ग्यासको मूल्य बढ्यो

0
237

काठमाडौं( अन्तर्रा्ष्ट्रिय बजारभाउ बढेसँगै नेपाली बजारमा खाना पकाउने ग्यासको मूल्य बढेको छ। नेपाल आयल निगमले एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ भाउ बढाएको हो।

Advertisements

ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार तीन सय ५० पुगेको निगमका प्रवक्ता भानुभक्त खनालले बताए। ’आइओसीबाट मूल्य वृद्धिभएर आएपछि ग्यासको मूल्य बढाउनुपरेको हो,’ प्रवक्ता खनालले भने, ’२५ रुपैयाँ बढाउँदा पनि निगमलाई सिलिन्डरमा अझै एक सय ६२ रुपैयाँ घाटा छ।’

यसअघि ग्यास सिलिन्डर एक हजार तीन सय २५ रुपैयाँमा बिक्री हुँदै आएको थियो। वृद्धि भएको मूल्य बुधबार राति १२ बजेबाट कार्यान्वयनमा आएको छ। अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको निगमले जनाएको छ। निगमले गत पुस पहिलो साता पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ ५० पैसाको दरले मूल्य बढाएको थियो। अहिले पेट्रोल प्रतिलिटर एक सय एक रुपैयाँ ५० पैसा, डिजेल ७७ रुपैयाँ ५० पैसा, मट्टीतेल ७७ रुपैयाँ ५० पैसा, हवाई इन्धन आन्तरिकतर्फ ८६ रुपैयाँ पर्छ। गत कात्तिकमा चाडबाडलाई लक्षित गरेर निगमले ग्यास एक हजार तीन सय ७५ बाट ५० रुपैयाँ मूल्य घटाएर एक हजार तीन सय २५ रुपैयाँमा झारेको थियो।

निगमले ग्यासमा ’स्वचालित मूल्य प्रणाली’ लागू गर्ने जनाएको छ। ग्यासमा निगमले विगतलामो समयदेखि घाटा बेहोरेर बिक्री गर्दै आएको छ। ग्यासमा आपूर्ति र वितरण प्रणाली व्यवस्थित गर्न संसदीय अध्ययन तथा सुझाव समितिले स्वचालित मूल्य प्रणाली कायम गर्न यसअघि नै सुझाव दिएको थियो ।
पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टीतेल)मा स्वचालित मूल्य प्रणालीमा जाने घोषणा गरेको निगमले आफू अनुकूल मूल्य समायोजन गर्दै आएको थियो। भारतले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी सोही अनुरुपको मूल्य सूची नेपालमा पठाउँछ।

LEAVE A REPLY