महानगरमै बेथिति : भवन निर्माण सम्पन्न प्रमाणपत्र गायब

0
353

काठमाडौः भवन निर्माण सम्पन्न प्रमाणपत्रमा स्थलगत निरीक्षकको नक्कली हस्ताक्षर प्रयोग भएको घटना अनुसन्धान क्रममा काठमाडौं महानगरपालिकाबाट फाइल नै गायब पारिएको पाइएको छ । त्रिपुरेश्वरमा सुनिलराम वैद्यसहित चारजनाको नाममा बनेको पाँचतले भवन निर्माण सम्पन्न प्रमाणपत्रमा महानगरकै एक इन्जिनियरको नक्कली हस्ताक्षर प्रयोग भएको थियो ।
इन्जिनियरले आफ्नो नक्कली हस्ताक्षर प्रयोग भएपछि त्यसको परीक्षण गर्न चुनौती दिएका छन् । मंगलबार घटनाबारे थाहा पाएपछि कार्यकारी प्रमुख रुद्रसिंह तामाङले घरजग्गाको नक्सा विभागका प्रमुख रवीन्द्र पौडेललाई फाइल खोज्न निर्देशन दिएका थिए ।
पौडेलले फाइल खोजे पनि गायब भएको थाहा पाएपछि उनी झस्किएका छन् । इन्जिनियरको नक्कली हस्ताक्षर मिलाउन नक्सा विभागकै उच्च अधिकारी र नक्साको वारेसनामामा काम गर्ने दलालहरूको मिलेमतो हुन सक्ने आशंका गरिएको छ ।
भवन निर्माण सम्पन्न प्रमाणपत्र नम्बर ३८६६ रहे पनि महानगरपालिकामा भने दर्ता नम्बर मात्रै सुरक्षित छ । अन्य कागजात सबै गायब पारिएको छ । ‘दर्ता नम्बर देखियो । तर प्रमाणपत्र बुझेर लगेको र अन्य फाइल गायब गरिएको छ, तिनको खोजी गर्छौं, अब झन् किर्ते काम गरेको आशंका बढेको छ’, नक्सा विभागका प्रमुख पौडेलले भने, ‘प्रत्येक घरको नक्साजाँच र भवन निर्माणमा कर्मचारी खटाएर रुजु गर्नु सम्भव पनि छैन ।’
त्रिपुरेश्वरस्थित टुकुचा नदीसँगै टाँसिएर बनाइएको उक्त भवन बनाउन पाँच तलाको स्वीकृति लिइएको थियो । तर अहिले उक्त भवन साततले बनाइएको छ । भवन निर्माण प्रमाणपत्रअनुसार नदीकिनार भए दुई दशमलव ५० मिटर छाड्नुपर्ने उल्लेख गरिए पनि भवन बनाउँदा त्यसलाई घरधनीले टुकुचा नदीसँगै टँसाएका छन् ।
भवन निर्माण सम्पन्न प्रमाणपत्र नम्बर ३८६६ रहे पनि महानगरपालिकामा भने दर्ता नम्बर मात्रै सुरक्षित छ । अन्य कागजात सबै गायब पारिएको छ ।
२०७३ जेठ २६ गते उक्त भवन निर्माण सम्पन्न प्रमाणपत्र स्वीकृत भएको थियो । प्रमाणपत्रका हस्ताक्षरकर्तामध्येका गम्भीरलाल श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएपछि अहिले निलम्बनमा छन् । उक्त भवनको नक्सापास भने २०६५ मंसिर २२ गते भएको थियो । ‘यहाँ कर्मचारी र वारेस मिलेर नक्सापास एवं भवन निर्माणको सक्कली फाइल चिया पसलमा पुर्‍याएर समेत घरधनीसँग बार्गेनिङ हुने गरेको छ’, नक्सा विभागका एक वारेसले भने, ‘कसैलाई मतलब छैन, बेथिति कहिले रोकिएला ? ‘
भवन निर्माण प्रमाणपत्र नै नक्कली बनाएर काम भइरहेको रहेछ भन्ने प्रश्नमा महानगरपालिकाका कार्यकारी प्रमुख तामाङले भने, ‘बर्बाद पारे हजुर । यहाँ त कर्मचारीलाई तह लाउनै नसकिने भयो, कसरी हुन्छ ? नाफामुखी काम मात्रै गर्ने भए । यसबारे म आवश्यक छानबिन गर्छु ।’ यसअघि ६ वटा भवन निर्माण प्रमाणपत्र नक्कली बनाइएको पाइएपछि घरधनी र अन्यलाई कारबाहीको दायरामा ल्याउन महानगरीय प्रहरी अपराध महाशाखामा पत्र पठाइए पनि त्यसको जबाफ नआएको तामाङले बताए ।
महानगरपालिकाले यसअघि गत वैशाखमा कलंकी निवासी सरिता बुढाथोकीलगायत अन्य ६ जनाको घर निर्माण सम्पन्न प्रमाणपत्र नक्कली रहेको आशंकामा अनुसन्धान गर्न प्रहरीलाई पत्र लेखेको थियो । बुढाथोकीको हकमा बनाइएको पत्रमा ‘महानगरपालिकाको वडा नं १४ स्थित कित्ता नं ७७ मा बनेको भवनको भवन निर्माण सम्पन्न प्रमाणपत्र नक्कली भएको आशंका छ । घरधनी र संलग्न व्यक्तिलाई अनुसन्धान गरी कारबाही गर्नू’ भन्ने बेहोरा उल्लेख गरिएको थियो ।
‘यी दुई घटना नमुना मात्र हुन्, धेरैका नक्सा र भवन निर्माण प्रमाणपत्रका फाइल गायब पारिएका छन्’, महानगरपालिकका एक उच्च अधिकृतले भने, ‘तिनको अनुसन्धान अझै हुन सकेको छैन । कर्मचारी को र दलाल को हो ठम्याउनै गाह्रो छ ।’

LEAVE A REPLY