म्याराडोना बारे फेर्लाइनोले गरे अहिलेसम्म थाहा नभएको खुलासा

0
257

फेर्लाइनोले अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोनालाई क्लबमा भित्र्याउँदा रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डोलाई अहिले खर्चिरहेको रकमभन्दा दोब्बर पैसा उतिबेलै आफूले तिरेको बताएका छन्।

Advertisements

नेपोलीले सन् १९८४ मा बार्सिलोनाबाट म्याराडोनालाई क्लबमा भित्र्याएको थियो। क्लब प्रवेशसँगै नेपोलीले म्याराडोनाको प्रभावशाली खेलका कारण दुई पटक सिरियाको उपाधी र युइएफए कप जितेको थियो। क्लबमै रहँदा म्याराडोनाको एकल प्रयासमा अर्जेन्टिनाले १९८६ को विश्वकप पनि जितेको थियो।

रियल म्याड्रिडसँग बुधबार राती हुने खेलअघि ‘एएस’ पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा फेर्लाइनोले म्याराडोनाका लागि आफूले त्यतिबेलै ५० लाख पाउण्ड स्टर्लिङ खर्चिएको खुलासा गरे। र, उनले विश्व चर्चित त्यो क्लब स्थानान्तरणको घटनाबाट अहिले पनि आफू खुसी रहेको बताए।

‘उनको रकम दोब्बर थियो, जुन अहिले रोनाल्डोले पाउँदै आइरहेका छन्,’ उनले भने–‘त्यतिबेलाका बौद्धिक जमातले मेरो मजाक उडाए। उनीहरू भन्थे, नेपोली गरिब शहर हो र यो अनैतिक छ। तर, त्यो मेरो पैसा थियो र म यसलाई त्यसरी नै खर्च गर्न चाहन्थे।’

उनले म्याराडोनासँग अनुबन्ध गर्दाको रोचक प्रसंग कोट्याउदै भने, ‘जब मैले बार्सिलोनासँग अनुबन्ध गरेँ। म विस्की पिउन बार गएको थिएँ।’ त्यतिबेला बारको वेटरसँग भएको अर्को संवाद सुनाउदै भने, ‘वेटरले उल्टै मलाई भन्यो– तपाई इटालीबाट आउनु भएको हो? हामी (बार्सिलोना) ले म्याराडोनालाई पन्छयाउन महान अनुबन्ध गर्यौं– ऊ मोटाई सक्यो।’

फेर्लाइनोले वेटरको त्यो कुरा सुनेपछि आफूले चुस्कीको मजा लिन नसकेको बताए। उनले म्याराडोनाको विषयमा सबैभन्दा बढी होहल्ला लागुऔषध र रक्सीमा भएको बताउँदै नेपोलीमा हुँदा यसले उनको खेलमा कुनै प्रभाव नपारेको बताए। त्यसैले म्याराडोनाले नेपोलीका लागि २ सय ५९ खेल खेलको पनि उनले स्पष्ट पारे।

‘ऊ पूर्ण खेलाडी हो, अरुभन्दा ज्यादा व्यवसायिक,’उनले भने–‘घरमा उसको समस्या थियो। तर, मैदानमा उसको खेलको आलोचना कसैले गर्न सक्दैन्थे।’ नेपोलीमा बसोबास गर्दा म्याराडोनाले लागुऔषध नलिएको उनको भनाई थियो। ‘हुन सक्छ, जब ऊ अर्जेन्टिना फर्कियो, उसले प्रयोग गर्न थाल्यो होला। तर, ऊ जहिलेसम्म क्लबमा बस्यो, हाम्रो लागि उपयुक्त थियो।’

उनले म्याराडोनालाई अनुबन्ध गर्न रियल म्याड्रिडले कहिले प्रयास नगरेको बताए। तर, एसी मिलान, युभेन्ट्स, मार्सेइले म्याराडोनाको विषयमा सोधिरहने खुलासा गरे। हालका दुई स्टार खेलाडी रोनाल्डो र मेसीसँग उनको तुलनाको विषयमा सोधिएको प्रश्नमा फेर्लाइनोले भने–‘रोनाल्डोसँग उनको तुलना उनीहर बीच खेल्ने पोजिसनबाट पनि हुन सक्दैन। यद्यपी मेसी अर्जेन्टिनाको सबैभन्दा बलियो टोलीबाट खेलिरहेका छन्। तर, उनले कुनै उपाधी जित्न सकेका छैनन्। जबकी म्याराडोना खेल्दा टिममा केही खराब खेलाडी थिए, टिम पनि त्यति बलियो थिएन। तर, पनि उसले अर्जेन्टिनालाई विश्वकप जितायो।’

फेर्लाइनोले म्याराडोनाको पालामा माफियाबाट नेपोली प्रभावित थियो भन्ने प्रश्नको खण्डन गरे। ‘कुनैबेला उनीहरू खेलाडीको नजिक आउँथे, म्याराडोनासँग पनि नजिकिन खोज्थे। तर, यतिबेला उनीहरू खेलाडीसँग फोटो खिचाउने उद्देश्यका साथ आउथेँ।’

च्याम्पियन्स लिगअन्तर्गत बुधबार राती रियल म्याड्रिडविरूद्ध खेल अघि नेपोलीले आफ्नो पूर्व स्टार म्याराडोनालाई भ्रमणका लागि निम्तो दिएको छ। म्याराडोनाले नेपोलीको प्रस्ताव स्वीकार गरेको खण्डमा उनी आज रातीको खेलमा बेर्नाबेउ रंगशालामा देखा पर्ने सम्भावना उत्तिकै छ। ‘म उनलाई खुब माया गर्छु। ऊ विश्वमा नेपोलीको सद्भावनादूत हो,’ फेर्लाइनोले भने।

LEAVE A REPLY