष्ट्र बैंकले निर्धारण गरेको पुँजी वृद्धि गर्न लगानी बढाइ नाफा गर्ने ।

यसैको फलस्वरुप अहिले बैंकमा लगानी गर्ने पुँजी अभाव भएको हो । बैंकले १४ प्रतिशतसम्म ब्याज लिएर लगानी गर्न थालिसकेका छन् । धेरै ब्याजदरमा कर्जा लिएर लगानी गर्न व्यवसायीलाई सहज छैन । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल १४ प्रतिशतभन्दा कम ब्याजमा अब लगानी गर्न सक्ने अवस्था नभएको बताउँछन् । उनले भने,‘लगानी गर्ने रकम बैंकहरूसँग छैन, कम ब्याजमा कर्जा दिन सकिदैन ।स्रोत्:अन्नपुर्ण

LEAVE A REPLY