लिभरपुलले आफ्नो घरेलु मैदानमा आर्सनललाई पराजित गर्‍यो

0
252

लिभरपुलले आफ्नो घरेलु मैदानमा आर्सनललाई ३–१ गोलले पराजित गरेको छ। शनिबार राती एनफिल्डमा गनर्सलाई स्तब्ध पार्न रोबर्टो फिर्मिनो र साडियो मानेले पहिलो हाफमै गोल गरेका थिए। करिब ५० हजार घरेलु समर्थकमाझ फिर्मिनोले नौ मिनेटमै रेड डेभिल्सलाई अग्रता दिलाएका थिए। आर्सनलविरूद्ध प्रिमियर लिगमा फिर्मिनोको चार खेलमा तेस्रो गोल थियो। ४० मिनेटमा मानेले गोल थपेपछि पहिलो हाफमै लिभरपुल २–० ले अगाडि देखियो।
आर्सनलका प्रशिक्षक आर्सने वेङ्गरले पहिलो हाफमा आफ्नो स्टार स्ट्राइकर एलेक्सिस सान्चेजलाई नखेलाउने निर्णय घातक साबित भयो। यसपालिको प्रिमियर लिगमा १७ गोल गर्नुका साथै गोलका लागि ९ वटा अवसर जुर्याएका सान्चेजलाई दोस्रो हाफपछि मात्र वेङ्गरले मैदान प्रवेश गराएका थिए। आर्सनलका लागि डानी वेलबेकले ५७ मिनेटमा गोल गर्दै खेलमा फर्किने झिनो आशा देखाएका थिए। लिभरपुलका लागि जर्जिनियो विज्नाल्डमले निर्धारित ९० पछि थप गरिएको एक मिनेटमा गोल गर्दै लिभरपुललाई अंक तालिकाको तेस्रो स्थानमा उकाले। लिभरपुल २७ खेलमा ५२ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको हो। लिभरपुलभन्दा २ खेल कम खेलेको म्यानचेस्टर सिटीको पनि बराबरी ५२ अंक छ। आर्सनल भने २६ खेलमा ५० अंकका साथ पाँचौ स्थानमा झरेको छ।

Advertisements

LEAVE A REPLY