गुरुप्रसाद मैनाली ः एक कथाकार

0
2258

स्रष्टा परिचय

Advertisements

गुरुप्रसाद मैनाली नेपाली आधुनिक कथाका प्रणेताको नाउँ हो । उहाँले ‘नासो’ लेखेपछि नेपाली साहित्यमा कथाको मोडले नयाँ क्षीतिज उघारेको छ । थोरै लेखेर पनि धेरै नाउँ कमाउने स्रष्टामा उहाँको नाउँ स्थापित भयो । किनभने उहाँका कथाले नेपाली डाँडाकाँडा ढाके अनि यहाँबाट मेचीपारी भारतका विभिन्न नेपाली बस्तीहरूमा पुगे र त्यसपछि त्यहाँबाट पनि भूगोलको सेरोफेरोमा जहाँजहाँ नेपाली पुगेका छन् त्यहाँ त्यहाँ ११ कथाको विटो ‘नासो’ पुग्यो । त्यसैले ईश्वर बरालले लेख्नुभएको छ, “सामाजिक जीवनसँग सम्बन्धित कथा परिवर्तन गर्नेमध्ये मैनाली प्रथम भए र उनकै परम्पराले दिग्विजय ग¥यो ।”

गुरुप्रसाद मैनालीका पुर्खा जोशी हुनुहुन्थ्यो । उहाँहरु भारतको कुमाउँक्षेत्र नैनीतालस्थित मैनोरीबाट तेह्रौं शताब्दीतिर नेपाल आउनुभयो । उहाँहरुको विद्वताको कदरस्वरुप मल्ल राजाबाट काभ्रेको कानपुरमा विर्ता मिल्यो । मैनोरीबाट आएका हुँदा सबैले उहाँहरुलाई मैनाली भन्न थालियो । अन्ततः एउटा अर्को नयाँ थरका रुपमा मैनालीको आविष्कार हुन गयो ।

गुरुप्रसाद मैनालीको जन्म सम्वत् १९५७ सालमा धनकुटामा भएको थियो । त्यस बेला उहाँका बुबा काशीनाथ मैनाली धनकुटाको बजार अड्डामा खरदार हुनुहुन्थ्यो । त्यसै बेला आमा काशीरूपाले गुरुप्रसादलाई अवतरण गराउनुभयो ।

गुरुप्रसादको घरको नाउँ नानी बाबु थियो । उहाँका बुबा जागिरका सिलसिलामा तराई, पहाड जहाँ जहाँ जानुहुन्थ्यो गुरुप्रसाद पनि त्यहीँ ंत्यहीँ । त्यसैले उहाँले कहिले नेपाली त कहिले संस्कृत पढ्नुभयो, कहिले मैथिली, भोजपुरी र हिन्दी समेत पढ्नुभयो । आफ्ना बुबाको सरुवा विभिन्न जिल्लामा भइरहने कारण उहाँले स्कुले शिक्षा निश्चित रूपमा प्राप्त गर्न सक्नुभएन । तर पनि १७ वर्षको उमेरमा निजामती मध्यमा चाहिँ पास गर्नुभयो ।

मैनालीले नौ वर्षको उमेरमा बिहे गर्नुभयो । तर धेरै समयसम्म पत्नी जगतकुमारी मैनालीसँग उहाँको दाम्पत्यजीवन कायम रहन सकेन । त्यसै ताका उहाँको आमाको पनि निधन भयो । बुबाले छोरालाई फेरि बिहे गर्न सम्झाउनुभयो । तर बुबाले नै विहे गर्नु जरुरी छ भनेर मैनालीले अड्डि लिनुभयो । यसरी बाबुछोराको बिहेको छलफलमा नै आठ वर्र्ष िबत्यो । अन्ततः गुरुप्रसादको हार्दिक आग्रहमा ा बुबा काशीनाथले आफ्नो छोरोभन्दा सात वर्षकान्छी एघार वर्षीय सत्यभामा उप्रेतीसँग दोस्रो विहे गर्नुभयो । वास्तवमा त्यसबेला उमेर ढल्केका नारी पाउन गाह्रो पथ्र्यो । अनि काशीनाथकी कान्छी पत्नीवाट पनि चार छोरा र एक छोरी जन्मे ।

बुबाले दोस्रो बिहे गरेको अर्को वर्ष गुरुप्रसादले पनि बिहे गर्नुभयो । उहाँ सत्र वर्षको हुँदा दश वर्षीया यशोदादेवी पाठकसँग बिहे भयो । अनि यी दम्पत्तिबाट चार छोरा र छवटी छोरी जन्मे ।

युवावस्थामा पुगेपछि मैनाली माहिला गुरुज्यू पं.हेमराज पाण्डेको निजी सहायक हुनुभयो । पाण्डेका घरमा देशविदेशका साहित्यिक कृतिहरु आइरहन्थे । त्यसैले त्यस बेला उहाँ साहित्यको अध्ययनमा पनि केन्द्रित हुनुभयो ।

पं.हेमराज पाण्डेकै सिफारिसमा मैनालीले राजा त्रिभुवनकी आमा लक्ष्मीदीव्येश्वरी शाहलाई भारतका प्रसिद्ध हिन्दू तीर्थस्थल यात्रा गराउनु भएको थियो । यात्राबाट फर्केपछि उहाँले हाकिमको परीक्षा दिनुभयो र त्यसमा प्रथम हुनुभयो । अनि उहाँले सुरुमा वागलुङको डिठ्ठाको कार्यभार सम्हाल्नुभयो । उहाँ पछि बढुवा हुँदै लप्टन, सुब्बा र न्यायाधीशसम्म पनि हुनुभयो ।

मैनालीको विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला र तारिणीप्रसाद कोइरालासँग खुबै मित्रता थियो । यसकारण उहाँ हाकिम भएका बेला कोइराला मित्रहरुका पिताजी कृष्णप्रसाद कोइरालालाई देशद्रोहीको आरोपमा राणाका सेनाले पक्रने बेलामा मैनालीले भगाउनु भएको थियो । त्यही कारणले मैनालीले आफ्नो हाकिम पद पनि गुमाउनुभयो तर पछि अनेक गरेर जागीर थामियो ।

पं.हेमराज पाण्डेका निजी सचिव भएपछि मैनालीले साहित्य लेख्न थाल्नुभयो । उहाँले साहित्यमा पहिलोचोटि नियात्रा लेख्नुभएको थियो । त्यसपछि कविता र कथामा पनि उहाँको कलम चल्यो । उहाँको लेखनी समालोचनामा पनि केन्द्रित हुन थाल्यो र उहाँले दुईवटा एकाङ्की पनि लेख्नुभयो ।

मैनालीले नेपाली साहित्यको बहुचर्चित कथा ‘नासो’ वि.सं. १९८४ सालमा नै लेख्नुभएको थियो । अनि यो कथा विं.स. १९९२ सालको ‘शारदा’मा छापियो । त्यसपछि नै मैनाली चर्चित हुन थाल्नुभयो । लेखनाथ पौडयाल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटाले समेत उहाँको कथा पढेर सम्बन्ध बढाउनु भएको थियो । उहाँको ग्रामीण भाकाको शैली, प्रस्तुति र कथावस्तुका कारण बाबुराम आचार्यदेखि सूर्य्विक्रम ज्ञवालीसम्मलाई मैनालीले आत्मीय मित्र बनाइसक्नु भएको थियो । त्यही नासोमा अन्य लोकप्रिय कथाहरू समेत समेटेर ताना शर्माले २०२० सालमा ‘नासो’ नामक (कथासङ्ग्रह) को सम्पादन गरी प्रकाशन गर्नुभएको थियो ।

मैनालीले आफूले भोगेका, देखेका र सुनेका कुराहरुलाई आफ्ना कथाको विषयवस्तु बनाउनुभयो । उहाँले प्रशासनिक र न्यायसेवाको अनुभवलाई समेत आफ्ना कथाहरूको चौतारो बनाउनुभयो । त्यसैले त्यस्ता लेखनीले चाँडै प्रसिद्धिको धुरी चढेको थियो ।

मैनाली नेपाली कथाका समयसापेक्ष नायक बन्नुभयो । यसै परिवेशमा सुशीला भट्टले उहाँलाई आधुनिक नेपाली कथाको यथार्थवादी धाराका अग्रज कथाकारका रुपमा उल्लेख गर्नुभयो । त्यसैगरी उहाँको व्यक्तित्व र कृितत्वको चारैतिरबाट प्रशंसाका फूलहरूले माला गाँसिएका छन् ।

मैनाली आफू पनि लेख्नुहुन्थ्यो र अरूलाई पनि लेख्ने प्रेरणा दिनुहुन्थ्यो । खास गरेर २००७ सालपछिको नेपाली समाजमा साहित्य, कला, संस्कृति र समाजसेवामा उहाँको उल्लेखनीय भूमिका थियो।

मैनाली हक्की, निर्भीक र साहसी हुनुहुन्थ्यो । उहाँ न्यायका लागि मरिमेट्नु हुन्थ्यो । उहाँका लागि घुस भनेको घृणित कुरा थियो । त्यसैले नूनको सोझो चिताएर मात्रै उहाँले जागीर खानुभयो । वास्तवमा उहाँ त्यही नैतिकताको सेरोफेरो, त्यही मानवतावादको घेरो र त्यही स्वाभिमानको धारामा मात्रै बाँच्नुभयो ।

मैनालीले हिन्दी भाषामा पनि केही गीत कविता, निबन्ध, प्रबन्ध र कथाहरू लेख्नुभएको थियो । तर उहाँले नेपाली भाषाका लेखरचनाहरू मात्र प्रकाशन गर्नुभयो ।मैनाली मधुमेह र रक्तचाप रोगको चपेटामा फस्दै जानुभयो र त्यही कारणले उहाँ २०२८ साल जेठ २५ गते काठमाडौँमा स्वर्गीय हुनुभयो ।

LEAVE A REPLY