रियल म्याड्रिड फर्कियो शीर्षस्थानमा

0
268

खेल सकिन ९ मिनेट बाँकी रहँदा कप्तान सर्जियो रामोसले गरेको ‘ट्रेडमार्क’ हेडिङ गोलका कारण रियल म्याड्रिड दुई सातापछि पुनः स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। सोमबार बिहान सम्पन्न खेलमा भ्रमणकारी रियल बेटिसलाई २–१ गोलले पराजित गर्ने क्रममा म्याड्रिड पुनः लिगको शीर्षस्थानमा फर्किएको हो। म्याड्रिडभन्दा अगाडि भएको अर्को खेलमा लिगको शीर्षस्थानमा रहेको बार्सिलोना डेपोर्टिभो ला करुनाको घरमा २–१ ले पराजित हुँदै अंक बिहिन बनेको थियो।

Advertisements

बेटिसविरुद्धको जितपछि म्याड्रिड २६ खेलमा ६२ अंकका साथ लिगको शीर्षस्थानमा फर्किएको छ। बार्सिलोना भने २७ खेलबाट ६० अंक बटुलेर दोस्रो स्थानमा झरेको छ। म्याड्रिडलाई आज घरेलु मैदानमा खेलमा फर्किन निकै संघर्ष गर्नु पर्यो। आफ्नो स्टार गोलरक्षक केलोर नाभास २५ मिनेटमा भ्रमणकारी बेटिसका स्ट्राइकर आन्टोनियो सानाब्रियाको क्रसलाई पढ्न असफल भएपछि म्याड्रिडले आत्मघाती गोल खाएको थियो। उनको गल्तीका कारण १६ मिनेट सान्टियागो बेर्नाबेउमा उपस्थित ७० हजारभन्दा बढि घरेलु समर्थक निशब्द बनेका थिए। तर, अर्का स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ४१ मिनेटमा मार्सेलोको पासमा हेडिङ गोल गरेपछि सान्टियागोमा पुनः उत्सव छाएको थियो।

जारी लिगमा खेलिरहेका अन्य खेलाडीको तुलनामा रोनाल्डोले टाउकोले सर्वाधिक गोल गरेका छन्। उनले सर्वाधिक ४६ गोल टाउकोले गर्ने क्रममा पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा फर्काए। मिडफिल्डर लुका मोड्रिकको म्याड्रिडबाट २ सय खेलको रुपमा रहेको यो खेललाई ८१ मिनेटमा कप्तान रामोसले आफ्नो पक्षमा ल्याए। उनले च्याम्पियन्स लिगको दोस्रो लेगको खेलमा नेपोलीविरुद्ध टोनी क्रुजको पासमा टाउकोले गरेको गोलको झझल्को सान्टियागो रंगशालामा पनि दिन भुलेनन्।

निर्धारित समयको खेल सकिन ९ मिनेट बाँकी बाँकी रहँदा क्रुजले हानेको कर्नर किकलाई गोलमा परिणत गर्दै रामोसले च्याम्पियन्स लिगको पछिल्लो खेलको स्मरण गराए। यो सिजन रामोसको सबै प्रतियोगितामा आठौं गोल थियो भने ला लिगाको सातौं। यसअघि बेटिसले आफ्नो ‘राइट ब्याक’ इटालीका क्रिस्टियानो पिसिनीलाई गुमाएको थियो। उनी लुकास भाजक्युजलाई धकेलेको आरोपमा दोस्रो पहेँलो कार्ड खान बाध्य भए। यसपछि भ्रमणकारी टोलीको दसा सुरु भयो।

नाभासले निर्धारित ९० पछि थप गरिएको दोस्रो मिनेटमा बेटिसको सम्भावित बराबरी गोललाई टारेका थिए। जुन पहिलो हाफमा आफूले गरेको आत्मघाती गोलको क्षतिपूर्ती पनि थियो। बेटिसका स्ट्राइकर आन्टोनियो सानाब्रियाको गोलपोस्टतर्फ लक्षित हेडिङ बललाई नाभासले बाहिर निकालेका थिए।

LEAVE A REPLY