नयाँ आदेश जारी गर्ने तयारीमा ट्रम्प

0
236

फाल्गुन १, २०७३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउनेसम्बन्धी नयाँ कार्यकारी आदेश जारी गर्ने तयारी गरेका छन् । एयरफोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार या मंगलबारसम्म नयाँ आदेश जारी गर्ने जनाएका हुन् ।

Advertisements

मुस्लिम बहुल ७ देशका नागरिक र विश्वभरका शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउनेसम्बन्धी कार्यकारी आदेश कार्यान्वयनमा अदालतले रोक लगाएपछि ट्रम्पले नयाँ आदेश जारी गर्न लागेका हुन् । ट्रम्पले नयाँ आदेशमा केही सामान्य परिवर्तन गरिने पनि बताएका छन् । तर, त्यसको स्वरूप कस्तो हुनेछ भन्ने विषयमा भने स्पष्ट भइसकेको छैन । ‘यो लडाइँ हामीले जित्नेछौं,’ ट्रम्पले पत्रकारहरूसँग भने, ‘यसले समय लिनेछ, यो नै दुर्भाग्य हो तर हामी लडाइँ जित्नेछौं, नयाँ आदेश जारी गर्नेलगायत हामीसँग अन्य थुप्रै विकल्प छन् ।’

बिहीबार अमेरिकी संघीय पुनरावेदन अदालतको तीन सदस्यीय इजलासले ट्रम्पको आदेश कार्यान्वयन नगर्न सियाटल अदालतले दिएको आदेश कायमै राख्ने निर्णय सुनाएको थियो । अदालतले आतंकवादको खतरा रोक्न प्रतिबन्ध लगाइएको भन्नेबारेमा सरकारले पुष्टि गर्न नसकेको जनाएको थियो । पुनरावेदन अदालतको निर्णयलगत्तै ट्रम्पले
ट्विट गर्दै आक्रोश व्यक्त गरेका थिए । उनले भनेका छन्, ‘देशको सुरक्षाको सवाल छ, अदालतमा भेटौंला ।’

जापानी प्रधानमन्त्रीसँग भेटवार्ता

राष्ट्रपति ट्रम्पले शुक्रबार जापानी प्रधानमन्त्री सिन्जो आबेसँग भेटवार्ता गरेका छन् । ह्वाइट हाउसमा भएको भेटवार्तापछि ट्रम्पले दुई देशबीचको गठबन्धन प्रशान्त क्षेत्रको शान्तिका लागि महत्त्वपूर्ण भएको बताए । जापानको सुरक्षाप्रति अमेरिका प्रतिबद्ध रहेको उनको भनाइ थियो । भेटमा जापानी प्रधानमन्त्री आबेले उत्तर कोरियाबाट परमाणु खतरा दुवै देशका लागि उच्च प्राथमिकता रहेको उल्लेख गरे ।

दुवै नेताले दुई देशबीचको व्यापार र आर्थिक सम्बन्ध सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड दिएका थिए । यसअघि ट्रम्पले जापानसँगको व्यापार घाटाको विषय उठाउँदै जापानको कार निर्माता कम्पनी टोयोटालाई थप कर तिर्न लगाउने चेतावनी दिएका थिए ।

आबेले दुई देशबीचको आर्थिक सम्बन्ध सुदृढबाट रोजगार बढ्ने र जापानको तीव्र गतिको रेल प्रविधिले अमेरिकाको आधारभूत संरचनालाई पुन: स्थापित गर्नेमा सहयोगी हुने पनि बताए । जापानी प्रधानमन्त्री आबे दुई दिनको भ्रमणमा अमेरिका पुगेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबे ह्वाइट हाउसमा भेटवार्ताका क्रममा हात मिलाउँदै ।कान्तिपूरबाट साभार

LEAVE A REPLY