नदी

0
259

युवा कवि:दुर्गा प्रसाद पोख्रेल

Advertisements

 

 

 

 

 

पिता-प्रेम-गंगा-नदीबाट आएँ
म आमा-नदीमा झरी चल्बलाएँ।
यहाँ जिन्दगानी नदी खोपिदिन्छु
नदीमै म आफ्नू कथा रोपिदिन्छु॥

नदी डुल्छ मेरो धरामाझ खास
नदी फुल्छ मेरा गरामा गुराँस।
म बाँचू र मेरै नदी कल्कलाऊँ
म हाँसू र मेरै नदीमा हराऊँ॥

नदीको कथामा म आस्था नुहाऊँ
नदीको व्यथामा म आँसु चुहाऊँ।
ममा सिर्जनाको नदी छोप्न पाऊँ
यहीं भावनाको नदी रोप्न पाऊँ॥

ममा ढुक्ढुकीमा नदीनै नदी छ
खसोखास मेरो पियारो नदी छ।
ममा चिन्तनाको नदी एक बग्छ
नदी चाहनाभित्र आलेख बन्छ॥

ममा शब्दका निर्झरी छन् अनेक
म अभ्यास-खोला मडारिन्छु एक।
ममा काव्यको उत्पलै खिल्नुपर्छ
म चाहन्छु सेतो नदी मिल्नुपर्छ॥

नदी नै नदी छन् जहाँ भाव खुल्छ
नदी विर्सनेले सबै भाव भुल्छ।
नदी हो जवानी नदी हो कहानी
नदी नै म ठाँनू सही जिन्दगानी॥

न स्वार्थी भडाईं नदीको छ फन्को
न कुर्सी लडाईं चलेको छ यिन्को।
नदीको कुनै द्वैतभाषा हुँदैन
नदीको कुनै धूर्तआशा हुँदैन॥

नदी चर्च, मस्जिद्, कुनै चैत्य हुन्न
नदीभित्र अर्को कुनै दैत्त्य हुन्न ।
नदीभित्र मान्छे गई पाप धुन्छ
जहाँ पापको नै सहीछाप हुन्छ॥

LEAVE A REPLY