नयाँ संरचनाअनुसार चैत १० गतेभित्रै मतदान केन्द्र निर्धारण गरिने

0
228

फाल्गुन २७ , २०७३-पत्रपत्रीकाबाट-काठमाडौं । निर्वाचन आयोगले आगामी १० चैतभित्रै स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र निर्धारण गरिसक्ने भएको छ । आयोगले मतदान केन्द्र निर्धारण आगामी १० चैतसम्म सक्ने गरी काम अघि बढाउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशनसमेत दिइसकेको छ ।

Advertisements

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सरकारबाट प्राप्त नयाँ संरचनाको प्रतिवेदनअनुसार मतदान केन्द्र निर्धारण गर्न जिल्ला निर्वाचन कार्यालयहरूलाई निर्देशन दिइसकिएको बताए । ‘हामीले सरकारबाट प्राप्त स्थानीय तहको प्रतिवेदनको पत्रअनुसार जिल्ला निर्वाचन कार्यालयहरूलाई काम अघि बढाउन भनिसकेका छौं,’ प्रवक्ता शर्माले भने, ‘१० चैतभित्रै केन्द्र निर्धारण हुनेछ ।’आजको राजधानी दैनिकमाखबर छ ।

सरकारले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन मंगलबार साँझ आयोगलाई उपलब्ध गराएको थियो । प्रतिवेदनअनुसार परिवर्तित नयाँ संरचनाबमोजिम मतदाताको ठेगानासमेत परिवर्तन गर्नुपर्ने भएकाले सोहीअनुसार मिलाउने काम पनि सुरु गरिएको आयोगका प्रवक्ता शर्माले बताए । उनका अनुसार २० चैतभित्र आयोगले सो विषयमा समेत टुंगो लगाइसक्ने तयारी गरेको छ ।

सरकारले राजपत्रमा प्रकाशित नहुँदै पुनःसंरचना प्रतिवेदन निर्वाचन आयोगलाई दिएको छ । आयोगले १० चैतभित्रै मतदान केन्द्र पुनर्निर्धारण गरेको प्रतिवेदन ७५ जिल्लाबाट केन्द्रमा प्राप्त भइसक्ने कार्यतालिका यसअघि नै बनाएको हो । आयोगले पहिलेका मतदान केन्द्रहरूको अवस्था र नयाँ संरचनाअनुसारको पूर्वाधारहरू हेरेर मतदान केन्द्रहरू तय गर्ने बताएको छ । प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला निर्वाचन अधिकृत र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू बसेर त्यसको टुंगो लगाउने आयोगले जनाएको छ । निर्वाचन आयोगले अहिले मतदाता नामावलीलाई अद्यावधिक गर्ने, प्रशोधन गर्ने काम धमाधम गरिरहेको छ ।

LEAVE A REPLY