राप्रपामा पदाधिकारी मनोनयनको तयारी

0
280

काठमाडौं १४ फाल्गुण ,शनिबार– हालै पार्टीको एकता महाधिवेशन सम्पन्न गरेको राप्रपाले एक साताभित्रै  पदाधिकारीको मनोनयन गर्ने तयारी गरेको छ ।राप्रपाको महाधिवेशनबाट १ अध्यक्ष र ९८ जना केन्द्रीय सदस्यको चयन गरिएको थियो । पदाधिकारी भने अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । राप्रपाको संशोधित विधानअनुसार अध्यक्षसहित २७ जना पदाधिकारीको कार्यसमिति गठन गरिने उल्लेख छ । जसमा अध्यक्षबाहेक पाँच उपाध्यक्ष, चार महामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता, पाँच सहमहामन्त्री, सात सहायक महामन्त्री, एक सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ताको व्यवस्था गरिएको छ । राप्रपा स्रोतका अनुसार पदाधिकारीका लागि तीन दर्जनबढी नेताहरु आकांक्षी रहेका छन् । ति मध्येबाट केहि पदाधिकारी अध्यक्ष कमल थापाले यसै साताभित्र मनोनयन गर्ने तयारी गरेका हुन् ।

Advertisements

राप्रपाका एक नेताले दिएको जानकारी अनुसार पदाधिकारीमा क–कसलाई ल्याउने भनि अध्यक्ष कमल थापाले वरिष्ठ नेताहरु लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणासँग परामर्श गर्दै आएका छन् । चन्द, लोहनी र राणा निकटकासमेतका नेताहरुलाई समेटेर पदाधिकारी मनोनय गर्ने तयारीमा थापा लागेका हुन् ।दुई राप्रपाबीच एकता हुनुअघिको राप्रपा नेपालको अध्यक्ष हुँदा थापाले मनपरी निर्णय गर्दै आएको सम्मको आरोप लाग्ने गरेको थियो । तर अहिले तीन नेताको चेपुवामा परेका थापाले सहमतिकै आधारमा पदाधिकारी मनोनयन गर्न लागेका हुन् ।

पदाधिकारीमा अध्यक्षको विवेक समेत प्रयोग हुने भएपनि सबैको चित्त नबुझाइए विवाद सिर्जना हुने हुँदा थापा सकसमा रहेको बताइन्छ ।स्रोतका अनुसार पहिलो चरणमा थापाले नेताहरु बुद्धिमान तामाङ, राजीव पराजुली, नरेन्द्र चौधरी, दीपक बोहरा, दीलनाथ गिरी, धु्रव बहादुर प्रधानमध्येबाट उपाध्यक्ष मनोनयन गर्नेछन् ।यस्तै महामन्त्रीमा टंक ढकाल, राजेन्द्र लिंदेन, विक्रम पाण्डे, सुनिल थापालगायत दाबेदार रहेका छन् ।यस्तै सहमहामन्त्री पाँच विकास क्षेत्रबाट प्रतिनिधित्व हुने गरी तथा ७ सहायक महामन्त्री ७ प्रदेशको प्रतिनिधित्व हुने गरी मनोनयन गरिनेछ ।

कोषाध्यक्षमा भने उद्धव पौडेलको सम्भावना प्रवल रहेको छ । प्रवक्तामा राजाराम श्रेष्ठ र मोहन श्रेष्ठमध्येबाट एक जना हुने सम्भावना छ । यसअघि पार्टीको सहप्रवक्ता रहेका मोहनले नयाँ कार्यकालमा प्रवक्ताको दाबेदारी प्रस्तुत गरेको बताइन्छ ।
राजारामलाई प्रवक्ता बाहेकको अरु कुनै पदमा मनोनयन गरिए श्रेष्ठलाई प्रवक्ता बन्ने बाटो खुल्ला हुनेछ ।
यस्तै सहप्रवक्तामा राजाराम बर्तौलाका साथै सगुन लावतीको चर्चा छ । बर्तौला थापा निकटका हुन् भने लावती तत्कालिन राप्रपा नेपालसँग बिद्रोह गरेर राप्रपा नेपाल सुद्धिकरण अभियान चलाउँँदै एकताअघि राप्रपामा प्रवेश गरेका थिए ।
राप्रपाको एकता महाधिवेशन बुधबार अध्यक्ष र ९८ केन्द्रीय सदस्य चयन गर्दै सकिएको थियो । बुधबारनै थापाले १५ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । मनोनयनमा परेकामध्ये अधिकांश पदाधिकारी बन्ने लाइन छन् ।

LEAVE A REPLY