एक्सपोजर, इमान र विवेक भएको मान्छे राजनीतिमा आउनुपर्छ

0
599

-रविन्द्र मिश्र

Advertisements

संयोजक साझा पार्टी

 

खरो प्रस्तुतीका कारण आम स्रोतामाझ चर्चा बटुल्दै आउनुभएका पत्रकार रविन्द्र मिश्र केही साता यता भिन्न कारणले चर्चामा हुनहुन्छु । बीबीसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर ‘साझा पार्टी’ स्थापना गरे सँगै मिश्रका बारेमा अहिले विभिन्न खाले चर्चा परिचर्चा छ । कतिपयले उहाँको राजनीति प्रवेशलाई सकारात्मक रुपमा हेरेका छन् भने केहीले उहाँको पार्टीबाट पनि आशा गर्न नसकिने भन्दै निराशा व्यक्त गरिरहेका छन् ।  नेपाल स्रोत साधनले सम्पन्न भएर पनि  राजनीतिक कारणले सधैँ अस्थिर र अविकसित रहेको भन्दै देशको भविष्य बनाएरै छोड्ने र समृद्ध नेपालका सूचकहरू कुनै पनि हालतमा हेरेरै मर्ने आफ्नो अठोट रहेको मिश्र बताउनुहन्छ । आफ्नो पार्टीले कल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसात गर्ने उहाँको भनाई छ । यस्तै विषय मिश्रसँग संकल्प पोष्टका  लागि जेएन शर्माले  गरेको  कुराकानीः

तपाईं पत्रकारितामा सक्रिय हुँदाहुँदै एकाएक कसरी दल खोलेर राजनीतिमा होमिने विचार आयो ?

यो देशको राजनीतिको चरित्र र विकास परिवर्तन गर्ने भनेरै राजनीति गर्छु भनेको हो ।  यो देशका नेताले जुन इमान उत्कृष्टतालाई आत्मसाथ गर्नुपथ्या यो गरेनन् ।  नेपालीको मनोविज्ञानलाई राजनीतिले अपहरण गरेको छ। जहाँसुकै राजनीतिको छिर्का देख्न सकिन्छ । सरकारी कार्यलयमा युनियनका सातसात बोर्ड देख्न सकिन्छ । त्यो संस्थाले सकारात्मक काम गर्न सक्छ र ? राजनीतिलाई शुद्धीकरण गर्नुपर्छ। प्रयास गर्नुपर्छ ।

राजनीतिको बारेमा एक्सपोजर भएको, इमान भएको, विवेक भएको मान्छे राजनीतिमा आउनुपर्छ भन्दै आएको छु ।  मैले सकेँ भने मेरो छोरालाई राजनीतिज्ञ बनाउँछु भनेको थिएँ पहिले नै । वकिल, डक्टर वा राम्रा पेसामा छोराछोरी लगाउने तर राजनीतिमा लगाउनै नचाहने अभिभावकको इच्छा हुँदो रहेछ । आफूले लेख्दै आएँ तर गरिनँ । आफूले नगरी चित्तै बुझेन र अहिले यस्तो निर्णय लिएँ। आमाबुबासँग आशीर्वाद लिँदा उहाँहरुले देशै बनाउँछु भनेका छौ भने राम्रो काम गर्नु भनेर आशीर्वाद दिनुभयो ।

केही समययता म लगायत कैयौं साथीहरूले नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण हाम्रो जीवनकालमा सम्भव छैन भन्ने तर्क गर्दै आएको कतिपय धेरैलाई थाहै छ । त्यस्तो सुसंस्कृत राजनीतिको सशक्त जग निर्माण गर्न सके दशकौंको स्वार्थलिप्त, दोहनकारी, आडम्बरी र अपारदर्शी राजनीतिका कारण देशको दुर्दशाबाट दिक्क भएका तर यो देश बनाउन सकिन्छ भन्ने विश्वास बोकेका स्वदेश तथा विदेशमा रहेका नेपालीले अवश्य साथ दिनेछन् भन्ने हाम्रो निष्कर्ष हो । हाम्रो उद्देश्य सबै क्षेत्रका इमान्दार र क्षमतावान नेपाली मिलेर स्वच्छ राजनीतिको बलमा देशलाई रूपान्तरण गर्ने साझा मञ्च निर्माण गर्नु हो ।

नेपालमै निर्वाचन आयोगमा दर्ता भएका दलको सँख्या हेर्ने हो भने १ सय भन्दा बढी छ । तपाईको एउटा दल थपिनुले सँख्या थपिनेबाहेक अरु कुनै अर्थ राख्ला र ?

देशको ठूलो जनसमुदाय त्यसरी एक ढिक्का हुँदा अस्तित्वमा आउने तर कहिल्यै देशको समृद्धिमुखी नेतृत्व गर्नै नसक्ने अर्को एउटा राजनीतिक पार्टी होइन, देशलाई आमूल परिवर्तनकारी दिशामा र्डोयाउन सक्ने नेतृत्व निर्माण हुनसक्छ भन्ने हाम्रो ठम्याई हो । त्यसका लागि एउटा समूह लामो समयदेखि वैचारिक र रणनीतिक मन्थनमा सक्रिय थियो । सो समूहले अब आफ्नो गृहकार्यलाई कार्यरूपमा परिणत गर्ने आत्मविश्वास हासिल गरेको छ ।

नेपालमा रहेका अरु पार्टीमा लाग्दा तपाईंलाई अघि बढ्न अझ सहज हुन्थ्यो होला । त्यो सम्भावना हुँदाहुँदै नयाँ दलनै खोल्नु पछाडी  कुनै कारण छ ?

मैले शुरू गर्न आँटेको राजनीतिक यात्रामा त्यो विश्वास, स्नेह र सहयोग अनि हाल गृहकार्यमा संलग्न साथीहरूले दिएको प्रेरणा र शक्तिले अत्यन्तै ठूलो ऊर्जा प्रदान गरेको छ। कतिपय शुभेच्छुकहरूले हाल विद्यमान कुनै पार्टीमार्फत नै राजनीतिकरूपमा अगाडि बढ्दा उपयुक्त हुने सल्लाह नदिएका होइनन्। तर विद्दयमान पार्टीहरूमार्फत अगाडि बढ्ने हो भने आफू बदलिने तर समग्र देश नबन्ने निष्कर्षमा पुगेका कारण मैले यो अलग र चुनौतिपूर्ण बाटो चयन गरेको हुँ ।

हामी छिटै कल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसात गर्ने नयाँ पार्टीमा तल्लो निकायदेखि तपाईंको सहभागितासहितको संगठन निर्माण र सम्बन्धित अन्य विषयबारे थप जानकारी उपलब्ध गराउनेछौं । कुनै दलमा आबद्ध नभएका, अन्य दलमा आबद्ध भए पनि ती दलबाट यो देशको हित हुनै सक्दैन भन्ने निष्कर्षमा पुगेका र अन्य विभिन्न सामाजिक संघसंगठनमा आबद्ध भएर समाजको सकारात्मक रूपान्तरणका लागि काम गरिरहेका सबै नेपालीहरूलाई हामी शान्त, सौम्य, देशभक्तिपूर्ण र विकासमूखी राजनीतिक उभारका लागि हामीले निर्माण गर्न लागेको मञ्च उपयोग गर्न आग्रह गर्दछौं ।

हामीले शुरु गर्न लागेको यो यात्रा केवल १०,१२ जना सांसदलाई संसद्मा पठाएर राजनीति गर्नका लागि होइन– यो देशको नेतृत्व गरेर नेपाली राजनीतिको चरित्र र सिंगो देश नै रूपान्तरण गर्नका लागि हो। तसर्थ हामीलाई विफल हुने या ठीकै मात्र गर्ने सुविधा छैन।

अहिले पार्टी स्थापना लामो समयदेखि भित्रभित्रै उम्लेको पानी छचलक्किएर पोखिएको मात्र हो । चाहना पहिले देखिनै थियो । अहिलेको समयमा पनि गरिएन भने कहिले गर्ने भन्ने भयो ।

 नयाँ पार्टी खुल्ने क्रम पछिल्लो समय बढेको छ । युवाहरुले स्वतस्फुर्त शुरु गरेको विवेकशिल पार्टी र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले स्थापना गरेको नयाँ शक्ति पार्टीमा खासै जनताको आकर्षण देखिएको छैन । तपाईंहरुको संगठन निमाण सहज देखिँदैन नी ?

विगतमा भएका यस्ता वैकल्पिक प्रयास, तिनका कमजोरी र विफलताबारे हामी अनभिज्ञ छैनौं । तिनबाट हामीले पाठ सिकेका छौं– तर्सिएका छैनौं। साथसाथै, हामी अधिकांश पेशागत राजनीतिक पृष्ठभूमिबाट नआएकोले यो यात्रा राजनीतिक पृष्ठभूमिबाट आएकाहरूका लागि भन्दा बढी असहज हुनेछ भन्नेमा हामीलाई कुनै भ्रम छैन । तर सुसूचित तयारीका साथ एउटा प्रतिबद्ध समूहले राजनीतिमा इमान्दार, दूरदृष्टिपूर्ण, सशक्त र राष्ट्रव्यापी हस्तक्षेप नगरी कुनै पनि देशको समष्टिगत रूपान्तरण सम्भव भएको छैन । हामी तयार भयौं– गाउँगाउँ, बस्तीबस्तीमा, अनि विदेशका नगर तथा शहरहरूमा तपाईं पनि तयार रहन हामी हार्दिक आह्वान गर्दछौं । तत्कालका लागि भने देशका हरेक टोल(टोलमा कम्तीमा ७ जना वा संभव भए त्यो भन्दा बढी संख्याको समूह निर्माणका लागि जुट्न हामी विनम्र आग्रह गर्दछौं, जुन छिटै पार्टीको संगठन निर्माणको आधारशिला हुनेछ। विदेशमा बस्ने नेपालीहरूको साथ र सहयोगका लागि हामी विशेष व्यवस्था गर्नेछौं र उनीहरूलाई विदेशका नगर तथा शहरहरूमा ‘सदभाव समूह’हरू निर्माण कार्य तत्काल अगाडि बढाउन अपिल गर्दछौं ।

तपाईंको पार्टीको मुल लक्ष्यचाहीँ के हो ?

संसारमा हामीभन्दा ज्यादै नै प्रतिकूल अवस्थामा रहेका देशले पनि १० देखि २० वर्षको बीचमा राजनीतिक स्थिरता प्राप्त गर्न र विकासलाई तीव्र गति दिन सकेका छन् भने हामीले नसक्ने कुरै छैन। हामीले शुरु गर्न लागेको यो यात्रा केवल १०,१२ जना सांसदलाई संसद्मा पठाएर राजनीति गर्नका लागि होइन– यो देशको नेतृत्व गरेर नेपाली राजनीतिको चरित्र र सिंगो देश नै रूपान्तरण गर्नका लागि हो। तसर्थ हामीलाई विफल हुने या ठीकै मात्र गर्ने सुविधा छैन। यस यात्रामा हामीलाई तपाईंको आशीर्वाद र सहयोग प्राप्त हुनेछ भन्ने हामीले विश्वास लिएका छौं भने तपाईंलाई हाम्रो सहयोग अवश्य मिल्ने नै छ । यो असाधारण रूपले स्रोत र साधन सम्पन्न तर राजनीतिक कारणले सधैं अस्थिर र अविकसित देशको भविष्य बनाएरै छोड्ने र समृद्ध नेपालका सूचकहरू कुनै पनि हालतमा हेरेरै मर्ने हाम्रो अठोट हो । ताकि, हाम्रा सन्ततिले बुढा बाउआमालाई नेपालमा छोडेर आयआर्जन, अलिकति सहज जीवनयापन र वृत्तिविकासका लागि विदेशिनु नपरोस, बरू तिनले यो देशमा विदेशीलाई समेत रोजगारी दिन सकून् ।

तपाईंहरुको संगठन निर्माण प्रक्रिया कसरी अघि बढ्छ ? पुरानै ढर्रामा अघि बढ्छ वा नयाँ केही शैली अपनाउँदै हुनुहुन्छ ?

हाम्रो पार्टी निर्माणको चरित्र जसरी हाम्रो दिमागमा बसेको छ त्यसभन्दा अलिक बेग्लै किसिमले सोचिनुपर्छ । संसारमा सिर्जनात्मकता भन्ने कुरा पनि हुन्छ। सिर्जनात्मकतालाई प्रयोग गर्न जानियो भने त्यो परम्परागत ट्रेण्डलाई ब्रेक गर्न सकिन्छ । स्पेनमा पोडेमस भन्ने एउटा पार्टी स्थापना भएको चार महिनामै युरोपियन संसदमा आठवटा सिट जित्यो। स्थापना भएको दुइ वर्षमा संसदमा झण्डै बीस प्रतिशत सिट जित्यो। त्यहाँ पनि अन्य परम्परागत पार्टीहरुको एकदमै बलियो पकड थियो। भारतमा आम आदमी पार्टीको के भयो हामीले देखिहाल्यौं। हरेक टोलमा स्वतः स्फूर्त रुपमा सातजना वा त्यसभन्दा बढीको एउटा समूह बनाउनुस् भन्ने छौं। त्यो समूह नै हाम्रो पार्टीको सबैभन्दा मुनिको आधारशिला हुनेछ। यसरी तल्लो निकाय स्वतः स्फूर्त रुपमा निर्माण हुनेबित्तिकै त्योभन्दा माथिको इकाइ निर्माण गर्न सजिलो हुन्छ। यही क्रम केन्द्रसम्म बन्दै जान्छ। हाम्रो भनाइ एउटै हो, कि त यो देसका आम सर्वसाधारणले ‘तिमीहरु गर्न सक्दैनौ, पुरानैले गर्ने हो’ भन्नुप¥यो। होइन भने स्वतःस्फूर्त रुपमा यसरी सात वा त्योभन्दा बढीको समूह बनाएर गठन गर्न थाल्नुप¥यो। त्यसको जानकारी हाम्रो छिट्टै सार्वजनिक हुने वेब साइटहरुबाट बाहिर आउँछ। त्यहाँ भित्रै सबै सम्पर्कहरु हुन्छन् । यसरी एउटा आकार बन्दै जान्छ। प्रारम्भिक प्रतिक्रिया उत्साहजनक छ। यसरी यो पार्टीको निर्माण स्वतःस्फूर्त अघि बढ्यो भने हामी सफल हुने आधार त्यही हुनेछ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

अहिले पार्टी स्थापना लामो समयदेखि भित्रभित्रै उम्लेको पानी छचलक्किएर पोखिएको मात्र हो । चाहना पहिले देखिनै थियो । अहिलेको समयमा पनि गरिएन भने कहिले गर्ने भन्ने भयो । विविध परिस्थिति अनुकूल नहुँदा पनि हामी साथीहरुले निर्णय गरेका हौं । मलाई भन्न त धेरै मन छ। देशमा हामीले लामो ७० वर्षसम्म जे देख्यौं भोग्यौ । यति धेरै स्रोतसाधन सम्पन्न देश अरु छैनन्। तर ती देश धेरै अघि बढिसके। उनीहरुले युवा छोराछोरीलाई विदेशमा विक्री गर्नुपर्दैन । राजनीतिमा जानका लागि मैले बिबिसी छोडेँ । पूर्ण प्रतिबद्धताका साथ लाग्ने हो भने  हाम्रै जीवनकालमा देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने लक्ष्यका साथ राजनीतिमा आएको हुँ ।

 

LEAVE A REPLY