महाकाली पुल योजना कार्यालय उद्घाटन

0
246

काठमाडौँ, फागुन १८ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले महाकाली नदीमा पुल निर्माणका लागि पुल योजनाको कार्यालय हिजो उद्घाटन गर्नुभएको छ ।कञ्चनपुरको भीमदत्तानगरस्थित योजना कार्यालय उद्घाटनपछि मन्त्री लेखकले महाकाली नदीमा चार लेनको पक्की पुल बने प्रदेश नं ७ सँगै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । “पुल बने सुदूरपश्चिमको विकासमा क्रान्ति आउँछ भन्ने हाम्रो पुरानो सपना आज यथार्थमा रुपान्तरण हँुदैछ ।” मन्त्री लेखकले भन्नुभयो–“पुलसँगै पुल छेउछाउको बाढीको समस्या समाधानका साथै चार लेनकै करिब सात किलोमिटर सडक समेत निर्माण हुनेछ ।”

Advertisements

यहाँको भीमदत्तनगरपालिका र महाकाली पारि दोधारा चादँनी नगरपालिका जोड्ने पुल भारतीय ‘एक्जिट’ बैंकको रु साढे चार अर्बको सहुलियत ऋण लगानीमा निर्माण हुन लागेको हो । “पुल बनाउन सबै राजनीतिक दललगायत नागरिक समाजले सहयोग गर्नुपर्छ ।” उहाँले भन्नुभयो–“विकासका एजेन्डामा साझा भएर लाग्नुपर्छ, राजनीति गर्नुहुँदैन ।”महाकालीमा अवस्थित शारदा ब्यारेजभन्दा ५.६ किमी दक्षिण र दोधारा चादँनी झोलुङ्गे पुलभन्दा २.६ किमी उत्तरतर्फको भूभागमा पुल निर्माण हुने छ ।महाकाली पुल योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तले सडक विभागको सडक सुधार आयोजनाअन्तर्गत महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण हुन लागेको जानकारी दिनुभयो । उहाँले पुलको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भइसकेको जानकारी दिँदै पुल निर्माणको ठेक्का प्रक्रियाको कागजी काम भइरहेको बताउनुभयो । “पुल निर्माणको ठेक्का प्रक्रियाको कागजी काम अन्तिम चरणमा छ”, उहाँले भन्नुभयो, “केही समयभित्र निर्माणको काम सुरु हुन्छ ।” रासस

LEAVE A REPLY