नेपालमा क्यान्सरका कारण प्रत्येक वर्ष १५ हजारले ज्यान गुमाउने

0
251

नेपालमा क्यान्सर रोगका कारण प्रत्येक वर्ष करिब १५ हजार मानिसको मृत्यु हुने गरेको छ । विश्व क्यान्सर दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा चिकित्सकहरूले पछिल्लो समय नेपालमा क्यान्सर रोगीको संख्या बढ्दै गएको बताएका हुन् । ‘हामीले गर्न सक्छौँ, मैले गर्न सक्छु’ भन्ने नाराका साथ नेपालमा क्यान्सर दिवस मनाइएको छ ।

Advertisements

चिकित्सकहरूले सुर्तीजन्य पदार्थको बिक्री–वितरणलाई नेपालमा बन्देज लगाउन सके ५० प्रतिशत क्यान्सर रोगका बिरामी घट्ने बताएका छन् । उनीहरूका अनुसार शारीरिक व्यायामको कमी, धेरै मासुको प्रयोग, वंशाणुगत गुणका कारण पनि क्यान्सर लाग्ने गरेको छ । स्वच्छ, ताजा र औषधिरहित खानेकुरामा जोड दिएको अवस्थामा क्यान्सरलाई न्यून गर्न सक्ने क्यान्सर विशेषज्ञ डा. सरिता घिमिरेको भनाइ छ ।

क्यान्सर रोग भएका बिरामीको उपचार प्रविधि केमोथेरापी तथा रेडियोथेरापी भएको डा. घिमिरे बताउँछिन् । ‘रासायनिक समिश्रणलाई तयार पारेर बनाइएको औषधिले बिरामीको मुख तथा नसामार्फत क्यान्सरको कोषिका नष्ट गरिन्छ,’ घिमिरेले भनिन्, ‘यसबाट उत्पन्न पीडालाई कम गर्ने उपचार विधि नै केमोथेरापी हो ।’

क्यान्सर रोग जटिल र महँगो भएकाले सर्वसाधारणले उपचार गर्न निकै कठिन हुने गरेको छ । क्यान्सर रोग लागेपछि उपचारमा १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्छ, त्यो सर्वसाधारणका लागि धेरै ठूलो रकम हो । वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईं प्रारम्भिक चरणको क्यान्सर रोग भए दुई लाख रुपैयाँमा आवश्यक उपचार हुने बताउँछिन् । उनले आवश्यक जनचेतनाको कमीकै कारण क्यान्सरका बिरामी बढिरहेका बताइन् ।

सरकारी अस्पतालको तथ्यांकअनुसार प्रतिवर्ष १० हजार नयाँ रोगी पत्ता लाग्ने गरेका छन् । सरकारी अस्पतालहरूका एक हजार क्यान्सर बिरामीको परीक्षणमा आमाशयको क्यान्सर ६ प्रतिशत, स्तन क्यान्सर ७ प्रतिशत, फोक्सोको क्यान्सर १३ प्रतिशत र पाठेघरको मुखको क्यान्सर १० प्रतिशत रहेको छ ।

LEAVE A REPLY