सहमतिको विकल्प छैनः सभामुख

0
414

संविधान संशोधन विधेयकको विषयलाई लिएर एमालेसहितको प्रतिपक्षी मोर्चाले संसद बैठक निरन्तर अवरोध गर्दै आएको छ । संसदमा जारी गतिरोध अन्त्यको पहलस्वरूप सभामुख ओनसरी घर्तीले सोमबार बोलाएको सात दलको बैठक फलदायी भएन । यद्यपि दलहरूले सहमतिमा पुग्नका लागि वार्ता र संवादलाई निरन्तरता दिने समझदार बनाए । दलहरू सहमतिमा पुग्ने आधार के छ ? र, संसदको गतिरोधको अन्त्य कसरी हुन्छ ? प्रस्तुत छ, सभामुख ओनसरी घर्तीसँग संकल्प पोष्टले गरेको कुराकानीको सम्पादित अंश

Advertisements

गतिरोध अन्त्यका लागि बोलाइएको बैठकले पनि निचोड निकाल्न सकेन । त्यसमा जोसँग सत्तारुढ दलको असमझदारी थियो, त्यही पार्टी एमालेका अध्यक्ष केपी ओली आउनुभएन, उहाँको अनुपस्थितिलाई कसरी लिनुभएको छ ?

राजनीतिक दलको शीर्ष नेताहरूको विभिन्न कार्यव्यस्तता हुन्छ । त्यसैले यसलाई मैले स्वभाविक रूपमा लिएको छु । उहाँ नआए पनि आफ्ना दलका नेताहरूलाई पठाउनुभएको थियो । उहाँको तर्फबाट राख्ने कुराकानी, छलफल हुनुपर्ने विषयवस्तुहरू उहाँको तर्फबाट आफ्नै दलका नेताहरूले राख्नुभएको थियो । जो नेताहरूलाई पठाउनुभएको थियो उहाँले सरसल्लाह गरेरै पठाउनुभएको थियो र उहाँहरूले आफ्नो दलको तर्फबाट राख्नुपर्ने कुराहरू प्रयाप्तै राख्नुभयो ।

बैठकमा दलहरूले पुरानै अडान दोहो¥याएको सार्वजनिक भएको छ, वास्तविकता के हो ?

दुवै पक्षको आ–आफ्नो अडान छ तर अरू विकल्पमा पनि छलफल भएको छ । सबैले दुईपक्षीय, त्रिपक्षीय, बहुपक्षीय छलफल गर्छौं त्यसका लागि सभामुखले समय दिनुप¥यो र हामी निष्कर्षमा पुग्छौं भनेर कुरा राख्नुभएको छ । उहाँहरूको छलफल हुँदै गर्दा केही समय लाग्ने देखिन्छ । गतिरोध अन्त्य गर्न उहाँहरू बस्नुहुन्छ होला । पटक पटकको छलफलले पनि गतिरोध अन्त्य हुन त सकेन ।

कहिलसम्म टुंगिन्छ त ?

विगतमा हामीले निकै ठूला विवादमा पनि राजनीतिक दलहरूले एकै ठाउँमा पुगेर निर्णय गरेको कुरा देखेकाछौं । अवश्य पनि उहाँहरूकोबीचमा मतभिन्नता छ । मतभिन्नता भएपनि छलफल र बहसबाट नजिक ल्याउने हो । नजिक ल्याउने काम चाहिँ बारबार भइरहेको छ । रिजल्ट आउँदा अवश्य पनि नेपाली जनताको हितमा आउने छ ।

प्रतिपक्षी दलले संविधान संशोधनलाई थाती राखेर निर्वाचन कानुनलाई अघि बढाउने विकल्प अघि सारेको छ । त्यो संभावना छ कि छैन ?

उहाँहरूले विभिन्न विकल्पमा छलफल गर्नुभएको छ । तर निष्कर्षमा पुग्नुभएको छैन, मिल्नुको विकल्प छैन भन्ने कुरामा राजनीतिक दल एकमत हुनुहुन्छ । उहाँहरूले हाम्रोबीचमा छलफल बहस हुनुपर्छ भन्ने कुरा दोहो¥याउनुभएको छ । सहमतिमा पुग्नका लागि विभिन्न प्रकारका अप्सनहरूमा दुईपक्षीय र बहुपक्षीय छलफल गरियो भने कुनै न कुनै निष्कर्षमा हामी पुग्न सक्छौं र छलफलका लागि तयार हौँ भन्नेमा एकमत हुनुभयो ।

आ–आफ्नो अडानमा दलहरू यथावत रहँदा सहमति कसरी जुट्ला ?

निष्कर्षमा पुग्नका लागि अलकति ढिलाइ भएको कुरा सत्य हो । हामीसँग अहिले ढिलाइ गर्ने समय छैन । तैपनि राजनीतिक दलकोबीचमा छलफल बहस भइराख्दा अलिकति समय लगाएर राम्रो निष्कर्ष पर्खनु उचित हुन्छ भन्ने मलाई लाग्छ । त्यसैले उहाँहरूले हिजो पनि केही समय सरसल्लाह र छलफल गर्छौं भनेपछि मैले सहमति दिएँ । मैले सहमति हुन्छ भन्ने विश्वास गरेको छु । राजनीतिक दलहरूकोबीचमा नमिल्दो तर्क भएको छैन । उहाँहरू कसरी सहमतिमा पुग्ने भन्ने विकल्पको खोजीमा हुनुहुन्छ । उहाँहरू एकठाउँमा आउनुहुन्छ भन्ने आधार हामीले देख्न सक्छौं ।

दलहरू एक ठाउँमा उभिने आधार चाहिँ के हुन् ?

तीन तहको निर्वाचनमा दलहरूको एकै मत छ । छिटोभन्दा छिटो चुनाव घोषणा गर्ने र त्यसको लागि संसदमा भएको विधेकयलाई अगाडि बढाउनका लागि कसैले विमति राख्नुभएको छैन । यो नै ठूलो आधार हो, यसैको वरिपरी सबै कुराहरू मिल्नसक्छ । त्यसैले उहाँहरूले बारम्बार सहमतिका लागि संवाद जारी राख्नुभएको छ त्यसले जनतको हितमा र राष्ट्रको हितमा निष्कर्ष निकाल्छ ।

प्रधामन्त्रीले निर्वाचन र संविधान संशोधनमा विधेयकमा प्याकेजमा सहमति गर्ने प्रस्ताव गर्नुभएको रहेछ । प्याकेजमा सहमति संभव छ ?

यी विषयमा प्याकेजमा सहमति गर्न संवादलाई निरन्तरा दिनुपर्छ भन्ने विषयमा अघिल्लो बसाइदेखि नै छलफल भएको छ । स्वभाविक रूपमा प्रधामन्त्रीज्युले आफ्नो भनाइ राख्नेक्रममा यो प्रस्ताव गर्नुभयो । प्याकेजमा सहमति खोज्नका लागि दुईपक्षी, त्रिपक्षीय र बहुपक्षीय छलफल गर्ने निष्कर्ष राजनीतिक दलहरूले दिनुभयो ।

दलहरूलाई समय दिँदै जाँदा चैतमा गर्ने भनिएको स्थानीय तहको निर्वाचन पर सर्ने भयो हैन ?

निर्वाचन सर्ने कारण त मैल देख्दिँन । तर उहाँहरूले अब चाहिँ अलि छिटो छलफल गरेर निष्कपर्षमा पुग्नुपर्ने हुन्छ । ढिलाइ भइरहेको कुरा सबैलाई महसुस भएको छ । मैले निष्कर्षमा पुग्न दलहरूको ध्यानाकर्षण गराइरहेको छु । तीन तहको निर्वाचनका लागि २०७४ माघ ७ गतेभित्र जुन जिम्मेवारी लिएका छौं त्यसलाई पूरा गर्न पनि मैले दलहरूको ध्यानाकर्षण गराएको छु । दलहरू यसमा गम्भीर हुनुहुन्छ । निर्वाचनभन्दा अर्को ठूलो कार्यभार हामीसँग छैन । सबैपक्ष त्यसमा केन्द्रित हुनुभयो भने समयमै निर्वाचन संभव छ ।

संसद अवरोध हुँदा निर्वाचन कानुनसमेत पेश हुन सकेको छैन । कहिलेसम्ममा संसद खुल्छ ?
संसदमा जुन प्रकारको गतिरोध छ यो राम्रो कुरा होइन । संसदमा भइरहेको अवरोधका कारण जनताका कामहरू ठप्प भएका छन् । यस्तो अवस्था आउन दिनु हुँदैनथ्यो तर आयो । यसलाई चाँडो खुलाउनुपर्छ भन्नेतर्फ म केन्द्रित भइरहेको छु ।

दलहरूकोबीचमा पनि संसदमा जारी गतिरोध अन्त्य गर्नका लागि छलफल भइरहेको छ । गतिरोध अन्त्यका लागि मैले दलहरूलाई सकेसम्म संविधान संशोधन विधेयकको विषयमा सहमति जुटाउनुस् नभए प्रक्रियामा सहमति गर्नुस्, संसदभन्दा बाहिरबाट निर्णय हुनसक्दैन भनेको छु । संसदको गतिरोध अन्त्य गर्ने विधि यही हो, उहाँहरूले यसलाई स्वीकार गर्नुहुन्छ ।
म दलहरूको सहमतिबाटै सदन सञ्चालन गर्न प्रयत्नशील छु । सहमति जुटाएर सदनको गतिरोध अन्त्य गर्ने मेरो पहल सफल हुन्छ भन्नेमा म आशावादी छु ।

LEAVE A REPLY