प्रमुख दलहरु फागुन ८ गतेभित्र स्थानीय तहको चुनाव घोषणा गर्न सहमत:चुनाव वैशाख अन्तिम साता वा जेठ १ भित्र हुने

0
250

२८ माघ, काठमाडौं । प्रमुख दलहरु फागुन ८ गतेभित्र स्थानीय तहको चुनाव घोषणा गर्न सहमत भएका छन् । सहमतिअनुसार पहिलो चरणको स्थानीय चुनाव वैशाख अन्तिम साता वा जेठ १ भित्र हुनेछ ।निर्वाचन आयोगले पनि फागुन ८ गतेभित्र सबै ऐन कानुनका साथै स्थानीय तह पुनर्संरचना प्रतिवेदन दिए मात्रै जेठमा चुनाव गर्न सकिने बताएको छ ।स्रोतहरुका अनुसार सरकारले अब फागुन ७ वा ८ गते नै चुनावको मिति घोषणा गर्नेछ ।

Advertisements

चुनावको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बिहान प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशको हात्तिवनस्थित निवासमा भएको बैठकमा एमाले उपाध्यक्ष भीम रावल पनि सहभागी थिए ।

एमाले र माओवादी शीर्ष नेताहरुको बैठकअघि माओवादी नेता श्रेष्ठले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा कुराकानी गरेका थिए ।माओवादी नेता श्रेष्ठ भन्छन्, ‘म आशावादी छु कि ८ गतेभित्र स्थानीय तहको चुनाव घोषणा हुन्छ र स्थानीय तहको प्रतिवेदन फाइनल गरेर आयोगलाई बुझाइन्छ ।’

निर्वाचन आयोगले स्थानीय तहको चुनाव कम्तिमा दुई चरणमा गर्नुपर्ने बताएको छ । त्यस आधारमा वैशाख २९ वा जेठ १ गते पहिलो चरणको चुनाव गर्ने तयारी छ ।प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेबरहादुर देउवाले मधेसी मोर्चालाई संविधान संशोधन प्रक्रिया टुंगोमा पुगेपछि मात्र चुनावको मिति घोषणा गर्ने बचन दिएका थिए ।तर, व्यवस्थापिका संसद बैठक फागुन १० गतेसम्मका लागि स्थगित भएको छ । र, आयोगले ८ गतेको म्याद दिएकाले संशोधन प्रक्रिया जारी रहँदा नै चुनावको मिति घोषणा गर्नुपर्ने बाध्यता आइपरेको नेताहरुले बताएका छन् ।

‘संविधान संशोधन प्रस्ताव टुंगो लगाएपछि मात्रै चुनावको मिति घोषणा गर्दा निर्वाचन आयोगले भ्याउँदैन भन्यो । त्यसलाई ध्यान दिएर घोषणा गर्न खोजिएको हो’ माओवादी नेता श्रेष्ठ भन्छन्, तर, संविधान संशोधन प्रस्ताव फिर्ता लिने वा छोडेको होइन ।’उनका अनुसार अरु पार्टीका साथै एमालेसँग पनि छलफल जारी राखिनेछ र मधेस केन्दि्रत दलहरुसँग छलफल गरेर संशोधन प्रक्रियालाई टुंगोमा पुर्‍याइनेछ ।

 

LEAVE A REPLY