दार्जिलिङबाट छुट्टियो कालिम्पोङअब पश्चिम बंगालको २१ औं जिल्ला

0
209

दार्जिलिङको महत्वपूर्ण सहर कालिम्पोङ अब छुट्टै जिल्ला भएको छ।भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले मंगलबार कालिम्पोङको मेला मैदानमा आयोजित एक समारोहमा कालिम्पोङ अलग जिल्ला भएको घोषणा गरिन्। अब कालिम्पोङ पश्चिम बंगालको २१ औं जिल्ला बनेको छ।

Advertisements

उक्त समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बेनर्जीले कालिम्पोङ क्षेत्रका जनताको प्रशासकीय सुगमताका लागि अलग जिल्ला बनाएको बताइन्।प्रशासनिक कामका लागि दार्जिलिङ सहरसम्म पुग्नुपर्ने झन्झटबाट अब कालिम्पोङबासीले मुक्ति पाएको उनको भनाइ छ।

‘पहाडमा रहेका थुप्रै समुदायहरू मिलेर विकासमा अघि बढ्नु आवश्यक छ,’ उनले भनिन्, ‘अझ राम्रो विकासका लागि कालिम्पोङलाई नयाँ जिल्ला बनाएकी हुँ।’

मुख्यमन्त्री बेनर्जीले कालिम्पोङका लागि करिब ३ सय करोड भारतीय रुपैयाँका विकास आयोजना पनि घोषणा गरिन्। जसमा सिक्किम जोड्ने सडक र खानेपानी आयोजना छन्।

सिक्किम जोड्ने सडकलाई २२० करोड र खानेपानीका लागि ५० करोड भारतीय रुपैयाँ छुट्याएको उनले बताइन्।

कालिम्पोङ सन् १७०० सम्म सिक्किमबाट शासित थियो। तर, १८औं शताब्दीको सुरुमा नै भुटानले जितेको थियो। १५२ वर्ष भुटानको शासनमा रहेको कालिम्पोङ ब्रिटिस-भुटान युद्धपछि ब्रिटिसको कब्जामा आयो। ब्रिटिस सरकारले यो भागलाई दार्जिलिङमा गाभ्यो। दार्जिलिङमा गाभिएको ठीक १५२ वर्षपछि कालिम्पोङ नयाँ जिल्ला बनेको हो।

बेनर्जीले एक दर्जन जति जातीय विकास बोर्ड पनि गठन गरेकी छन्। यी सबै बोर्डका केन्द्रीय कार्यालय पनि कालिम्पोङमा नै राखिएको छ।

नेपाली भाषी समुदायको बाहुल्य रहेको कालिम्पोङ दार्जिलिङ जिल्लाका महत्वपूर्ण तीन क्षेत्रमध्ये एक थियो। नयाँ जिल्लाको जनसंख्या करिब ५० हजार हुनेछ भने १०५६ वर्ग किलोमिटर क्षेत्रफल हुने छ।

सन् १९८६ मा भएको स्वतन्त्र गोर्खाल्याण्डका लागि भएको आन्दोलनमा कालिम्पोङ एक प्रमुख केन्द्र थियो। सन् २००८ देखि २०११ सम्म भएको दोस्रो गोर्खाल्याण्ड आन्दोलनमा पनि कालिम्पोङ एउटा केन्द्र थियो।

त्यसैले कतिपयले बेनर्जीको यो कदमलाई पहाडमा कलकत्ताको शासन बलियो बनाउने र गोर्खाल्याण्डको सम्भावना कमजोर बनाउने अस्त्रका रूपमा लिएका छन्।

पछिल्लो आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हर्कबहादुर क्षेत्रीले कालिम्पोङलाई अलग जिल्ला बनाउन अभियान चलाइरहेका थिए। क्षेत्री पश्चिम बंगाल विधानसभाका सदस्यसमेत रहेका जनआन्दोलन पार्टीका अध्यक्ष पनि हुन्। उनले बेनर्जीको यो कदमको खुलेर स्वागत गरेका छन्।

यता गोरखा जनमुक्ति पार्टीका अध्यक्ष विमल गुरूङले भने गोर्खाल्याण्ड आन्दोलन कमजोर पार्ने षडयन्त्र भएको भन्दै आन्दोलनको तयारी थालेका छन्।

कालिम्पोङलाई दार्जिलिङबाट अलग गरिएसँग सिलिगुडीको तराई क्षेत्रलाई पनि अलग जिल्ला चलाउनु पर्ने माग उठेको छ। उनीहरूले पनि प्रशासकीय सहजताका लागि सिलिगुडी क्षेत्रलाई अलग बनाउनु पर्ने माग उठेको हो।

LEAVE A REPLY