नातीलाई उद्धार गर्न अनुरोध गर्न पुगेका हजुरबुबालाई म्यानपावरले खुकुरी नचायो

0
265

माघ २८, २०७३- ७३ बर्ष नाघेका लुभु–३, ललितपुरका रामकृष्ण खत्री प्रधानमन्त्री कार्यालयमा भेटिए । उनीसँगै थिए ७२ वर्षिय श्रीमती सानुकान्छी खत्री, छोरी अनिता र छोरा राधाकृष्ण खत्री । लठ्ठी टेक्दै पुगेका खत्री आफ्ना पीडा सुनाउन प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए ।

Advertisements

प्रधानमन्त्री पुष्पकमल दाहाल कार्यालयमा थिएनन् । प्रधानमन्त्री दाहालका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषिराज अधिकारीसमक्ष आँशु झर्न पुगे । ‘बाबु, मेरो नाती अमित केसीलाई उद्धार गर्नुपर्‍यो । कहीँ कतै हाम्रो सुनुवाई भएन । म्यानपावरमा पुग्दा खुकुरी देखाएर लखट्यो । वैदेशिक रोजगार विभागलाई म्यानपावरले टेर्दैन,’ रामकृष्णले भन्न थाले, ‘अब हामी कहाँ जाऊँ ?’

उनका नाती अमितलाई फेसिलिटी म्यानपावर (लाइसेन्स नम्बर २७६)ले गत साउनको पहिलो हप्ता साउदीको जेद्दास्थित आएद अल–बकमी इस्ट जनरल कन्ट्रक्टिङ कम्पनीमा पठाएको थियो । म्यानपावरलाई एक लाख रुपैयाँ बुझाएका थिए । ‘नाती दिनहुँ रुँदै फोन गर्छ । मेरो जिन्दगी यतै बित्ने भो भन्छ । खान दिँदैन । तलब दिने गरेको छैन भन्छ,’ उनले बेलिबिस्तार लगाए, ‘त्यतिकै मन थामिएर बस्न सकिनँ । उसलाई नेपाल झिकाउन साउनदेखि नै म्यानपावर धाएको धाई गरे । पहिला हुन्छ निकाल्छु भन्थ्यो । अहिले ढोका थुनेर हामी बुढाबुढीलाई खुकुरी नचायो ।’

म्यानपवारले खुकुरी देखाएर लखेटेपछि बृद्ध रामकृष्ण म्यानपावर गएनन् । ‘म्यानपावरले दसैंमा ल्याउछु भन्यो । ल्याएन । त्यसपछि दसैंपछि भन्यो । तिहारमा भन्यो । मंसिरमा भन्यो । उसले हामीलाई ढाँटिरह्यो मात्रै,’ उनले अधिकारीसमक्ष भने, ‘जसरी हुन्छ नातीको उद्धार गरिदिनुपर्‍यो ।’

अधिकारीले साउदीस्थित नेपाली दुतावाससँग समुन्वय गरी उद्धार गर्ने प्रतिबद्धता गरेपछि उनीहरु प्रधानमन्त्री कार्यालयबाट निस्किए । म्यानपावरसँग भएको सम्झौता अनुसार अमितले सेवासुविधा पाएको छैन । उनी जेद्दाको एबुकमा ट्ेरलर गाडी चलाउने गर्छन् । जेद्दा सहरबाट एकसय २० किलोमिटर टाढा पर्छ । ‘म कतारमा ट्ेरलर चलाउँथे । कतारको लाइसेन्स थियो । साउदीमा गाडी चलाए पनि लाइसेन्स दिएको छैन । लाइसेन्स बिना गाडी नचलाउँदा आएर पिट्छ,’ अमितले फोनमा भने, ‘गाडी बिग्रियो भने तलबबाटै काट्छ । गाडी नचलेको दिन सिमेन्ट बोक्न लगाउछ ।’

१८ सय रियल तलब पाउने सम्झौता भएपनि उनले १४ सय रियाल मात्रै पाएका छन् । ‘तीन महिनाको तलब दिएको छैन । एकसय किलोमिटर कुदाउदा ५० रियाल दिन्छु भन्थे । त्यो पनि दिदैन,’ उनले भने, ‘यहाँ ९ जना नेपाली थिए । ४ जना भागे । एकजनाको काम गर्दागर्दै मृत्यु भयो । आफ्नै भाइको शव लिएर अर्को नेपालमा आयो । हामी ३ जना यातना सहेर बसिरहेका छौं ।’

उनीसँगै रहेका झापाका राज कटुवाल र बिराटनगरका सोनाम राईले आफूहरु दयनिय अवस्थामा रहेका बताए । ‘कसरी निस्कने होला ? कही कतै फोन गरेको थाहा पाएमा मालिक आएर बेस्सरी धुलाई गर्छ । भारतीय कामदारलाई पनि त्यस्तै पिट्छ,’ कटुवालले भने ।

कामदार उद्धार नगर्ने फ्यासिलिटी म्यानपावारको कामकारबाही रोक्का गरिदिएको वैदेशिक रोजगार बिभागले जनाएको छ । ‘पीडित परिवारलाई न्याय दिलाउन म्यानपावरलाई समय दिएका थियौं । पटक पटक समय दिदाँ पनि उद्धार नभएपछि हामीले म्यानपावरलाई कारबाही गरेका छौं’, विभागका महानिर्देशक बिश्वराज पाण्डेले भने, ‘चार जना कामदारको उद्धार नभएसम्म म्यानपावरको काम रोकिन्छ ।’

LEAVE A REPLY