मेरो कुनै म्यानपावरमा संलग्नता छैन:शर्मिला पराजुली

0
260

सरकारले ओमनका लागि राजदूतमा सिफारिश गरेकी शर्मिला पराजुली ढकालले आफू अहिलेसम्म म्यानपावर व्यवसायमा संलग्न नरहेको बताएकी छन्।

Advertisements

शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पराजुलीले राजदूत सिफारिश भएलगत्तै आफू म्यानपावर व्यवसायमा संलग्न भएको भन्दै सार्वजनिक भएका खबर कुनै सत्यता नभएको दाबी गरिन्। उनले भनिन्,‘यो खबरले म अत्यन्तै मर्माहत भएकी छु, मेरो कुनै म्यानपावरमा संलग्नता छैन्।’ उनले कस्मेटिक्स बाहेक आफू कुनै पनि व्यवसायमा संलग्न नभएको जिकिर गरिन्। ‘९ महिना अघि सरकारले राजदूतमा सिफारिश गरेपछि हाल म त्यो व्यवसायमा पनि छैन’, उनले भनिन्।

उनले आफूलाई मलेसियाबाट डिपोर्ट गरिएको भनेर समेत समाचार आएकोमा खेद व्यक्त गरिन्। पराजुलीले भनिन्,‘मेरो पासपोर्ट हेर्न सक्नुहुन्छ, यो गलत कुरा हो, हुन त मिडियाका साथीहरुले मसँग आएर केही सोधिदिए हुन्थ्यो भन्ने लागेको थियो, तर आउनुभएन्, म उहाँहरुलाई पनि दोष दिन चाहन्न, म सधँै आफ्नो बारे मिडियालाई बताउन चाहन्छु।’

उनले आफू राजदूत भए ओमनमा रहेका नेपाली महिलाको अभिभावकको रुपमा काम गर्ने बताइन्।  कुटनीतिक अनुभवका आधारमा नै सरकारले आफूलाई राजदूत सिफारिस गरेको उनको विश्वास छ। ‘यसअघि बहराइन र नेपाल सरकारबीच श्रम सम्झौता गर्न मेरो भुमिका महत्वपूर्ण थियो, मध्यपूर्वमा श्रम गरिरहेका नेपालीहरुको समस्या समाधान तथा दुई देशबीचको व्यापारिक सम्बन्ध विस्तार गर्न नेपाल दुबई चेम्बर अफ कमर्सको उपाध्यक्षको हैसियतले निरन्तर कार्यरत छु,’ उनले भनिन्, ‘सरकारले मेरा यस्तै योगदान, वैदेशीक विज्ञता, कुटनीतिक अनुभवको कदर गर्दै ओमानका लागि राजदुत नियुक्तिको लागि सिफारिस गरेको हो।’

LEAVE A REPLY