६७ औं प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रमका साथ मनाइदै

0
284

७ फागुन, काठमाडौं । आज ६७ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिएकाे छ ।

Advertisements

एक सय चार वर्षे जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य बनाएर प्रजातन्त्र स्थापना भएकाे थियाे । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकाल सुरू भएको हाे ।


प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले  १९९७ साल माघमा बलिदानी दिएका थिए ।  प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो ।

२००० सालपछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रुपमा यो दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको छ ।

प्रजातन्त्र स्थापनापछि पनि देशमा धेरै पटक ठूलाठूला राजनीतिक आन्दोलन भयो । र राजनीतिक परिवर्तन पनि भयो । तर देशमा अझै राजनीति स्थिरता हुन सकेको छैन । मुलुक समृद्धिको गतिमा अघि बढ्न सकेको छैन ।

LEAVE A REPLY