बिस्तारै हिड्नु यहाँ, मानवीयता हराएको छ

0
741

रचना यूवा कवी-दुर्गाप्रसाद पोख्रेल

बाटो भत्केको छ
बिस्तारै हिड्नु
लड्यौ भने समात्न कोही आउने छैन
वस्ती बाक्लिएर के भो र ?
मानवीयता पातलिएको छ
अग्ला घरहरूबाट
छोटा मान्छेका मनहरू चियाउँछन्
अट्टालिकाहरूमा उभिएका
ती मानिस होइनन्
रोबोट हुन् जसमा संवेदना छैन ।

Advertisements

नदी चर्केको छ
बगाउँला
पुलको पनि भर नपर्नु
पुल मान्छे तार्न भन्दा मान्छे मार्न बनाए झै लाग्छ
बिस्तारै हिड्नु
नदीको पानी धमिलिएको छ
गोहीको मन अमिलिएको छ ।

हावा जीवनदायिनी छैन यतिबेला
भाइरसहरू दौडिएका छन्
उदासीपनहरू पौडिएका छन्
प्राणको राम्ररी ख्याल गर्नु
हावामा पहिलेको संवेदना छैन
कङ्क्रिटका वनहरूमा डुलेका हावाहरूमा
प्राकृतिक सौन्दर्य पटक्कै छैन
हिड्दा याद गर्नु
हावा मैलिएको छ
फूल वैलिएको छ ।

न टेक्ने माटो आफ्नो छ
न फेर्ने सास आफ्नो छ
न पिउने पानी आफ्नो छ
बिस्तारै हिड्नु
पाइला उचाले पछि राख्न अति साह्रो छ
यहाँ मान्छे भएर बाच्न साह्रै गाह्रो छ ॥

LEAVE A REPLY