नेइमारको चमत्कार बार्सिलोनाले इतिहास रच्यो, ६–१ ले विजयी हुँदै क्वाटरफाइनलमा

0
269

फ्रान्सको पेरिस सेन्ट जर्मनी(पिएसजी) क्लबमाथि ६–१ गोलको रवाफिलो जित दर्ता गर्दै स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान रचेको छ।

Advertisements

पिएसजीसँग पहिलो लेगको खेलमा ४–० ले पछाडि परेको नतिजालाई उल्ट्याउदै बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम्प नोउमा विहिबार बिहान सम्पन्न खेलमा ६–१ को रवाफिलो जित निकाल्यो।

च्याम्पियन्स लिगको इतिहासमा नकआउट चरणमा ४–० ले पछाडि परेको अवस्थामा कुनै टोली क्वाटरफाइनलमा प्रवेश गर्न सकेको थिएनन्। तर, बार्सिलोना दुवै लेगबाट समग्रमा ६–५ को अग्रता बनाउदै क्वाटरफाइनलमा प्रवेश गर्यो।एक दिनअघि मात्र आफ्नो कट्टर प्रतिद्धन्दी रियल म्याड्रिड अन्तिम ८ मा प्रवेश गरेको अवस्थामा आजको जित प्रशिक्षक लुइस एनरिकका लागि सम्झनायोग्य रहयो।

पहिलो लेगमा पिएसजीसँग ४ गोलले पछाडि परेपछि एनरिकको खेल शैलीको ठूलो आलोचना भएको थियो। त्यसैले उनले दुई साताअघि मात्र यो सिजनपछि बार्सिलोनामा नबस्ने घोषणा गरेका थिए। बार्सिलोनाका लागि आज नेइमार नायक बने। उनले लगभग हातबाट गुमिसकेको खेललाई ७ मिनेट भित्र पुनः बार्सिलोनाको पोल्टामा पारेका थिए। दोस्रो हाफको ६२ मिनेटमा एडिन्सन काभानीले पिएसजीका लागि गोल गरेपछि बार्सिलोना लगभग खेलबाट बाहिरिएको थियो। तर, ८८ मिनेटमा विश्वस्तरीय फ्रिकिक, ९१ मिनेटमा पेनाल्टीबाट गोल गरेका नेइमारले ९५ मिनेटमा फ्रिकिकमार्फत सर्गिइ रोबेर्टोलाई गोलका लागि अवसर जुर्याई दिए।

बार्सिलोनाको यो जितले सन् १९९९ च्याम्पियन्स लिगको म्यानचेस्टर युनाइटेड र वायर्न म्युनिखबीचको फाइनल खेललाई पनि बिर्साएको छ। पिएसजी पहिलो लेगको खेलमा बार्सिलोनालाई २ गोल गरेका अर्जेन्टिनी प्लेमेकर एन्जेल डि मारिया बिना मैदानमा उत्रिएको थियो । चोटग्रस्त मारिया आजको खेलमा प्लेइङ सेटमा थिएनन्। तर, उनलाई दोस्रो हाफमा पिएसजीले मैदानमा उतार्यो। उनको उपस्थितिमै काभानीले च्याम्पियनस लिगमा आफ्नो सातौं गोल पुरा गरे। उनको एउटा प्रहार पोलमा लागेर दूर्भाग्यपूर्ण रुपमा बाहिरिएको थियो। त्यो प्रहार गोलमा परिणत भएको भए आजको खेलको कहानी नै अर्को हुने थियो।

पहिलो हाफमा बार्सिलोनाले खेललाई पुरै नियन्त्रणमा राख्यो। लुइस सुआरेजले आफ्नो घरेलु मैदानमा अहिलेसम्म खेलेको ६४ खेलमा ६५ गोल गर्ने क्रममा ३ मिनेटमै बार्सिलोनालाई अग्रता दिलाए। उनको हेडिङ गोल पिएसजीका डिफेन्डरले नेट भित्रबाट निकाल्ने प्रयास गरेका थिए। तर, गोल–लाइन मेसिनले गोल भएको स्पष्ट देखाएको थियो।

बार्सिलोनाले दोस्रो गोल उपहारको रुपमा पायो। पिएसजीका डिफेन्डर लेभिन कुर्जावाले ४० मिनेटमा आत्मघाती गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० ले अगाडि देखियो। कप्तान आन्द्रेस इनिस्टाको डिबक्स भित्रको सटिक पासलाई विश्लेषण गर्न नसक्दा कुर्जावाले आत्मघाती गोल गरेका थिए। बार्सिलोनाका लागि तेस्रो गोल दोस्रो हाफको खेल सुरु भएको ५ मिनेटमा लिओनल मेसीले गरे। खेलको ५० मिनेटमा कप्तान इनिस्टाले डिबक्स भित्र निकालेको पासलाई रोक्ने क्रममा भ्रमणकारी टोलीका डिफेन्डर थोमस मेउनेर अनियन्त्रित बन्दै नेइमारमाथि चिप्लिन पुगेपछि रेफ्रिले बार्सिलोनालाई पेनाल्टीको मौका दिएको थियो। जसलाई मेसीले उत्कृष्ट ढंगले गोलमा परिणत गरे। मेसीको च्याम्पियन्स लिगमा यो एघारौं गोल थियो।

बार्सिलोना छनोटको नजिकै रहेको बेला उरुग्वेयन स्ट्राइकर काभानीले गोल गरेपछि घरेलु टोली पुनः संकटमा देखियो। काभानीको गोलका कारण बार्सिलोनाले २२ मिनेटभित्र फ्रेन्च क्लबलाई थप ३ गोल गर्नु पर्ने स्थिति सिर्जना भयो। जुन बीचमा सुधारिएको पिएसजीको खेल हेर्दा असम्भव झै लागेको थियो। तर, नेइमारले ८८ मिनेटमा ३० यार्डबाट पाएको फ्रिकिकलाई गोलमा परिवर्तन गरेका थिए। नेइमारले निर्धारित ९० पछि थप गरिएको ५ मिनेटको अवधिमा पेनाल्टीबाट अर्को गोल गरे। मार्कुनेजले डिबक्स भित्र सुआरेजलाई धकेलेपछि बार्सिलोनाले दोस्रो पेनाल्टीको अवसर पाएको थियो।

क्वाटर फाइनल प्रवेशको निर्णायक गोल भने रोबेर्टोले गरे। नेइमारको फ्रिकिकलाई ‘अफ ट्रयाप’ मा पार्ने योजनामा रहेका पिएसजीका डिफेन्डर त्यतिबेला स्तब्ध भए, जब अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका रोबेर्टोले भ्रमणकारी टोलीको ‘अफ ट्रयाप’ तोड्दै गोल गरे। उनले १८ महिनापछि बार्सिलोनाका लागि गोल गर्ने क्रममा घरेलु दर्शकलाई अपार खुसी तुल्याए।

LEAVE A REPLY