चितवनको शहर भरतपुर बन्यो महानगरपालिका

0
720

चितवन – भरतपुर उपमहानगरपालिका चित्रवन र नारायणी नगरपालिका एवम् कविलास गाविस मिलाएर  भरतपुर महानगरपालिका बनेको छ ।काठमाडौँपछि ललितपुर, पोखरा र भरतपुर महानगरपालिका बनेका हुन् ।

भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालका अनुसार आज उपमहानगरपालिका र वडाहरुमा महानगरपालिकाका सूचनापाटी राखिएको छ भने आइतबारदेखि महानगरपालिकाका ‘लेटरप्याड’ र ‘स्ट्याम्प’ चल्ने बताएका छन् ।भमपामा २९ वडा रहनेछन् । यसअघि उपमहानगरपालिकामा पनि २९ वटै वडा थिए । नगरपालिका र गाविस समायोजन गरेर वडाको सङ्ख्या नबढाइएको कार्यकारी अधिकृत बरालले बताए ।

Advertisements

भमपाभित्र जिल्लाका अधिकांश सरकारी कार्यालय पर्छन् । जिल्लास्थित भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पनि यसैमा पर्छन् । त्यसै गरी दुई ठूला मेडिकल कलेज र कृषि तथा वन विज्ञान विश्वविद्यालय जस्ता राष्ट्रिय महत्व बोकेका शिक्षण संस्था पनि रहेका छन् ।

महानगरपालिका बनेसँगै भरतपुरवासीमा खुसी छाएको छ । भमपाले आज साँझ घर घरमा दीप प्रज्वलन गरी खुसियाली मनाउन आग्रह गरेको छ । तत्कालीन भरतपुर नगरपालिकाका उपप्रमुख देवी ज्ञवालीले समयको आवश्यकतानुसार चितवनको विकास र समृद्धिका लागि महानगरपालिका बनेको बताउँदै राष्ट्रमा चितवनलाई चिनाउन भमपा सार्थक हुने विश्वास व्यक्त गरे ।रासस

LEAVE A REPLY