कांग्रेस सुधारको १५ बुँदे प्रस्ताव

0
14244

विश्वप्रकाश शर्मा नेता, नेपाली कांग्रेस

Advertisements

समाधान के त ? मेरो प्रस्ताव छ— नीति अधिवेशन र नेतृत्व अधिवेशन अलग–अलग गरौं र न्युनतम ६ महिनाको फरकमा गरौं । नीति अधिवेशनमा तत्कालीन समाज व्यवस्थाका अनेकन प्रश्नउपर दृष्टिकोण र कार्यक्रम निर्माणमा हामी केन्द्रित हुनेछौं भने त्यसबाट पारित हुने एजेन्डा अनुकूलको नेतृत्व चयन गर्न नेतृत्व अधिवेशनलाई मार्गप्रशस्त हुनेछ । केन्द्रीय नेतृत्व चयनका लागि पनि एकैदिन हरेक प्रान्तको एकथलोमा भेला भएर भोट दिन सकिने या जिल्लाबाटै अनलाइन भोटिङ प्रविधि सुविधा उपयोग गर्न सकिनेछ

१. मनोवैज्ञानिक रूपान्तरणको प्रश्न
कांग्रेसजनको धमनीमा मधेसका रामनारायण मिश्रदेखि पहाडका भीमनारायण श्रेष्ठसम्मको रगत छ, त्यो रगत केवल सत्ता र सत्ताका लागि थिएन र होइन । रुकुमका महाधिवेशन प्रतिनिधि गोपाल शर्मा माओवादीले दुवै आँखामा तेजाब हालिदिएका कारण दृष्टिविहीन हुनुहुन्छ, तर अन्तरदृष्टिले हेर्न चाहनुहुन्छ, सिद्धान्तमुखी कांग्रेस जमात । यो रूपान्तरणसँगै कांग्रेस संस्कृतिमा पुरानो आत्मालाई जागृत गर्न जरुरी छ । प्रायस् सबै राजनीतिक दलमा पार्टी्भित्रको प्रतिस्पर्धाले यदाकदा तिक्त रूप लिएको देखिन्छ । कतिपय ठाउँमा आन्तरिक तिक्तताका कारण पार्टी्भित्रका सहयात्रीलाई भन्दा अन्य पार्टीका मानिसलाई निकटजस्तो ठान्ने मनोविज्ञान बढेको छ ।
विपक्षी राजनीतिक नेता–कार्यकर्तासँगको सौहार्दता स्वस्थ–समाज निर्माणका लागि अनिवार्य कडी हो । तर आन्तरिक प्रतिस्पर्धापछिको परिणामलाई हार्दिकतासँग आत्मसात गर्ने मनोविज्ञान दुब्लाउँदै जानु समुन्नत समाजका लागि सुखद कुरा होइन । राजनीतिमा लोकतान्त्रिक संस्कारको विकास हुनसकेन भने लोकतान्त्रिक प्रक्रिया निरस कर्मकाण्ड बन्न पुग्छ । अतस् यसको मनोवैज्ञानिक रूपान्तरण आफ्नै घरभित्र खोजी गरेर कांग्रेसले सोही बमोजिमको संस्कृतितर्फ अन्य दललाई पनि प्रेरित गर्न जरुरी छ । एउटा नेताको समर्थन गरिरहँदा अर्को नेताको निन्दा गर्ने नकारात्मक प्रवृत्तिमा लगाम लगाउन पनि इमानदार कांग्रेस अघि सर्नुपर्छ ।

२. जगेडा प्रथाको अन्त्य :
नेपाली कांग्रेसभित्र हजारौं नेता–कार्यकर्ता जगेडामा छन् । तपाई के जिम्मेवारीमा हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा कोही केन्द्रीय सदस्य भन्छन्, कोही अर्काे तहको सदस्य बताउँछन् । तर तिनले बताउने त्यो ओहदा केवल पदमात्र हो, सम्बन्धित कमिटीले विषयगत दायित्व र कार्यक्षेत्र व्यक्तिको भागमा तोकेपछि मात्रै त्यो पदबाहकको जिम्मेवारी स्पष्ट हुनजान्छ । सचिव अर्थ मन्त्रालय भनेपछि दुई कुरा प्रस्ट बुझिन्छ, पद सचिव हो र अर्थ मन्त्रालय जिम्मेवारी हो । मन्त्रालयको जिम्मेवारी नतोकिएको अवस्थामा कोही छन् भने बुझ्नुपर्छ ऊ, जिम्मेवारीमा छैन अर्थात ऊ जगेडामा छ । हाम्रा प्रायस् दलले हजारौं कार्यकर्तालाई जगेडामा राखेका छन् । कांग्रेसले यो जगेडा प्रथाको अन्त्य गरेर सांगठनिक कार्य्विभाजनको व्यवस्थापनलाई चुस्त तुल्याउनुपर्छ ।

३. नीति र नेतृत्व अधिवेशन अलग
अधिवेशन भनिरहँदा नीति र कार्यक्रम माथिको बहस अनि नेतृत्व छनोट दुवै कुरा गाँसिएर आउँछ । तर दुई दशकयता भएका सबै राजनीतिक दलको अधिवेशनमा नीतिको प्रश्न कागजमा सीमित भएर गौण भएको अनि नेतृत्व चयनको राप र ताप प्रधान हुनपुगेको चित्र देखियो । तत्कालै ‘यु–टर्न’ मारेर नीति र कार्यक्रमको छलफललाई घनिभूत बनाउने र नेतृत्व चयनको प्रश्नलाई ‘ब्याक बेञ्च’मा धकेल्न सकिने अवस्था देखिँदैन । भर्खरै सम्पन्न गाउँ–क्षेत्र र जिल्लाका अधिवेशनमा उद्घाटन सत्र, बन्द सत्र, लिखित प्रतिवेदन, आगामी कार्ययोजना प्रस्ताव, छलफल, बहसजस्ता प्रक्रिया मुस्किलले केही जिल्लामा भए होलान् । प्रायः ठाउँमा केवल ‘चुनाव’ सम्पन्न भयो ।
समाधान के त ? मेरो प्रस्ताव छ— नीति अधिवेशन र नेतृत्व अधिवेशन अलग–अलग गरौं र न्युनतम ६ महिनाको फरकमा गरौं । नीति अधिवेशनमा तत्कालीन समाज व्यवस्थाका अनेकन प्रश्नउपर दृष्टिकोण र कार्यक्रम निर्माणमा हामी केन्द्रित हुनेछौं भने त्यसबाट पारित हुने एजेन्डा अनुकूलको नेतृत्व चयन गर्न नेतृत्व अधिवेशनलाई मार्गप्रशस्त हुनेछ । केन्द्रीय नेतृत्व चयनका लागि पनि एकैदिन हरेक प्रान्तको एकथलोमा भेला भएर भोट दिन सकिने या जिल्लाबाटै अनलाइन भोटिङ प्रविधि सुविधा उपयोग गर्न सकिनेछ ।

४. आन्तरिक निर्वाचन आयोग
‘राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलको एक अलग आन्तरिक निर्वाचन आयोग हुनुपर्नेछ, जसले संवैधानिक अंगको रूपमा रहेको बहादुर भवनको निर्वाचन आयोगसँग नीतिगत समन्वय गरी दलको सबै तहको आन्तरिक निर्वाचन आवधिक रूपले सम्पन्न गर्नेछ ।’ यस्तो संवैधानिक व्यवस्था भोलिका दिनमा दलहरूको आधुनिकीकरणका लागि एक महत्त्वपूर्ण पाटो बन्न सक्छ । सम्बन्धित दलप्रति आस्थावान तर निर्वाचन प्रक्रियाको निश्चित वर्षको अनुभव हासिल गरेका सुयोग्य व्यक्तित्वहरू खुल्ला प्रतिस्पर्धाबाट छनोट गरी आन्तरिक निर्वाचन आयोगको गठन गर्ने अत्याधुनिक अवस्थामा पुग्ने कर्मको थालनी परिपक्व राजनीतिक दलका रूपमा नेपाली कांग्रेसले गर्नुपर्छ । त्यसले दिने सकारात्मक परिणामका तुलनामा आयोगउपर गरिने प्रशासनिक बन्दोबस्तीको खर्च सामान्य हुन जानेछ ।

५. निर्णय प्रक्रियामा लोकतन्त्र
हाम्रा प्रायः सबै राजनीतिक दलको निर्णय प्रक्रियाबारे बेला–बेला गम्भीर प्रश्न उठ्ने गरेका छन् । निर्णय प्रक्रिया भनेको लोकतान्त्रिक विधिको सबैभन्दा महत्त्वपूर्ण मोड हो । कुनै पनि दल लोकतान्त्रिक हो भनेर मान्ने प्रमुख आधार उसले बोक्ने लोकतन्त्रको सिद्धान्तले निरूपण गर्दैन । त्यो सिद्धान्तका लागि गरिएको संघर्ष मात्रैले पनि त्यसको छिनोफानो हुन्न । महत्त्वपूर्ण प्रश्नहरूको निर्णय प्रक्रियामा पार्टीका बहुसंख्यक इकाइ र सदस्यहरूको व्यावहारिक या भावनात्मक संलग्नता रहेको छ या छैन भनेर निश्चित गरिएपछि सो दल कति लोकतान्त्रिक छरछैन भन्ने प्रस्ट हुन्छ । यो कोणबाट हेर्दा हाम्रा मुख्य राजनीतिक दलहरू सिद्धान्ततः लोकतान्त्रिक छन् , व्यवहारतः लोकतान्त्रिक परीक्षाकै चरणमा छन् ।
केन्द्रीय सदस्यहरू हाँस्दै–हाँस्दै आफ्नो अधिकार पदाधिकारीलाई सुम्पन्छन्, निर्णय आइसकेपछि विरोधको चर्को अभिव्यक्ति राख्छन् । पदाधिकारीहरू ३र४ नेतातिर दायित्व हस्तान्तरण गर्छन, अनि पछि विमतिको स्वर उराल्छन् । अधिकार पुग्छ, अन्त्यमा एउटा नेतामा । अनि निर्णय आइसकेपछि आम कार्यकर्ताले ढाकछोप गर्दै भन्नुपर्ने हुन्छ, ‘समयको आवश्यकतालाई मध्यनजर गरेर हाम्रो पार्टीले यो निर्णय लिएको हो, यो निर्णयको ऐतिहासिक महत्व छ ।’
केन्द्रीय समिति भनेको पार्टीको केन्द्रीय संसद हो र हामी संसदीय व्यवस्थामा छौं । यही व्यवस्थाको संसदीय प्रक्रिया बमोजिम पार्टी्भित्रका निर्णयहरू लिने विधि अपनाउनु सर्वोत्तम हुनेछ । जहाँ प्रस्ताव पेस हुन्छ, छलफल हुन्छ, बहस–विवाद हुन्छ र निर्णय गर्ने सामथ्र्य एवं स्वामित्व त्यही केन्द्रीय समितिभित्र हुन्छ, हुनुपर्छ, रहनुपर्छ । गम्भीर मुद्दाउपर निर्णयमा पुग्नुअघि पार्टीका स्थानीय तहसँग पनि छोटो सूचनाका आधारमा जनमत संकलन गर्न ‘आइटी’को सहारा लिन सकिन्छ, लिइनुपर्छ ।

६. आन्तरिक ‘आइटी’को सञ्जाल
जमाना प्रविधिको छ । नेपाली कांग्रेसलाई अत्याधुनिक राजनीतिक दलका रूपमा विकसित गर्न केन्द्र–प्रान्त–जिल्ला–क्षेत्र–नगर–गाउँ–वडासम्मलाई एउटै डालोमा राखेर सूचना सम्प्रेषण, आरोपबारे तथ्य प्रस्टीकरण, नयाँ विषयमा अभिमत संकलनजस्ता कार्य गर्न सकिनेछ । विदेशस्थित जनसम्पर्क समितिहरूले आफ्ना कतिपय बैठक ‘कन्फ्रेन्स कल’का रूपमा गर्ने गरेका छन् । पार्टी निर्णय प्रक्रिया र कार्यक्रमलाई चुस्त गराउन त्यही ढंगले प्रविधि प्रयोग हामी गर्न सक्छौं । प्रधानमन्त्री पदमा पार्टीले तत्काल उम्मेदवारी दिन उचित कि अनुचित ? यस्तै महत्त्वपूर्ण प्रश्नमा ‘पार्टी्भित्रको जनमत संकलन तत्कालै गर्न’ कम्तीमा महासमिति सदस्यहरूले कम्तीमा एउटा दिन भित्रमा ‘एस अर नो’मा निर्णय दिन सक्छन् । जसले केन्द्रलाई आमभावना बमोजिम निर्णयमा पुग्न मार्गप्रशस्त गरिदिन्छ ।
प्रविधिको प्रयोग जिल्लामै बसेर नेतृत्व चयनमा मत दिनसक्ने तहसम्म र्पुयाउन सकिन्छ । नीति अधिवेशन एउटै थलोमा गराउने, नेतृत्व चयनका लागि भने आवश्यक परेको खण्डमा आफ्नै जिल्लामा बसेर अनलाइन सुविधामार्फत भोटिङ गर्ने, यस्तो व्यवस्थाले खासगरी कतिपय भ्रातृ संगठनको नेतृत्व चयनको अधिवेशनलाई सहज बनाउनेछ ।

७. समावेशी प्रतिनिधित्वमा नयाँ अनुहार
निश्चित समुदायबाट निश्चित व्यक्तित्वलाई नै पार्टीको निकाय या संसदमा र्पुयाइरहँदा ‘उही व्यक्तिलाई कति पटक ?’ भन्ने प्रश्नको सामुहिक हल खोज्नुपर्छ । आरक्षण भनेको सदैवका लागि एउटैको नाम रहन सक्नेगरी कित्ताकाट गरेर दिइने जग्गा होइन । सबै दलमा कतिपय निश्चित अनुहार पार्टी र संसदमा ‘कोटा’लाई क्याप्चरझैं गरेर बसेका देखिन्छन् । अतस् आरक्षणको अधिकार उही व्यक्तिले दुईपटक भन्दा बढी गर्न नपाउने वैधानिक व्यवस्था गरिनुपर्छ । जसले गर्दा एकातर्फ सशक्त बनेर खुला प्रतिस्पर्धामा जान सम्बन्धितलाई दबाब पर्नेछ भने अर्कातर्फ नयाँ अनुहारले पनि आफूलाई अघि बढाउने अवसर पाउनेछन् । हाम्रो पार्टीले यसको अगुवाइ गर्ने श्रेय लिनुपर्छ ।

८. कोषाध्यक्ष खारेजी, आधुनिक बन्दोबस्त
चन्दाको धन्दा र अपारदर्शी हिसाब—किताबको कारण हाम्रा प्रायः सबै दल कम–बेसी आलोचित छन् । एक आधुनिक राजनीतिक दलको पहिचान भनेको पार्टीको सुदृढ आन्तरिक अर्थतन्त्र पनि हो । थपना बनाइएको कोषाध्यक्ष पद खारेज गरेर कार्ययोजना सहितको कर्मशील ३ देखि ५ जनासम्मको टिम सबै तहमा निर्माण गर्नु उचित हुनेछ । पार्टी्भित्र ‘आन्तरिक सहकारी र पार्टीका निश्चित सदस्यमार्फत आयआर्जनमा लगानी’ नवीन थालनी हुनसक्छ । क्षमता र हैसियतचाहिँ मुलुक हाँक्ने तर पार्टी चलाउनचाहिँ सडकमा माग्ने ! यस्तो लज्जास्पद अवस्थाबाट राजनीतिक दलहरू मुक्त हुने अभियानको श्रीगणेश कांग्रेसले गर्नुपर्छ ।

९. छवि चिन्तनको प्रश्न
व्यक्ति या कुनै पनि राजनीतिक दलका निम्ति सबैभन्दा ठूलो सार्वजनिक सम्पत्ति भनेको स्वयम् उसको छवि हो । नराम्रो छवि बन्न नराम्रो कर्म गरिदिए पुग्छ, थप मिहेनत गर्नै पर्दैन । तर राम्रो छवि बन्न राम्रो कर्म गरेर मात्रै नहुँदो रहेछ, त्यो कर्मले जनमानसमा पर्याप्त प्रचार पाउनु पर्दोरहेछ । अस्थिरता र हिंसाका बीच पनि कांग्रेसको नेतृत्वमा केही आर्थिक प्रगति बितेको अढाई दशकमा मुलुकले हासिल गरेको छ, तर हाम्रो छवि भने ‘कांग्रेसले केही गरेन’ भन्ने छ । संवैधानिक राजतन्त्र छाडेर गणतन्त्र कार्यान्वयनको नेतृत्व कांग्रेसले र्गयो, तर पनि हाम्रो छवि रह्यो ‘यथास्थितिवादी’ । दिल्लीको दबाब झेलेर पनि कांग्रेसको नेतृत्वमा नयाँ संविधान बन्यो, तर ‘भारत परस्त’को छवि बनाइदिने प्रयत्न भयो । नयाँ संविधानमा मधेसहितका थुप्रै प्रावधान थिए, थप दुईबुँदे संशोधन कांग्रेसकै अगुवाइमा आयो, तर मधेसमा स्थापित गर्ने प्रयत्न गरियो, कांग्रेस मधेसविरोधी हो भन्ने छवि । यो समग्र विश्लेषणपछि निष्कर्षमा पुग्नुपर्ने हुन्छ, कांग्रेस कर्म गर्छ, सोही बमोजिमको छवि निर्माण गर्न भने योग्यता र्पुयाउँदैन ।
केन्द्रीय समितिभित्र ५ जनाको एक टिम बनाइनुपर्छ, जसले पार्टीको छवि उच्च राख्न आवश्यक आइडिया उत्पादन गर्न सकोस् र आवश्यकता अनुसार अरूमाथि वैचारिक हमलाका लागि चुस्त ‘डिजाइन’ गर्न सकोस् ।

१०. विज्ञ बनाऊँ कि विज्ञ बोलाऊँ
पूर्वी टिमोर स्वतन्त्र भएपछि संघर्षका नेता सनाना गुजमाओले भने, ‘अब यो देश बनाउन कुशल कालगढी मस्तिष्क भएका मानिस पूर्वी टिमोरको भिडमा खोज्नुपर्छ ।’ तर हामीले संघर्षपछि निर्माणका लागि पनि आफैंलाई नै योग्य दाबा गर्दै आएका छौं । संघर्ष र पार्टी निर्माणका लागि हुनुपर्ने निश्चित योग्यता नै मुलुकको आधुनिक निर्माणमा काम लाग्ने पर्याप्त योग्यता होइन । अतः हाम्रासामु दुई विकल्प छन्, एक– पार्टी्भित्रका निश्चित कार्यकर्तालाई निश्चित विषयका लागि प्रशिक्षित र दीक्षित तुल्याउने । दुई– दुनियाभर छरिएर रहेका सुयोग्यरविज्ञ शुभचिन्तकलाई सक्रिय राजनीतिमा आएर राष्ट्र निर्माणको अभियानमा सरिक हुन अपिल गर्ने ।
संघर्षले योगदान माग्छ, शासनले योग्यता । अतस् हाम्रो पार्टीले शास्त्रीय ढंगले मात्रै सोच्नुहुन्न । प्रश्न दलको होइन, देशको हो ।

११. ‘क्रियाशील’ आत्मनिर्भर अभियान
मैले भन्ने गरेको छु, ‘३ दिन पार्टीका लागि ४ दिन रोटीका लागि’ । विद्यार्थी राजनीतिका नाममा पढाइको बलिदान पार्टी राजनीतिका नाममा घर–गृहस्थीको बलिदान उचित होइन । उसबेला संघर्षको बेग्लै कुरा, अब पार्टीले प्रत्येक कार्यकर्तालाई आत्मनिर्भर बनाउन अपिल गर्नुपर्छ, प्रेरित गर्नुपर्छ र निश्चित अवधारणा निर्माण गरेर त्यसका लागि नीतिगत सहजीकरण गरिदिनुपर्छ । कतिपय कम्युनिष्ट पार्टीमा जस्तो हाम्रा पार्टी सदस्यको कुनै तलब छैन । केवल भावनाले पार्टी सदस्य परिचालित छन् । अब पार्टीका प्रत्येक क्रियाशील सदस्यलाई क्रियाशील राजनीतिक कार्यकतामात्र होइन, क्रियाशील व्यवसायीका रूपमा स्थापित हुन क्रियाशील कृषक बन्न पार्टीले प्रेरित गर्नुपर्छ ।
आत्मनिर्भर कार्यकर्ता, आत्मनिर्भर कांग्रेस । आत्मनिर्भर कांग्रेस, आत्मनिर्भर देश हाम्रो अभिष्ठ बन्नुपर्छ ।

 

कांग्रेसको जन्म क्रान्तिकारी ढंगले भयो, तर नेपाली समाजको विशिष्ट सन्तुलनका सन्दर्भमा कांग्रेस सदैव मध्यमार्गी शक्ति रहिआएको छ । अतस् आजका सबै जीवन्त मुद्दाका सन्दर्भमा कांग्रेस महाधिवेशनले प्रस्ट, सन्तुलित र व्यावहारिक दृष्टिकोण तय गरेर सोही बमोजिम हस्तक्षेप र नेतृत्वका लागि आफूलाई प्रखर तुल्याउनुपर्छ ।

 

१२. सामाजिक मुद्दामा कांग्रेस
दलितको मुद्दा कसको ? एनजीओको । बालश्रमको मुद्दा ? एनजीओको । बोक्सी प्रथा गलत भनेर बुझाउन को लाग्ने ? एनजीओ । दाइजोका कारण जीवन क्षति हुनु हुन्न, कसले आवाज उठाउने ? एनजीओले । सबै काम एनजीओले गरिदिएपछि राजनीतिक दलको सामाजिक एजेन्डाचाहिँ के त ?
बाटो बनाउने काम सडक विभागको, बिजुलीका लागि प्राधिकरण छँदैछ, राजनीतिकर्मीको काम के ? नियम कानुन बनाउने ? त्यसका लागि सांसद छँदैछन्, बाँकी अरूको काम के त ? गाउँ–गाउँमा रहेका हजारौं कार्यकर्तालाई हामी ‘मिसन’विहीन ‘मेसिन’ त बनाइरहेका छैनौं ? यसको समाधान भनेको राजनीतिक पार्टीको सामाजिकीकरण नै हो । ठाउँ–गाउँ हेरी अनेकन सामाजिक विसंगति र मुद्दा छन् । जसमा रूपान्तरणको अभियान जरुरी छ । दलहरूले त्यसमा आवश्यक हस्तक्षेप र समन्वय गर्नैपर्छ । कांग्रेसले विशेष मिसनका साथ यो अभियानमा आफ्नो पार्टी पंक्तिलाई सक्रिय तुल्याउनुपर्छ । सामाजिक चेतना, सेवा र कल्याणको क्षेत्रमा दलहरूबीच प्रतिस्पर्धात्मक एकता आजको आवश्यकता हो ।
१३. ‘लफुंगे’ प्रवृत्तिको अन्त्य
कांग्रेस पार्टीको सबैभन्दा ठूलो चुनौती न एमाले हो न एमाओवादी । पार्टी्भित्र एउटा लफुङ्गे प्रवृत्ति ‘जिका भाइरस’का रूपमा छ, जसका कारण कांग्रेस इतिहासमा भन्दा वर्तमानमा कमजोर भएको हो । यो प्रवृत्ति बारेको व्याख्या पार्टीका आन्तरिक प्रशिक्षणहरूमा गर्दै आएको छु, यो सार्वजनिक आलेखमा त्यसलाई स्थान नदिऔं । प्रायस् सबै पार्टी त्यो प्रवृत्तिबाट ग्रसित छन् । कांग्रेस महाधिवेशनका हामी प्रतिनिधिहरूले स्पष्ट भए हुन्छ, शब्दकोशमा नभेटिने तर पार्टीहरूभित्र भेटिने त्यो लफुङ्गे प्रवृत्तिलाई कांग्रेसभित्र नियन्त्रणमा नलिने हो भने जस्तै नेतृत्व भए पनि कुनै अर्थ रहन्न । पार्टीमा परिवर्तनको सबैभन्दा पेचिलो यो प्रश्नको हल खोज्नु कांग्रेसमा साँचो परिवर्तनको सुनिश्चितता हुनेछ ।

१४. जोडिऔं जमिनसँग
मधेसको मुद्दालाई मधेसमा कांग्रेस जोगाएर र जिताएर बसेका साथीहरूको नजरबाट पढ्ने, बुझ्ने र समाधान खोज्ने कर्म सुरुमै गरेको भए पौने दुई सय दिन त्यसरी ठप्प भएर क्षति हुने थिएन । काठमाडौंको केन्द्रीय कार्यालय जमिनसँग नजोडिनुको परिणाम थियो त्यो । दुईबुँदे संशोधनले धेरै हदसम्म सहज बनाएको मधेसलाई सीमांकन हेरफेर गरेर सम्पूर्ण विश्वासमा गाँस्न मधेसबाट महाधिवेशनमा आएका साथीहरूको अभिमत बमोजिम अघि बढ्नुपर्छ, हाम्रो पार्टी ।
जनजाति–थारु–दलित अनि सीमान्तकृत वर्गको हितबारे संविधानमा रहेका प्रावधानको जगमा टेकेर कांग्रेस जोडिनुपर्छ त्यो जमिनसँग, अनि समुदायले खोजेको थप सम्बोधनका लागि ‘सन्तुलन नभत्कने हदसम्म’ लचक भएर अघि बढ्नुपर्छ । कांग्रेसको जन्म क्रान्तिकारी ढंगले भयो, तर नेपाली समाजको विशिष्ट सन्तुलनका सन्दर्भमा कांग्रेस सदैव मध्यमार्गी शक्ति रहिआएको छ । अतस् आजका सबै जीवन्त मुद्दाका सन्दर्भमा कांग्रेस महाधिवेशनले प्रस्ट, सन्तुलित र व्यावहारिक दृष्टिकोण तय गरेर सोही बमोजिम हस्तक्षेप र नेतृत्वका लागि आफूलाई प्रखर तुल्याउनुपर्छ ।

१५. ‘दुई नेपाल’ गाँसौं १५ वर्षे सपनामा
नेपालभित्र छ एउटा नेपाल, अर्को ४० लाखको संख्यामा नेपाल बाहिर छ, अर्को नेपाल । नेपाली जनसम्पर्क समितिहरू त्यो बाहिरको नेपाललाई नेतृत्व गर्न अग्रभागमा छन् । जनसम्पर्क समितिमार्फत प्रकट हुने बाहिरको पीडा र भावनालाई सम्बोधन गरेर बाहिरको नेपाललाई भित्रको नेपालसँग गाँस्ने अगुवाइ नेपाली कांग्रेसले गर्नुपर्छ । सीप र पुँजी दुवै छन्, बाहिरको नेपालसँग । त्यसको उपयोग नेपालको नवनिर्माणका लागि बलियो आधार हुन्छ । कतारबाट बाकसमा भरिएर आएको युवकको लासलाई र्हेयांै भने हाम्रो राजनीतिक कर्तव्य के हो भनेर थप प्रस्ट हुनेछ । कस्तै सर्वोत्तम राजनीतिक दर्शन पनि सिधै रोटी या रोजगारी बन्दैन, त्यसका लागि राजनीतिक नेतृत्वसँग एक अलग भिजन जरुरी हुन्छ । बीपी कोइरालाले आफू प्रधानमन्त्री छँदा १५ वर्ष्भित्रमा हरेक नेपालीलाई आफूजस्तै बनाउने संकल्प र भिजन अघि सार्नुभएको थियो । देशलाई नयाँ संविधान दिन सफल हाम्रो पार्टीले नेपाल देशको समुन्नतिका लागि एक अर्को १५ वर्षको संकल्प र सपना अब अघि सार्न जरुरी छ । किनकि दुनियाँ जान्दछ, बीपीसँग सपना थियो, तर समय भएन, हामीसँग समय प्रशस्तै भयो, तर हामीसँग सायद सपना भएन । जीवन्त कांग्रेस र जीवन्त देशका लागि सु–स्पष्ट सपना अनिवार्य छ । ‘दुईवटा नेपाल’लाई त्यही एउटा सपनाभित्र गाँसेर अघि लग्नुपर्छ, कांग्रेसले ।

बीपी कोइराला सम्झिएर
बीपीले कतै भन्नुभएको छ– कांग्रेसको राजनीतिको अन्तिम ध्येय आम नेपालीको खुसी जीवन हो । राजनीतिक परिवर्तनले खुसीको पहिलो चरण पुरा गरेको छ । बाटो, बिजुली, अस्पताल र थप भौतिक उपलब्धिले खुसी प्राप्तिको दोस्रो चरण अघि बढाइरहेको छ । बाँकी दुई चरणपछि मात्रै हामी समुन्नत र बीपीले भनेको समग्र खुसी जीवनमा पुग्न सक्छौं । आम नेपालीको खुुसी जीवनका लागि थप दुई चरणको यात्रामा सबल र सफल बन्न कांग्रेसलाई परिवर्तित, आधुनिक र तन्नेरी कांग्रेस नबनाई हामीलाई सुखै छैन ।

LEAVE A REPLY