नेपथ्यको यात्रा हङकङतिर

0
281
होलीको दिन पारेर लोकरक सांगीतिक समूह नेपथ्य पुन: एक पटक हङकङको मञ्चमा उभिने भएको छ। हङकङ नेपालबाहिर नेपथ्यले सबैभन्दा बढी पटक प्रस्तुत गरेको सहर पनि  हो। आगामी फागुन २९ (मार्च१२ तारिख) का दिन हङकङस्थित ‘इयोन लङ अडिटोरियम’ मा ब्याण्डले नयाँ–पुराना नेपाली लोकरक गीतहरु सुनाउनेछ।
नेपथ्यको निम्ति हङकङ आत्मीय नाम हो। ब्याण्डका प्रशंसकहरुकै कारण टोलीले यो प्रवासी भूमिमा पटक पटक आफूलाई प्रस्तुत गरिरहेको छ। त्यसबाहेक नेपथ्य उभ्याउने नजिकको आफन्त घेरा पनि टोलीले त्यहाँ भेट्ने गर्छ।
त्यस दिन कन्सर्टको सुरुवात भर्खरै सार्वजनिक नेपथ्यको गीतबाट हुँदैछ–
‘कुरुप अनुहार हो, यहाँ कोही साथी छैन
बेरुप अनुहार हो, यहाँ कोही साथी छैन’
यो गीत प्रस्तुत भइरहँदा हङकङमै लामो समयदेखि बसोवास गर्दै आएका एक पुराना संगीतकर्मी पनि दर्शक घेरामा हुनेछन्।तीसको दसकमा त्रिभूवन विश्वविद्यालय, कीर्तिपुरको विद्यार्थी छँदा आफूले तयार पारेको यो पुरानो गीत नेपथ्यको प्रस्तुतीमा पहिलोपटक त्यहाँ सुन्नेछन् उनै सर्जक विक्रम गुरुङले।
स्कुले समयदेखि सँगै पढ्दै र हुर्कँदै कीर्तिपुरसम्मै पुगेका तत्कालीन पोखरेली तन्नेरीहरुसरुभक्तले लेखेको र गुरुङले संगीत दिएको गीत हो यो। सरुभक्त यतिबेला नेपाल संगीत नाट्य एकेडेमीका कुलपति छन्।
कुनै समय अरुण थापाका निम्ति ‘भुलुँ भुलुँ लाग्यो मलाई’ र‘आँखाको निद खोसी लाने’ जस्ता गीतहरु संगीतवद्ध पारेका गुरुङले भने लामो समयदेखि हङकङलाई आफ्नो कर्मक्षेत्र बनाउँदै आएका छन्।
नेपथ्यलाई हुर्काउन सुरुदेखि स्नेहको हत्केला बढाउने पोखरेली अग्रजहरुको घेरामा गुरुङलाई ब्याण्डले स्मरण गर्दै आएको छ।
‘विक्रम दाइसँग जोडिने सुत्रका रुपमा पछिल्लो पटक उहाँकै कृति पनि थपिएको छ,’ नेपथ्यका मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘यो सिर्जना पहिलोपटक उहाँलाई उहाँकै कर्मभूमिमा सुनाउने क्षणको ब्यग्र प्रतिक्षा गर्दैछु।’
गुरुङ मात्र होइन, नेपथ्यलाई उभ्याउने प्रारम्भिक टोलीकै एकजना मुख्य सदस्य पनि लामो समयदेखि हङकङ बसोबास गर्दै आएका छन्। नेपथ्यलाई उसको सुरुवाती दिनदेखि सुन्दै आएका श्रोताहरुले चिन्ने त्यो नाम हो, भीम पुन।
लामो समयदेखि नेपालीहरु बसोवास गर्दै आएको हङकङमा नेपथ्यले लोकभाकासँग मिलाएर स्वदेशको हालखबर ओसार्दै आएको छ । त्यसैगरी ब्याण्डको संघर्षका बेलादेखि नै हङकङवासीबाट यसले साथ पनि पाउँदै आएको छ। यो सबले गर्दा सहरसँग ब्याण्डका थुप्रै पुराना सम्झनाहरु पनि जोडिएका छन्। यसरी हङकङको यात्रा नेपथ्यको निम्ति सांगीतिक प्रस्तुती मात्र नभएर आफन्त भेट्ने र आफ्नै समयलाई नियाल्ने क्षण पनि बन्दै आएको छ।
हङकङस्थित ‘तमु एशोसिएसन’ को निमन्त्रणामा नेपथ्य त्यसतर्फ जानलागेको हो।एशोसिएसनले आयोजना गर्न लागेको आठौं रोधी साँझको अवसर पारेर ‘नेपथ्य लाइभ इन हङकङ’ प्रस्तुत हुने यसका अध्यक्ष गणेश गुरुङ बताउँछन्।
प्रस्तुतीका निम्ति ब्याण्ड यसै साता त्यसतर्फ पुग्दैछ। स्टेजमा अमृतलाई सँधैझैं ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन्।

LEAVE A REPLY