बाटोमा भेटिएकाहरू

0
280

दुर्गाप्रसाद पोख्रेल
————————–
तिनीहरूलाई मैले बाटोमा भेटें
चिनजान थिएन
केहीबेर सँगै हिडेपछि
तिनीहरू मसँग बोले

Advertisements

अगाडिको मोड काटिसक्दा
ती अब अपरिचित थिएनन्
दुइफेर हाँसिसकेका थिए
दुइचार कुरा गरिसकेका थिए

एकजनाले पोल्टाबाट खानेकुरा निकाल्यो
सबैलाई बाड्यो
मलाई पनि छुटाएन
खानेकुरा सामान्य थियो
तर त्यसको असर असामान्य थियो
तिनीहरूमै घुलमिल भैसकेको थिएँ

अलिकपर अर्को एउटाले पानी बाड्यो
पहिला मलाई पिउन दियो
पानी पिउनु अघि मेरो तिर्खा मेटिए झैं भयो
कता कता आफ्ना हराएकाहरू भेटिए झैं भयो

मसँग केही सुन्तलाहरू थिए
एक्लै खान भनेर ल्याएको थिएँ
किन हो मन खसखसाएर आयो
हातमा निकालेर तिनीहरूलाई बाँडें
त्यो सुन्तलामा कत्रो मिठास थियो

घाम ओरालो लागिसकेको थियो
छुट्टिने मन थिएन
तर छुट्टिनै पर्ने थियो 
किन हो छुट्टिन गाह्रो भैरहेथ्यो 
ती मेरा को थिए ?
तिनीहरूको को थिएँ ?
तर सबैको आँखामा आँसु थियो

LEAVE A REPLY