अक्षरका पाइलाहरू

0
265

रचना यूवाकवी: दुर्गा प्रसाद पोख्रेल

Advertisements

जीवनहरू अनायास हराए भने
खोज्नु अक्षरका पाइलाहरूमा
ती स्वर्ग पुगेका भए पनि
बोलाउनु धर्तीमा-
अझै धर्तीमा धेरै गीत गाउनु छ
बिग्रेका मनहरूमा शुद्धता ल्याउनु छ ।

हाम्रो जीवन
राम्रो जीवन
एक अनुपम उपहार
एक उत्सव सदाबहार
यो तुहिनुहुन्न पशुत्वका गर्तहरूमा
कुहिनुहुन्न कामनाका कुटिल शर्तहरूमा
असीमित उर्जाका साथ ओर्लेका धर्तीमा
यी पानीका औरस पुत्रहरू-
स्वातिनक्षत्रका सिपिहरूमा मोती बन्न सक्छन्
पाए भने कोशीका बगरमा
एक कर्कलाको पात
ती मोतीसदृश टल्कनेछन्
तर भुलेर बालुवामा झरे भने बूँदहरू-
न ती भूगोलमा देखिनेछन्
न ती इतिहासमा लेखिनेछन्
न ती कविता भन्नेछन्
न स्वयं कविता बन्नेछन् ।

यो मरुस्थलमा
हामी भेट्छौं केवल जीवन कोप्ने ब्यथाका क्याक्टसहरू
उत्साह मार्ने बाह्रमासे विसङ्गतिका झारहरू ।
हामी मुस्किलले भेट्छौ मोती बनाउने सिपिहरू
जीवन टल्काउने कर्कलाका मिहिन शिल्पिहरू।
तैपनि हार्नुहुन्न
लक्ष्यहरू मार्नुहुन्न
देख्नेहरू भन्छन्-
‘मरुस्थल पारी मानवता फुल्ने हरियो बारी छ’
जहाँसम्म हाम्रो यात्रा अबिरल जारी छ ।
अक्षरका पाइलाहरू टेकेर यो मरुस्थल काट्नु छ
हार्दिकताका शुभ्र मोतीहरूसँग हाम्रो मुटु साट्नु छ ।

जीवनहरू अनायास हराए भने
खोज्नु अक्षरका पाइलाहरूमा

ती अन्तै पुगेपनि
बोलाउनु धर्तीमा
अझै धर्तीमा एउटा दरिलो प्रीत लाउनु छ
उदास मनहरूमा सुखदासको गीत गाउनु छ !

LEAVE A REPLY