वैशाख मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री दाहाललाई कांग्रेस सभापति देउवाको ‘अल्टिमेटम’

0
293

फाल्गुन ९, २०७३- कांग्रेस सभापति शेरबहादुर देउवाले वैशाख मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘अल्टिमेटम’ दिएका छन् । वैशाख मसान्तभित्र निर्वाचन गर्न नसके पूर्वसमझदारीअनुसार नेतृत्व छाड्नुपर्ने भन्दै देउवाले सोमबारकै मन्त्रिपरिषद् बैठकबाट निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्रीलाई दबाब दिएका छन् ।

Advertisements

प्रधानमन्त्री दाहाल निर्वाचन मिति घोषणा गर्ने या नगर्ने भन्ने अन्योलमा रहिरहेका बेला कांग्रेस सभापति देउवाले आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूलाई डाकेर निर्वाचनको मिति र सरकारको नेतृत्वका विषयमा दुई घण्टा छलफल गरेका थिए । देउवाले मन्त्रीहरूलाई वैशाख मसान्तभित्रै निर्वाचन गर्ने गरी मिति घोषणाका लागि सामूहिक दृष्टिकोण सोमबारको मन्त्रिपरिषद् बैठकमा राख्नसमेत निर्देशन दिएका छन् । त्यसअघि कांग्रेस र माओवादी केन्द्रबीच भएको छलफलमा पनि देउवाले वैशाख मसान्तभित्रै निर्वाचन गर्न दबाब दिएका थिए । प्रधानमन्त्री दाहालले भने बजेटमार्फत आमजनतालाई आकर्षित गर्न सकिने बताउँदै जेठ १५ पछि निर्वाचन धकेल्न चाहेका छन् । नयाँ संविधानअनुसार जेठ १५ मा बजेट ल्याउनैपर्ने बाध्यता छ । एमाले नेतृत्वको सरकारले ल्याएको बजेटलाई निष्प्रभावी पार्न नयाँ बजेट ल्याउनुपर्ने तर्क राख्दै दाहालले जेठ १५ पछि निर्वाचन मिति घोषणा गर्न चाहेका हुन् । तर, प्रमुख सत्ता साझेदार कांग्रेस सभापति देउवा त्यसमा तयार छैनन् । सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तभित्रै निर्वाचन गर्ने गरी मिति घोषणाको तयारी गरेको कांग्रेसका एक मन्त्रीले बताए । उनका अनुसार उक्त बैठकमा स्थानीय तह पुन:संरचना आयोगको प्रतिवेदन बुझ्ने र लगत्तै अर्को मन्त्रिपरिषद् बैठक बसेर प्रतिवेदनको असन्तुष्टिलाई सम्बोधन गर्न विज्ञ सम्मिलित समिति बनाउने तयारी सरकारको छ । तराई–मधेसमा उठेको असन्तुष्टिलाई सम्बोधन गर्न विज्ञ सम्मिलित समितिलाई स्थानीय तहको संख्या केही बढाउन पाउने गरी कार्यादेश दिनेबारे पनि छलफल भएको छ । मन्त्रीहरूको छलफललगत्तै देउवा कांग्रेस, माओवादी केन्द्र र मोर्चाबीचको छलफलमा भाग लिन बालुवाटार पुगेका थिए । आलोपालो नेतृत्वको विषयमा छुट्टै तीन बुँदै सहमति भएको दाबी गरिँदै आएको छ । सार्वजनिक नगरिएको गोप्य भनिएको उक्त तीन बुँदे सहमतिमा चैत मसान्तभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गरी कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनाउने समझदारी भएको कांग्रेसका एक मन्त्रीले बताए ।

LEAVE A REPLY