कविता- जनयुद्ध दिवसको पूर्वसन्ध्यामा

0
587

दिपक विश्वकर्मा /

प्रकाशित मिति: २०७३ साल फाल्गुन १ गते

Advertisements

आईतवार।

परिशिष्टि अनुच्छेद

मैले जब कलमको नीव
चोबल्ने गर्दछु मसीमा
लेखनीको शुरुवात गर्नु भन्दा पहिले
लेख्ने हो आजको कुरो
तर पनि तानाबानाहरू तानिएर आउँछन्
थेग्रिएर बसेका चाङ्ग लाग्दै
सुरबीर त्यसै कहाँ गायव भएको हो र ?
यो प्रश्न मात्र होइन
परिवेश समेत हो
कुलमानले होनहार छोरो अनाहक कहाँ गुमाएको हो र ?
यो इतिहासको एक अपरिहार्यता हो
सुनमति एकल हुनु
मैनाको काँचो रगतले
जर्नेलको पुरुषत्व विजित हुनु
एक कायर कथन मात्र कहाँ हो र ?
यो अनेकौ कथा, उपकथा
र किम्बदन्तीहरू संगै तानिएर आएको
अब लेखिने जिवीत इतिहासको
पहिलो अनुच्छेद पो हो ।

इतिहासले नचाहेकै हो
दाम चढाउँदै स्वस्ती गर्न प्रतिहारले
पिठ नफर्काएर उल्टा पाउ हिड्दै
फरियाद गर्न इन्कार गरेकै हो
जीजिविषा सम्हालेर बाँचेको एक भूइमान्छेले
मन्त्रणाको चौघेरा भित्र जीवित
कथित एक अलौकिक सिंहासन
यसका नंग्राहरूले रक्तमुच्छेद मान्छे
टाउको उठाएर आँखा जुधाउन थालेकै हो
सिङ्गो गाउँ
गाउँको बीचको एक आलिसान महल
चौरास्ता फैलिएको लहलाउँदो खेती
किनारामा लम्पसार परेका दुसाध चमारहरूको बस्ती
अर्धनग्न सन्तान, खाली भकारी
यी सबको इन्कलावी संवेग
आगोको सानो झिल्को बनेर
सल्किदैँ सल्किदैँ
महामहिमको खोजिमा साइत जुराइएकै हो
यद्यपि,
आगोको राप
रापिलो भएन वा
रापिलो भएपनि
सोला बन्न सकेन
यो इतिहासको दोस्रो अनुच्छेद हो ।

बेचन फर्किएन नि आजसम्म
जहान फरियाद गर्दै
मुल्लाहसंग गुहार लाउँछिन् कहिलेकाँही
जब शेखको आगनको गमलामा
हुर्किरहेका क्याप्टसमा
पानी पटाइरहेकी हुन्छिन् रमिलादेवी
नियाल्छिन् झाँझरको नल्की
झस्किन्छिन्, अत्तालिन्छिन्
पसिनाले लुछ्रुप्पै तनमन भिजाउँदै
संझेर बोकेर हिँडेको
आफै समानको लामो बन्दुक
क्यान्टोनमेन !
उनको उत्कण्ठ बास
सपनाको अन्तिम चिहान
अयोग्य हुनु पूर्वको एक प्रताडित ऐठन
हजारौं सहयात्रीहरुको रगत संग साटिएको
बाटो खर्च वापत
हात परेको गरुङ्गो किस्तावन्दीको चेक
यो पनि इतिहासको थप अनुच्छेद हो ।

किन हिडिँन घर छोडेर भावना
पाइला नपुग्दै रणमैदानमा ?
किन पठाए सन्तबीरले होनहार छोरो ?
मोर्चाको अग्रपङ्तीमा र
गुमाउन पुगे बचेका सन्तानहरू पनि
सन्तबीर आज पनि आगनको डिलमा बसेर
नियाली रहेका छन् गोरेटो
सादय फर्किला छोरो
फर्किएलिन छोरी
र मझेरी फेरी हराभरा होला
यो थप इतिहासको अनुच्छेद हो ।

रगत सेलाउन पाएन
वा सेलाएपनि जमेर जग बन्न सकेन
मैले कलम बिसाउन सक्ने
एक मझेरीको
सुमित्रा कहाँ हौ तिमी एक्ली बहिनी ?
अगलबगल संगै बसेका अमर तिम्रा भाइहरुकी
चुन्नु मेरी बहिनी !
बाबा संगै बसेर
कलेस साट्दै छौ सायद यतिवेला
तिमीले बोक्ने गरेको अजंगको भारी
चौतारोमा पुग्नै सकेन नि टेको लाग्न
चौतारो चिन्दाचिन्दै
हुर्किन नपाउँदै रोपिएको बर
ढल्यो वा ढलाइयो
यो इतिहासको परिशिष्टि अनुच्छेद हो ।

कलम !
अजय बन्न सकुन मेरा भाकाहरू
जो कोरिएका छन्
कोरस बन्दै तेरो नीबबाट
उदाउन नभुल घाम
उज्यालोको खाँचो पर्ने छ अझै
मार्चपास गर्दै गरेका राता मान्छेहरूलाई
बाटो देखाउन ।
२०७३ माघ २९
जनयुद्ध दिवसको पूर्वसन्ध्या

 

 

 

 

 

LEAVE A REPLY