झलनाथ खनालले मागे स्वास्थ्य मन्त्रालयसँग दुई करोड अनुदान

0
304

काठमाडौं–स्वाथ्य खबर पत्रीकाका अनुसार – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले आफ्नो नाममा खोलिएको संस्था `झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ का लागि स्वास्थ्य मन्त्रालयबाट दुई करोड रुपैयाँ अनुदान माग गरेका छन्।प्रतिष्ठानले तलब वितरण, शाखा विस्तार, भवन निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर), वृत्तचित्र निर्माण लगायतका शीर्षकमा दुई करोड रुपैयाँ माग गरेको हो।

Advertisements

मन्त्रालयले निजी क्षेत्रबाट सञ्चालित यस्ता संस्थालाई अनुदान रकम उपलब्ध गराउने कुनै कानुनी आधार नभएपछि उक्त फाइललाई रोकेर राखेको छ। प्रतिष्ठानले पुस १९ गते दुई करोड रकम उपलब्ध गराइदिनु भन्ने प्रस्तावसहितको फाइल मन्त्रालयमा दर्ता गरेको थियो।

भवनको डिपिआरका लागि ५५ लाख, शाखा विस्तारका लागि ३० लाख, रणनीति योजनाका लागि १० लाख, वृत्तचित्र निर्माणका लागि १५ लाख कर्मचारीलाई तलब भत्ता, प्रशासनिक खर्चका लागि चालु खर्च शीर्षकमा ९० लाख गरी दुई करोड माग गरिएको छ।

प्रस्तावमा भवनको डिपिआरका लागि ५५ लाख, शाखा विस्तारका लागि ३० लाख, रणनीति योजनाका लागि १० लाख, वृत्तचित्र निर्माणका लागि १५ लाख र कर्मचारीलाई तलब भत्ता, प्रशासनिक खर्चका लागि चालु खर्च शीर्षकमा ९० लाख गरी दुई करोड माग गरिएको छ।गत आर्थिक वर्ष पनि मन्त्रालयले अनुदान दिन अस्वीकार गरेपछि नेता खनालको चर्को दबाबमा स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक करोड रुपैयाँ अनुदान उपलब्ध गराएको थियो। प्रतिष्ठानले ‘सर्पदशंकको औषधि उत्पादन शीर्षक’मा एक करोड लैजान सफल भएको थियो। तर, प्रतिष्ठानले सो रकम अन्य शीर्षकमा खर्च गरेको विभाग स्रोतको भनाइ छ। ‘प्रतिष्ठानले गत वर्ष लगेको अनुदानको खर्च विवरण समेत बुझाउन अटेरी गरेको छ,’ विभाग स्रोत भन्छ।

मन्त्रालयले अनुदान दिन अस्वीकार गरेपछि गत वर्ष जस्तै अन्य स्रोतबाट भए पनि रकम उपलब्ध गराउन खनालले दबाब दिएको मन्त्रालय स्रोतको भनाइ छ।दुई वर्षअघि स्थापित प्रतिष्ठानको संरक्षक नेता खनाल हुन्। प्रतिष्ठानको अध्यक्ष सर्लाहीका एमाले नेता रेवती पन्त हुन्। प्रतिष्ठानको उपाध्यक्षमा देवेन्द्र राय, सचिव प्रकाशबहादुर थापा, कोषाध्यक्ष निरज विसी, सहसचिव अच्युत खनाल र सदस्यहरुमा बेथी लुंगेली, विभा नेपाल, शर्मिला प्रधान, देवेन्द्र गौतम, भरत थापा, जंगबहादुर मगर र रेवती खड्का रहेका छन्। झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय काठमाडौँको मध्य बानेश्वरमा छ।

मन्त्रिपरिषदले केही दिनअघि गृहमन्त्री विमलेन्द्र निधिको पिताको नाममा सञ्चालित महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई तीन करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो। स्वास्थ्य मन्त्रालयले बनाएको निर्देशिकाविपरित मन्त्रिपरिषदले उक्त अस्पताललाई रकम दिने निर्णय गरेको हो। सो अस्पतालले चार वर्षमा स्वास्थ्य मन्त्रालयबाट १४ करोड रुपैयाँ अनुदान लगिसकेको छ।राजधानीमा नेताका नाममा सञ्चालित मनमोहन मेमोरियल अस्पताल, बिपी स्मृति अस्पताल, सुस्मा कोइराला मेमोरियल ट्रस्टले पनि करोडौँ रुपैयाँ अनुदान लगिसकेका छन्। नेताका नाममा अस्पताल तथा प्रतिष्ठान सञ्चालन गरी अनुदान माग्ने क्रम बढ्दै गएपछि मन्त्रालयले यसलाई व्यवस्थित बनाउन निर्देशिका नै संशोधन गरेको छ।

स्वास्थ्य मन्त्री गगन थापाले अनुदानका नाममा बर्सेनी ५० करोड रुपैयाँ मनोमानी वितरण हुने क्रमलाई रोक्न ‘सामुदायिक अस्पतालहरुलाई अनुदान दिने सम्बन्धी निर्देशिका’मा संशोधन गर्दै व्यवस्थित बनाएका हुन्।उक्त निर्देशिका अनुसार १५ शैय्याभन्दा माथिका महानगरपालिका बाहिरका सामुदायिक अस्पतालले मात्र मन्त्रालयबाट अनुदान पाउन सक्नेछन्। अनुदानबाट पाएको रकमबाट अस्पतालले सेवा विस्तार तथा उपकरण खरिदका लागि खर्च गर्नुपर्ने हुन्छ र त्यसको विवरण मन्त्रालयमा बुझाउनुपर्ने हुन्छ। मन्त्रालयले अनुदानको सदुपयोग भए/नभएको अनुगमन समेत गर्ने व्यवस्था नयाँ निर्देशिकामा गरिएको छ।

LEAVE A REPLY