होली पर्वका विषयमा जनविचार

0
657

 

यो पर्वले एक अर्कासँग सम्बन्ध जोड्न मद्दत गर्दछ

Advertisements

 

रङ्गको पर्व होली मलाई असाध्यै मनपर्छ । प्रायजसो म भने परिवार अनि आफन्तसँग  नै मनाउँछु । तर यसपाली त मेरो कार्यक्षेत्र मोरङ परेको हुनाले परिवारसँग मनाउन सकिएन । होली सभ्य तरिकाले मनाउन सकेको खण्डमा  यसले खुशीयाली ल्याउँछ  भन्ने चाहीँ मेरो बुझाई हो । यो पर्वले एक अर्कासँग सम्बन्ध जोड्न मद्दत गर्दछ । यही अवसरमा म सम्पूर्णलाई होलीको शुभकामना दिन चाहन्छु ।

शोभाखर रेग्मी,

स्थानिय विकास अधिकारी,मोरङ

 

मूल्य र मान्यतालाई स्थापित गराएर लैजानुपर्दछ भन्ने कुरामा विश्वास राख्दछु

 

म त हाम्रो परम्परा, मूल्य र मान्यतालाई स्थापित गराएर लैजानुपर्दछ भन्ने कुरामा विश्वास राख्दछु । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने होली पर्वमा मात्र नभएर राजनैतिक, सामाजिक, आर्थिक लगायतका विभिन्न क्षेत्रमा विकृति देख्न सकिन्छ । देशको नेतृत्व गर्ने वर्ग नै गलत भएको हुनाले आज यस्तो विकृतिमय अवस्था सिर्जना भएको जस्तो लाग्छ । होली पर्वका नाममा लागू पदार्थ सेवन गर्ने, लोला हान्ने, विभिन्न किसिमका रङ्ग कसैको इच्छा विपरीत लगाउने जस्ता विभिन्न गलत काम भईरहेको देख्न सकिन्छ । होलीलाई धर्म, संस्कृतिको जगेर्ना गर्ने हिसाबले मनाउनु पर्दछ भन्ने मेरो मान्यता रहेको छ ।

माधवखनाल

काठमाडौँ जिल्ला विकास समिति

पूर्व उपसभापति

 

अभिभावकले पनि बालबालिकालाई होलिका बारेमा चेतना गराएर आफ्नो दायित्व पूरा गर्नुपर्छ

होलीपर्व पछिल्लो समयमा विकृतिको रुपमा विकसित भएको यथार्थ हो । यो उत्सव एउटा सांस्कृतिक पर्व, भाइचारा अनि साथित्वको रुपमा विकसित हुन सकिरहेको छैन । होली पर्वलाई हाल आएर प्रविधिसँग समेत जोडिएर देखासिकीको रुपमा लिन थालिएको छ । यस्ता विकृतिलाई विद्यालय, अभिभावक लगायतका सरोकारवालाहरु सबै मिलेर होलीलाई सांस्कृतिक पर्व एवम् उत्सवका रुपमा मनाउन आवश्यक छ ।होली पर्वलाई सांस्कृतिकपर्वको रुपमा विकसित गर्नका लागि विद्यालयले पनि विद्यार्थीलाई शिक्षित बनाउँदै अभिभावकले पनि बालबालिकालाई होलिका बारेमा चेतना गराएर आफ्नो दायित्व पूरा गर्नुपर्ने देखिन्छ । तब मात्र होलीले उल्लास र उत्सवको रुप लिन्छ तब यसले संस्कृतिको संरक्षण र जगेर्ना गर्दछ ।

–फणिन्द्र प्रसाद घिमिरे

विद्यालय निरीक्षक

जि.शि.का. काठमाडौँ ।

 

अनुमति लिएर मात्र रङ्ग खेल्नुपर्दछ

 

होली पर्व हिन्दु धर्मावलम्बीहरुको एक विशेष चाड हो । म पनि हिन्दु धर्म मान्ने भएकाले यो पर्व मान्नुपर्ने धारणा राख्दछु । यी पछिल्ला दिनहरुमा चाडपर्व मान्ने नाममा उत्श्रृङ्खलता देखिएको छ । होलीलाई सौहार्दपूर्ण र आपसी सद्भाव बढाउने चाडको रुपमा मनाउनुपर्दछ । आफन्त बीचमा रङ्गहरुको रमाइलोपनाले होली खेलेको खण्डमा सौहार्दता गाँसिन्छ । जो कोहिले पनि कसैलाई दुःख पुगोस् भन्ने नियत नराखी अनुमति लिएर मात्र रङ्ग खेल्नुपर्दछ । यस पर्वमा विकृति भित्र्याएर सुखका पर्वका रुपमा लिन थालिएको होलीलाई दुःखका पर्वका रुपमा हामीले परिणत गर्न खोजिरहेका छौँ कि जस्तो लाग्छ । यसलाई सुधार्न मान्यजनहरुले बालकबालिकाहरुलाई यस पर्वका विषयमा बुझाउन आवश्यक छ । साथै विद्यालयको पनि यसमा महत्वपूर्ण भूमिका रहनुपर्दछ । बालबच्चाहरुलाई बोझ भन्दा पनि यसलाई आत्मियताको पर्वका रुपमा लिन परिवारले सिकाउनु आवश्यक छ । अभिभावक र शिक्षकले बालबालिकालाई बुझाउन सकेको खण्डमा केही हदसम्म विकृतिमा सुधार आउने देखिन्छ ।

 

विष्णुप्रसाद अधिकारी

प्रधानाध्यापक

पशुपति मित्र माध्यमिक विद्यालय

 

 

होलिले सम्पूर्णमा भावनात्मक पुलको काम  गरेको छ

 

होली एउटा सामाजिक सद्भाव, हार्दिकता र एकताको प्रतिकका रुपमा रंगहरु मार्फत् अभिव्यक्त गरिने पर्व हो । रंगहरुले जीवनमा विशेष महत्व राख्ने भएकाले पनि फरक फरक रंगहरुले होलीमय जीवन रंगीन बन्न पुग्छ । त्यस्तै सामाजिक रुपमा रंगहरु मार्फत् भाइचारा र सद्भाव बढ्छ र एक व्यक्तिबाट अर्को व्यक्ति अनि एक समुदायबाट अर्को समुदायसम्म पु¥याउन होलीले विशेष भूमिका खेलेको हुन्छ  ।

पक्कै पनि समय परिवर्तनसँगै ‘होली’मनाउने प्रवृत्ति भने बदलिएको छ । आजभोली होलीका नाममा लोला हान्ने, नशालु पदार्थ सेवन गर्ने, डान्सबार र रेष्टुरेन्टमा उत्श्रृङ्खल गतिविधि गर्ने, रंगमा अन्य पदार्थ मिसाएर जथाभावी लगाइदिने इत्यादि कारणले होलीको मर्म र प्रचलनमा केही असर परे तापनि आम युवायुवती वयोवृद्ध, सामाजिक अगुवाहरु होलिले सम्पूर्णमा

भावनात्मक पुलको काम  गरेको छ ।

विज्ञान प्रविद् दाहाल

विद्यार्थी–पशुपति बहुमुखी क्याम्पस

 

 

एक आपसमा शुभकामना व्यक्त गरी मनाउनु ठीक हुन्छ

 

अहिलेको बढ्दो विकृतिले होलीलाई नकारात्मक रुपबाट मनाउने अभ्यास हुन लागेको आभाष हुन थालेको छ । पछिल्लो समयमा होलीको नाममा विभिन्न किसिमका रंगहरु फोहोर पानीमा मिसाएर स्वास्थ्यको ख्याल नै नराखी बाटोमा हिँड्ने अपरिचित मानिसहरुलाई समेत लोलाले हान्ने गलत परिपाटी पनि क्रमिक रुपमा विकसित हुँदै गइरहेको छ । तसर्थ समाजमा होली नमनाउने मानिसहरु पनि हुने गर्दछन् भन्ने ख्याल राख्नुपर्दछ जस्तो लाग्छ मलाई । होली नमनाउने मानिसहरुलाई जबरजस्ती रङ्ग लगाइदिने, पानी छ्याप्ने गर्नु हुँदैन । यसरी होली खेल्नु गलत हो । मलाई लाग्छ होली आ–आफ्ना साथीभाई, ईष्टमित्रसँग घरमा बसेर आ–आफ्नै किसिमले अरुलाई असर नपर्ने गरी खेल्नु राम्रो हो । होली विभिन्न रंगहरुको पर्व भएकोले एक अर्कालाई रंगहरु लगाइदिएर एक आपसमा शुभकामना व्यक्त गरी मनाउनु ठीक हुन्छ । विभिन्न परिकारहरु बनाएर खाने, नाचगान गर्दै रमाइलो गरेर होली मनाउनुपर्छ भन्ने नै मरो धारणा हो ।

सविना तिमल्सिना

 

विद्यार्थी–पुष्पलाल मेमोरियल कलेज

 

साँस्कृतिक पहिचानलाई सत्मार्गतर्फ निर्देश गर्न सक्नु नै वर्तमान समयको माग हो

होली पृथक साँस्कृतिक पहिचान बोकेको चाड हो । आपसमा हर्षोल्लास, माया, प्रेम, सद्भाव साटासाट गर्नु नै यो चार्डको विशेषता हो । केही युवाहरुले यो चाडलाई गलत रुप दिएर नकारात्मक परिणाम आएको देख्दा र सुन्दा भने दुख लाग्छ । विशेषतः जथाभावी अबिर दल्ने, लोला हान्ने, जाँडरक्सी खाने, होहल्ला गर्ने आदि विकृती अहिलेको पुस्तामा हावी भएको देखिन्छ । मुख्यतय यस विषयमा युवा वर्गले सजकता अपनाउनुपर्छ । हामी शिक्षित वर्गले सन्देशमूलक काम गरी साँस्कृतिक पहिचानलाई सत्मार्गतर्फ निर्देश गर्न सक्नु नै वर्तमान समयकोे माग हो ।

पृथक दाहाल

युवा साहित्यकार

 

होलीले वर्षभरिको फिक्का  जिन्दगीमा रङ्ग भर्ने काम गर्दछ

 

होली परिवार तथा छिमेकसँग  मनाउँदा रमाइलो लाग्छ । यसपाली  परीक्षा चलिरहेको हुनाले धेरै समय होली खेलिन्न होला । आफन्तहरु सबै एकै ठाउँमा  जम्मा भएर  होली मनाउँदा यो व्यस्त जीवनशैलीमा केहि समयसँगै बिताउन सकिन्छ । मेरो बुझाईमा होलीको दिन यस्तो खास दिन हो जसले वर्षभरिको फिक्का  जिन्दगीमा रङ्ग भर्ने काम गर्दछ ।

 

ओमकुमार पौडेल,रामेछाप ।

 

विकृतीको अन्त्य हुने हो भने यसको महत्व अझै बढ्ने थियो

 

परिवार तथा साथीहरु मिलेर होली खेलिन्छ । अझ हामी जस्ता युवामाझ  होलीको उत्साह नै अधिक हुन्छ । तर पनि यसको एउटा नराम्रो पक्ष भनेको हामीजस्ता महिलाहरु  होलीको केहि दिन अगाडि देखि नै लोला को शिकार बन्नुपर्छ ।  पुरुषहरुको यो कार्यलाई केहि हदसम्म पुलिस र सरकारले कम गराए पनि  यो विकृति पूर्ण रुपमा बन्द भएको छैन । होलीमा देखिने  यी र अन्य विकृतीको अन्त्य हुने हो भने यसको महत्व अझै बढ्ने थियो होला ।

 

रेनुका काफ्ले

सिन्धुली –९, हाल–काठमाडौँ ।

सबैजनालाई आपसी समझदारीमा हाली मनाउनका लागि आग्रह गर्दछु

म त एक दुई घण्टा होली खेलेर दिनभरि साथीहरुसँग तास खेलेर बिताउँछु । कामबाट  पनि त्यही दिनमात्र बिदा मिल्छ । त्यसै भएर तास खेल्यो, दिनभरि रमाइलो ग¥यो, हल्का फुल्का रङ्ग पनि खेल्यो । मेरो प्राय होली यसरी नै बितिरको छ,यसपाली पनि यस्तै हुन्छ होला । यसरी नै सबैजनालाई आपसी समझदारीमा हाली मनाउनका लागि आग्रह गर्दछु ।

 

वीर बहादुर खड्का

सिमरा, बारा

 

 

संस्कृतिको रुपमा मिलेर रमाउन सकेमा पर्वको जिवन्तता रहन्छ

हिन्दुहरुले विशेष महत्व राख्ने रङ्गिन पर्वको रुपमा लिने गरिन्छ होलीलाई । वसन्त ऋतुको आगमनसँगै पवित्र मित्रता,माया प्रेम र सद्भावको लागि एक आपसमा मिलेर रङ्गिने अनि रङ्गाउने चलन परम्परादेखि नै चलि आएको छ । सत्य युगमा राक्षसि होलिकाले प्रल्लादलाई झुक्काएर मार्न खोज्दा आँफै जलेर खरानी भएको प्रसङ्गमा हामीले होली मनाउदै आएका छाँै ।  रङ्गिन मित्रता बढाउने यो पर्वमा होली आउनुभन्दा केही समय अगाडिदेखि नै चोक चोेकमा बसेर होहल्ला गर्ने, फोहोर पानीको लोलाले हिर्काउने जस्ता अमानविय गतिविधि समेत देखिन्छ । यसरी पर्वलाई विकृति विसङ्गति भन्दा पनि संस्कृतिको रुपमा मिलेर रमाउन सकेमा पर्वको जिवन्तता रहन्छ ।

सुभद्रा ढकाल, सिन्धुपाल्चोक ।

 

पर्व माथि आँच आउने काम कसैले पनि गर्नु हँदैन

होली विशेषतः रङ्हरु को पर्व हो, होलीलाई भव्य र सभ्य तरिकाले मनाउनु्पर्छ । होली मनाउने बहानामा कसैको इच्छा विपरित रङ् लगाउने, लोला हान्ने, लगायतका अनैतिक काम गरी हाम्रो संस्कृति र पर्व माथि आँच आउने काम कसैले पनि गर्नु हँुदैन ।

उमेश रावत

लोक गायक

 

 

LEAVE A REPLY